राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने
काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप गरिएको छ ।
मङ्गलवार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई १५ दिन थप गर्दै जेष्ठ १३ गतेसम्म पुर्याउने निर्णय गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सफल नेपाललाई जानकारी दिनुभयो ।
साथै निषेधाज्ञालाई थप कडाइ गरिने समेत बताउनुभयो ।त्यस्तै बैठकले पार्टी प्यालेसमा विवाह, व्रतबन्ध र भोजजस्ता कार्यक्रम गर्दा भिडभाड भएको भन्दै त्यसलाई पूर्ण रुपमा रोक्ने निर्णय समेत गरेको छ ।
यस्ता कार्यक्रम १० जना भन्दा कमको उपस्थितिमा घरमा गर्न सकिने बस्नेतले बताउनुभयो ।बैठकले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको बस्नेतले जानकारी दिनुभयो ।त्यस्तै बैठकले बिहान १० बजेसम्म किराना पसल, तरकारी पसल, फलफूल पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेको छ ।
यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न दिने गरिएको थियो । साथै कालीमाटी र बल्खुका तरकारी तथा फलफूल बजारमा बढी भिड हुने गरेको पाइएकोले त्यहाँबाट खुद्रा बिक्री बन्द गरी होलसेल मात्र सञ्चालन गर्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।
बैठकले सरकारी कार्यालय तथा बैङ्कमा भिड बढेकाले न्यूनतम कर्मचारी राखी सञ्चालन गर्न आग्रह गरेको छ । अत्यावश्यक भन्दा अन्य सबै सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बस्नेतले बताउनुभयो ।कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि उपत्यकामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको थियो ।
त्यसपछि निषेधाज्ञा एक हप्ता थप गरेर वैशाख २९ गतेसम्म पुर्याइएको थियो । पुन: आजको बैठकले १५ दिन थप गर्दै जेष्ठ १३ गते सम्म पुर्याउने निर्णय गरेको हो । –रासस