~आभाष कर्म
आमा ले भनिन म पर सरे रे,
दिदीले भनिन म पर सरे रे,
काकी, फुपू , माइजु, भाउजुले भनिन म पर सरे रे,
टोल-टोलले भन्दै छ, हरेक गल्लीले सुन्दैछ,
म पर सरे रे,
तिमी मात्र मौन छौ आज सम्म
त्यसैले तिमीलाई सुनाउदैछु
तिम्री छोरी तिम्रो नजिकै बसेर नी
पर सरी रे
हो बा’
हर महिना जब रगत बग्छ
अस्तित्वको खोजमा मेरो आँत सुक्छ,
अनि अचानक सम्झिन्छु
त्यों रगतको मुहाँन फुट्नु
धेरै अघि नै म पर सरिसकेको थिए,
म छोरी, मात्र त्यति नै काफी थियो
म पर सर्नको निमित्त,
पर अधिकार बाट, पर आवाज बाट
अभिमान बाट, अहँकार बाट
पर स्वाभिमान बाट, पर सङ्कल्प बाट
पर सम्मान बाट, पर स्वतन्त्रता बाट,
र त्यस बीच अचानक मुहाँन फुट्यो
र बग्यो मेरो थोरै मात्र निमोठेर राखेको
मेरो अहंकार र अस्मिता,
म हारको विजयी बन्दा-बन्दा
ती चार दीन मेरो मस्तिष्कमा
थप तक्मा लगाइन्छ,
मेरो शरीर होइन
खासमा मेरो आत्मा चिमोटिन्छ,
मेरो रातो अस्मितालाई पन्छयाउनेहरु
पुनः त्यों रातो अक्षता लिई मलाई आशीश दिन आउदा
मेरो निधार खुम्चिन्छ,
विडमंबना तिम्रो सँस्कारले सम्म मलाई अपराधी देख्छ
मेरो यथार्थ समेट्ने आधा पाउ कपडालाई
बारूद, गाजा र चरस देख्छ,
त्यसैले तिम्रो सुकिलो समाजले मेरो अस्मितालाई
चार पटक बेरेर बेच्छ,
तिम्रो भगवानले सम्म मलाई अपनाउदैन
मेरो प्रार्थनाको पूजाको थाली
मेरो भान्छाको चोखो रोटी
र मेरो आत्मीयतालाई कसैले सजाउदैन,
म आमाकै लागि अछूत बन्न पुग्छु
तिरस्कारका लक्ष्मणरेखाहरु बारम्बार चुम्न पुग्छु,
म जाने मन्दिरको नाउँ छैन,
पुरुषको रगतले पूजिने तिम्रो देवीको पाउमाँ सम्म मलाई ठाउँ छैन,
त्यसैले बा’ तिमीलाई सुनाउदैछु आज
तिमी मात्र मौन छौ आज सम्म
म धेरै पर सरिसके, तिम्रै माझ,
तैपनि कता-कता एउटा झिनो आश पलाउछ
यो समाजले उनेका फितलो धागोहरु माझ
तिमी अल्झिने छैनौ
र त्यों सिलिएका ओठ खोल्नेछौ र
बोल्नेछौ एकपटक,
“छोरी त टाढा भएर नी नजिक हुनेछस,
तेरो यथार्थ नै मेरो अभिमान हुनेछ
तेरो स्वाभिमान नै मेरो अहँकार,
अछूत र रोगी यो समाज बीच
म पनि कहिले अपराधी बन्न पुगे थाहै भएन
क्षमा गर मलाई, त कहिले पर सर्दैनस।