~शोभा पण्डे सिलवाल
कोरोनाको कहरले छटपटाई, जनताले अक्सिजन र औषधी माग्दा
मन्त्रीले लास जलाउनेको भत्ता बढाउने , दउराको अभाव नहोस् भन्दा ।
नेपालमा काम कुरो एकातिर ,कुम्लो बोकी ठिमीतिर भए जस्तो लाग्यो
प्राथमिकतामा जनता परेनन् कि जस्तो यहाँको सरकार किन चुक्यो ?
एक सिलिन्डर अक्सिजन पैसा तिरेर किन्छु भन्दा दिन नसक्ने बेकम्माले
एक हजार लास उठाउनेको भत्ता बढाउने कुरो गर्छ निर्दयी निकम्माले ।
वाह ! सरकार एक मुठी श्वास नदिने तिम्रो नियत कति रहेछ महान् ?
कोरोना कहरको पीडा भोग्न नियतिले पार्ला मै हूँ भन्ने कत्ति नठान् ।
असामान्य स्थिति छ घरमा काम गर्ने सबै सोत्तर, हाम्रा आफ्नै मान्छे
बाबा ,आमा,दाजु ,भाइ ,हाम्रा भेना , बहिनी कतिको लास गन्ने?
आम नेपालीलाई घरघरमा खप्न आज परेको छ असह्य चोट
अबदेखि हे सत्ता लम्पट ! हाम्रो घर र टोलमा नआऊ माग्न भोट ।
घरघरमा सङ्क्रमितको सङ्ख्या बढ्दा मृतक सङ्ख्या बढ्या बेला
सरकार भने राजनीतिको फोहोरी खेलमा चुर्लुम्म डुबेको यतिबेला ।
जनता २१सौँ शदीमा पनि बसेका छन् भगवान् को भरोसामा
विश्व स्वास्थ्य सङ्गठनले बरू रााख्यो नेपाललाई रेड जोनमा ।
विश्वलाई नेपालको चिन्ता हुँदा नेपाल सरकारलाई किन भएन ?
ढुङ्गाका मुटु भएकाहरूलाई सत्ता बाहेक जनताको चासो भएन ।
सरकारी अस्पतालमा गए बेड र अक्सिजन नभएर ज्यानै रहँदैन
निजी अस्पतालमा उपचार गर्न गए गरिबको घरै रहँदैन ।
विषम परिस्थितिमा सरकार नागरिकको स्वास्थ्यमा खेलबाड नगर
जनतामा आशाको किरण जगा निदाएको नाटक नगर् । नाटक नगर् ।