~ शोभा सिलवाल पाण्डे
कस्तो खेल खेलिस् दैव ?आयो समय कस्तो ?
मानवको जीवन किन ? पार्यौ यति सस्तो ।
एम्बुलेन्सको आवाजले ,मनमुटु पोली सक्यो
कोरोनाले मेरो देशमा ,तहसनहस पारी सक्यो ।
बेड छेैन अस्पतालमा, भेन्टिलेटर कता कता ?
आफन्तको चित्कारले ,मरी सक्यौँ हामी यता ।
यस्तो बेलाँ सरकारलाई नि, छैन कत्ति चासो
ठुलालाई त होला उपचार ,गरिब जति परे पासो।
सत्ता र कुर्चीको खेलमा ,लागेका छन् सबै नेता
उपचार न अक्सिजन ,पालो कुर्दै मर्छन् जन्ता ।
जनतालाई बेड छैन,विदेशी र हाइ प्रोफाइलले पाउने
सैयौँ बेड होल्डमा राखी, मनग्य रकम कमाउने ।
ठुलालाई चैन हजुर,सानालाई ऐन कानुन
मेरो देशको नियति यस्तै छ ,नेतैले जानून् ।
नेता गण ,तिमीहरूको नैतिकता आज कता गयो ?
हजारौँ जनता मरी सके, तिमीहरूलाई सत्ता पिर भयो ।
अगुवामा त्याग, मानवता ,सत्चरित्रता नै रहेन यहाँ हे निर्लज्ज हो,
जनता नै नरहे को माथि राज गर्छौ यहाँ ।
त्राहीमाम्मा बाँच्न विवश जनतालाई, आशाका किरण जगाई देऊ
हे पशुपतिनाथ बिन्ती छ , नेपालीका प्राणको रक्षा गरी देऊ ।