तिहारको तेस्रो दिन । आज गाई, गोरु र गोबर्धन पूजागरी मनाइँदैछ । यस वर्ष आजै नेवार समुदायले म्ह पूजा गरेर यो पर्व मनाउँदै छन् । म्हपूजा र नेपाल संवत एकैदिन पर्ने गरे पनि यसवर्ष भने तिथि घटबढका कारण नेपालसंवत म्हपूजाको भोलीपल्ट मंगलवार परेको छ ।
उपत्यकाका ललितपुर, भक्तपुर, किर्तिपुर लगायत देशभरका नेवार समुदायले आजै म्हपूजा गर्दैछन् भने काठमाडौका नेवार समुदायले १२ गते नेपाल संवत मनाएरमात्र म्ह पूजा गर्ने तयारी गरेको छ । तिहारको चौथो दिन गोवर्द्धनपूजा र म्ह पूजा हुने गरे पनि यो साल भने तिथि घटबढका कारण तिहारको तेस्रो दिनमा गोरु तिहार, गाई तिहार र नेवार समुदायको म्ह पूजा एकै दिन परेको हो । नेपाल संवत सुरु हुनुभन्दा अघि म्हपूजाको परम्परा रहे पनि नेपालसंवत सुरुभएपछि नेवार समुदायले नेपाल संवत मनाएर म्हपूजा गर्दै आएका थिए ।
आजैको दिन गोवर्धन पूजा पनि हो । गोवर्धन पूजा तिहार चाड अन्तर्गत प्रमुख पर्व हो । पौराणिक कथा अनुसार गोकुलवासीहरू इन्द्रको कन्जुस्याँइ बानीले हैरानी भएपछी इन्द्रलाई पुज्नु भन्दा खनिज, घाँस, पानी र दाउरा दिने गोबर्धन पर्वतको पूजा गर्न थाले । यो देखेर रिसाएका इन्द्रले गोकुलमा भिषण असिना पानीको बर्षा गराईदिए । सोहि असिना र वर्षाबाट गोकुलवासीलाई जोगाउन कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीको रक्षा गरेको सम्झनामा यो पर्व मनाउन थालिएको मानिन्छ । नेवार समुदायका हरेक घर परिवारका सदस्यहरु भेला भएर म्हः पूजा गर्ने चलन रहेको छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । म्हः अर्थात आफ्नै शरिर र आत्माको पूजा गर्ने अनौठो र रोचक पर्वका रुपमा यो पर्व रहिआएको छ । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफैंलाई आराधना गरी शरीरभित्रको चेतनपुञ्जलाई पूजा गरिन्छ । समग्र देवी देवता, ऊर्जा शक्ति, विश्व-ब्रम्हाण्ड मानव शरीरभित्र नै रहेको विश्वास गरी यस्तो अभुतपूर्व शरिरमा नै इश्वरको बासस्थल भएको विश्वास गरी आफ्नै शरिरको पूजा गरिन्छ । अर्को अर्थमा आफ्नो उद्धार आफैले मात्र गर्न सकिने म्ह: पूजाको दार्शनिक पक्ष रहि आएको छ । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले तान्त्रिक विधि अनुसार म्हः पूजा गरिन्छ । म्ह: पूजा गर्दा अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ ।
गोरुको पूजा गरिने भएको हुँदा आजको दिनलाई गोरु तिहार पनि भनिन्छ । खेतबारी जोत्ने र गाडा तान्ने गोरुको सम्मान स्वरुप गोरु तिहार मनाईएको हो । बर्षभरी अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनपोषण गर्ने गोरूको विशेष पूजा गरिएको कथन छ । साथै आजै गाईलाई पूजा गरेर गाई तिहार मनाइदै छ । गोबर्धन पूजा सकिएपछि आजदेखि नै देउसी खेल्ने चलन पनि छ । देउसीमा नाचगान गरी घरघरमा आशिष बाँडिन्छ । देउसी खेल्ने प्रचलन बली राजाको पालादेखि शुरु भएको बिश्वास छ । तिहार पर्व देउसीकै कारण पनि लोकप्रिय छ । देउसेहरुले परम्परागत भेषभूषा लगाएर बली राजाका प्रतिनिधिका रुपमा विभिन्न देवकथा, उपकथा, शुभवचनहरु भट्याउँदै नाचगान गर्दछन् र श्रद्धापूर्वक प्राप्त गरेको दान दक्षिणा ग्रहण गर्दछन् । लक्ष्मीपूजाका दिनदेखि भैलो खेलिन्छ भने गोरु पूजाका दिनदेखि देउसी खेल्ने चलन रहेको छ ।