कोरोना सङ्क्रमणका कारण एकै दिन २८ जनाको मृत्यु

 कोरोना सङ्क्रमणका कारण आइतवार एकै दिन २८ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालकै दरमा संक्रमण वृद्धि भइरहेको हरेक दिन १ सय बढीको मृत्यु हुनसक्ने प्रक्षेपण गरिएको जनाएको छ ।

मन्त्रालयको आइतवारको प्रेस ब्रिफिङमा डा. बिराज कर्माचार्यले नेपालमा कोरोना सङ्क्रमणको दर हालकै अवस्थामा वृद्धि भइरहे ३ महिनापछि प्रतिदिन १ सय ४९ जना सङ्क्रमितको मृत्यु हुनसक्ने बताउनुभयो ।

डा. कर्माचार्यले संक्रमण दर न्यूनीकरण नभए भवायह अवस्था आउन सक्ने हुँदा नागरिक आफै स्वघोषित लकडाउनमा बस्न, सामाजिक दुरी कायम गर्न, शङ्का लागेमा समयमै जाँच गर्न सुझाव दिनुभयो ।

यस्तै, आइतवार देशभर ३ हजार १ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार २ सय ९२ पिसीआर परिक्षण गर्दा ३ हजार ३२ र ७ सय ८६ एन्टीजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतवार काठमाडौँमा १ हजार १ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ गरी काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हाल कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख १ सय १९ पुगेको छ ।कोरोना सङ्क्रमणबाट आज ४ सय ५० जना निको भएका छन् ।

हालसम्म कोरोना सङ्क्रमणबाट निको हुने दर ९२ दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले विदेशी नागरिकको कोरोना सङ्क्रमणको परिक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको छ ।मन्त्रालयले आइतवार पीसीआर परीक्षण सम्बन्धमा सूचना जारी गदै नेपाल ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्र गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकको संक्रमण परीक्षण नगर्न निर्देशन गरेको हो ।

सूचना विपरीत कुनै पनि प्रयोगशाला वा व्यक्तिले परीक्षण गर्ने गराउने गरेको पाइए नियम अनुसार कारबाही गरिने समेत जारी सूचनामा उल्लेख छ ।


ताजा खबर