थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमण अत्यधिक बढिरहेकाले अति आवश्यक बाहेकका अवस्थामा बाहिर नजान आग्रह गरेको छ ।
मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले यही दरमा सङ्क्रमितहरूको सङ्ख्या वृद्धि भइरहे उपचारमा संरचनाहरूले धान्न नसक्ने अवस्था आउन सक्ने भएकाले जात्रा, सभा सम्मेलन नगर्न र अनावश्यक रुपमा बाहिर ननिस्कन सबैमा आग्रह गर्नुभयो ।
प्रा. डा गौतमले हाल संक्रमण दर हरेक ४ दिनमा दोब्बरले वृद्धि भइरहेकोले तोकिएका जनस्वास्थ्यका मापदण्ड कढाइका साथ पालन गर्न समेत अनुरोध गर्नुभयो ।आज देशभर २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर पिसीआर परीक्षणबाट २ हजार २ सय २० र एन्टीजेन परीक्षणबाट १ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ गरी काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५१ जनामा संक्रमण पुष्टि भएको छ ।नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ८९ हजार ७ सय ८७ पुगेको छ ।१० हजार ५ सय ८२ सक्रिय सङ्क्रमितमध्ये १ सय ८० जनाको आइसियु र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप १० जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय १२ पुगेको छ ।कोरोना सङ्क्रमणबाट आज २ सय ८७ जना निको भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७६ हजार ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।