विश्वकप फुटबल २०२२ को छनोट खेल्ने नेपालको राष्ट्रिय फुटबल टोली इराक प्रस्थान गरेको अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जनाएको छ ।
नेपालले इराकको राष्ट्रिय फुटबल टोलीसँग विश्वकप छनोटको तयारीस्वरुप एक मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल शनिबार इराकको बसरास्थित फुटबल रङ्शालामा खेलाइनेछ ।
कतार एयरवेजको विशेष उडानबाट राष्ट्रिय फुटबल टोली र खेल अधिकारीसहितको ३५ सदस्यीय टोली मङ्गलबार राति ११ बजे इराक प्रस्थान गरेको हो । टोलीमा २३ जना खेलाडी र १२ जना खेल अधिकारी छन् । इराकमा मैत्रीपूर्ण सम्पन्न भएपछि राष्ट्रिय टोली कुवेतका लागि प्रस्थान गर्नेछ ।
इराकविरुद्धको खेलपछि नेपालले विश्वकप छनोट दोस्रो चरण अन्तर्गतको बाँकीको तीन खेल कुवेतमा खेल्नेछ । कुवेतमा विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्तको दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेइसँग जुन ३ मा, जोर्डनसँग जुन ७ मा र अष्ट्रेलियाविरुद्ध जुन ११ मा खेल्नेछ । –रासस