नेकपा एमाले १० औँ महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको निर्देशन विपरीत कर्णाली प्रदेश सभामा मतदान गर्ने सांसदहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले यही वैशाख ३ गते भएको मतदानमा फ्लोर क्रस गर्ने सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मसिं शाही र नन्दसिंह बुढालाई निष्कासन गर्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गर्ने तथा केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्ने लगायतका निर्णय गरेको नेकपा एमालेका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले पार्टी हित विपरीत गतिविधि गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएका २७ जना सङ्घीय सांसद तथा एक जना प्रदेश सांसदबाट प्राप्त स्पष्टीकरणको अध्ययन गरी थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिने पनि निर्णय गरेको छ ।
यस्तै बैठकले पार्टीको समानान्तर गतिविधि लागेका नेताहरूलाई पार्टीको मूल प्रवाहमा फर्कन आग्रह गर्ने तथा आसन्न उपनिर्वाचनको तयारीमा सम्पूर्ण पार्टी कमिटीहरूलाई निर्देशन दिने पनि निर्णय गरेको छ ।
बैठकले अघिल्लो बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदन तथा महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत साङ्गठनिक प्रस्तावहरूमाथि प्राप्त सुझावहरू ग्रहण गरी अन्तिम रूप दिएको छ ।
बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनचेतना जगाउने, क्वारेनटाइन र आइसोलेसन सेन्टरहरूको निर्माण तथा व्यवस्थापन गर्ने लगायतका काममा स्वयम् सेवकका रूपमा परिचालित हुन सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्ने लगायत ११ बुँदे समसामयिक प्रस्ताव पारित गरेको प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । –रासस