भारतमा कोभिड सङ्क्रमण दर घट्ने क्रम जारी

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ ।

भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय सङ्क्रमित अवस्थामा छन् ।विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट सङ्क्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा गत मे १० मा सक्रिय सङ्क्रमितको सङ्ख्या उच्च विन्दुमा पुगेको थियो ।तर दैनिक मृत्यु दरमा सोचे जति कमी आएको छैन । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको उल्लेख छ ।

यो सहित भारतमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ३ लाख १५ हजार २३५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २ लाख  ११ हजार २९८ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ७३ लाख ६९ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् ।

साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार ३३ करोड ६९ लाख ६९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ ।स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड २६ लाख भन्दा बढी डोज खोप लगाइएको छ । –रासस/एएनआई


ताजा खबर