फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग आजबाट

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज प्रतियोगिताको पहिलो खेल काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच हुनेछ ।

काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छ ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौंको कप्तानी गोलकिपर विकेश कुथुले गर्ने छन् ।

ललितपुरको कप्तानी अन्जन विष्टले गर्ने छन् । टिमको प्रशिक्षकमा प्रदिप हुमागाई रहेका छन् ।

तर, कोरोना महामारीको कारण प्रतियोगिता बन्द रंगशालामा हुनेछ ।

खेल हेर्न दर्शकलाई रंगशाला प्रवेशको अनुमति छैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ सम्म सञ्चालन हुनेछ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख पाउने छन् । यस्तै उपविजेताले १५ लाख पाउने छन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन् ।

त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।


ताजा खबर