अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १८ औं संस्करणमा रनरअप बनेका आर्थर गन अर्थात् दिवेस पोखरेल नयाँ संस्करणको ‘अमेरिकन आइडल’मा पुनः प्रतिष्पर्धा गर्ने भएका छन् ।
‘म अचम्मित र उत्साहित छु । अघिल्लो संस्करण मेरा लागि नम्र अनुभव थियो । नयाँ संस्करणमा कमव्याक आर्टिष्टका रुपमा गाउन पाउदा खुशी लागेको छ’, दिवेसले भनेका छन् ।
बिलबोर्डमा प्रकाशित समाचारअनुसार कोभिड १९ को विश्वव्यापी महामारीका कारण अघिल्लो संस्करणका प्रतिष्पर्धीहरुले आ–आफ्नो घरबाटै भर्चुअल प्रविधिमार्फत प्रतिष्पर्धा गरेका थिए ।
आयोजकले कोभिडका कारण स्टेज प्रस्तुति दिन नपाएका र योबीचमा कुनै रेकर्ड लेबलसँग सम्झौता नगरेका प्रतिष्पर्धीलाई गायनको मौका दिइने जनाएको छ ।
आगामी सोमबार अघिल्लो संस्करणका १० प्रतियोगीले लसएञ्जल्समा रहेको सीबीएस टेलिभिजन सिटीमा आफ्नो प्रस्तुति दिनेछन् । प्रतिस्पर्धाबाट एक जना नयाँ संस्करणको उत्कृष्ट १० भित्र पर्नेछन् ।
यो सिजनमा आर्थरसँगै अघिल्लो संस्करणका फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस छानिएका छन् ।
अमेरिका जानु अघि दिवेसले नेपालमा ‘ग्रहण’ र ‘खोज’ गरी दुई एल्बम सार्वजनिक गरेका छन् । उनले यो बाहेक ‘म’, ‘खोज’ र ‘कर्णाली’ गरी तीन सिंगल पनि बजारमा ल्याइस्केका छन् ।
‘अमेरिकन आइडल’को नयाँ विजेता मे २३ मा छनोट हुनेछ ।