त्रि-देशीय टी-२० क्रिकेट सिरिजको उपाधि नेपाललाई

नेदरल्याण्डसलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि हात पारेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नेपालले ११ वर्षपछि घरेलु मैदानमा त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि हात पारेको  हो ।टी–ट्वान्टी अन्तर्राष्ट्रिय स्तरमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो ।

टस हारेर ब्याटिङको गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो ।

नेपालले आज विपक्षी टोलीलाई टी–२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो । यसअघि टी–२० क्रिकेटमा नेपालले १३ औँ सागमा भुटानलाई २३६ रनको लक्ष्य दिएको थियो ।नेपालका करण केसीले ३ तथा कमलसिंह ऐरी र सन्दीप लामिछानेले २–२ विकेट लिए ।

नेदरल्यान्ड्सका सेबास्टियन ब्राट २६ रनमा अविजित रहे । म्याक्स ओडाड २० र कप्तान पिटर सिलार १३ रनमा आउट भए ।टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ ।

नेपालका कुशल भुर्तेल र कुशल मल्लको अर्ध शतकको मद्दतमा नेपालले उच्च रन बनाएको हो । भुर्तेल ५३ बलमा ७७ रन बनाएर आउट भए । भुर्तेलले डेब्यु शृङ्खलामा नै चार अर्ध शतक बनाएका थिए ।

आजको खेलमा कुशल मल्ल २४ बलमा ५० रन बनाउँदै नट आउट रहे । मल्लले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्ध शतक बनाएका हुन् ।दीपेन्द्रसिंह ऐरीले १८ बलमा ४८ रन बनाएर नट आउट रहे ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आशिफ शेखले ८ बलमा १६ रन बनाएर आउट भए । नेपालले यसअघि सन् २०१९ को साग गेममा भुटानसँगको खेलमा दुई सय ३६ रन बनाएको थियो ।


ताजा खबर