~ शोभा सिलवाल पाण्डे
लाली गुँरास ,गुलाब फुले नयाँ साल बोलाउनलाई
काफल र ऐँसेलु पाके नयाँ सालको स्वागतलाई।
२०७८ साल आइदेऊ तिमी नयाँ जोश उमङ्ग बोकी
वसन्तको हरियालीले देऊ साथ,विघ्न बाधा रोकी ।
ए प्रकृति ,तिमीले पनि देऊ न साथ नयाँ वर्षलाई
दुई दिने यो मानव चोलाको नरोक न हर्षलाई।
२०७७ सालमा भाइरसले विश्व आक्रान्त पारी गयो
मुखौटो विनाका मानिस सडकमा देख्नै रहर भयो ।
२०७८ साल २०७७ जस्तो रौनकहीन नबनोस्
हाल देखिएको सन्त्रास द्रुततर गतिले हटोस् ।
वर्षभरि सबैका अथाह चाहना साकार होऊन्
मनका मैला मेटियून् ,मनमा कलुषित भावना नरहून्।
मनहरू मेलम्चीको पानी जस्तै स्निग्ध यो वर्ष बनून्
प्रत्येक मानिसका वाणीमा अधिष्ठात्रीले वास गरून् ।
करूणा,दया,क्षमाका भावनाले हृदयमा प्रश्रय पाओस्
अभिमान र स्वार्थीपन मनुका मन र मष्तिष्कबाट हटोस्।
विगतको वर्षभन्दा यो वर्ष बनोस् सबैको हर्षोल्लाषयुक्त
सबै होऊन् कोरोना कहर र राजनीतिको दुर्गन्धबाट मुक्त।
सकारात्मकता ,धैर्यता,छाओस् दुर्गुण हटोस् मनमा
यही मेरो सबैमा नयाँ वर्षको अतुल्य शुभकामना ! शुभकामना !!!