प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरियो : चेकजाँच रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको श्रोतको भनाई

१३ कात्तिक, काठमाडौं । ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आज साँझ आकस्मिक डायलासिस गरिएको स्रोतले बताएको छ । हिजो साँझ स्वास्थ्य मा गडबडी भएपछि सम्यक ल्याबमा उहाँको रगत परिक्षण गर्दा गम्भीर समस्या देखिएपछि ओली आज बिहानै अस्पताल पुग्नुभएको हो।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीको डायलासिस करिब दुई बजेतिर सकिएको थियो। डायलासिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियूमा राखिएको थियो। साँझ भने उनलाई क्याबिनमा सारिएको छ। प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र उनले सोफामै बसेर कुरा गरेको स्रोतले बतायो।

स्रोतका अनुसार उनको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो। पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको पनि स्रोतले बतायो।

शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ।

आज राती वा भोलि बिहानै फेरि दोस्रोपटक प्रधानमन्त्रीको डायलासिस गरिने सम्भावना रहेको पनि स्रोतले बतायो। दोस्रो डायलासिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउनेछ। त्यसपछि भने प्रधानमन्त्रीलाई भोलि डिस्चार्ज गरिने सम्भावना छ।

स्वस्थ मिर्गौलाले रगतमा रहेका हानिकारक तत्व छान्ने काम गर्छ। बिरामी मिर्गौलाले छान्ने काम गर्न सक्दैन। त्यसैले पानी वा रगत हालेर डायलासिस मार्फत् रगतको विकार सफा गरिन्छ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौलाले काम गर्न छाडेपछि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यो मिर्गौला पनि अहिले कमजोर भएर समस्या हुने गरेको छ।

रगतमा ‘एन्टिबडी’ को मात्रा बढेर समस्या भएपछि उनले गत भदौमा सिंगापुर गएर ‘प्लाज्माफेरेसिस’ गरेका थिए। रगतमा रहेको प्लाज्माले ‘एन्टिबडी’ बोक्ने काम गर्छ। प्लाज्माफेरेसिस मार्फत ‘एन्टिबडी’ भएको प्लाज्मा छानेर निकालिन्छ।

सिंगापुरमा गरिएको प्लाज्माफेरेसिस कति प्रभावकारी हुन्छ यकिन हुन केही समय लाग्ने चिकित्सकहरूले बताएका थिए। अहिले रगतमा फेरि क्रेटिनिन, युरिया र पोटासियम बढ्नुको अर्थ प्लाज्माफेरेसिस धेरै प्रभावकारी नभएको संकेतका रुपमा बुझ्नुपर्ने एक मिर्गौला विशेषज्ञले बताए।

केही गरी अहिलेको मिर्गौलाले काम गर्न नसक्ने भए फेरि मिर्गौला प्रत्यारोपण गर्ने विकल्प प्रधानमन्त्री ओलीसँग बाँकी नै छ। दुई वा दुईभन्दा बढी पटक मिर्गौला प्रत्यारोपण गरेर पनि मानिस स्वस्थ रहन र सक्रिय रूपमा काम गर्न सक्छन्।

ग्राण्डी अस्पतालमा अहिले भइरहेको उपचार अस्पताल र प्रधानमन्त्री कार्यालय दुवैले गोप्य राखेका छन्। उपचारका लागि बिहान प्रधानमन्त्री अस्पताल पुग्दा प्रधानमन्त्री कार्यालयले उनी नियमित स्वास्थ्य परीक्षणका लागि गएको र केही छिनमा फर्किने बताएको थियो।

दिनभरनै प्रधानमन्त्री कार्यालय वा अस्पतालले उनको उपचारबारे कुनै ‘अपडेट’ दिएनन्। साँझ ग्राण्डी अस्पतालका प्रमुख चक्रराज पाण्डे र ग्राण्डीकी नेफ्रोलोजी विभाग प्रमुख तथा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र भोलि अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ।

प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया वा पोटासियम बढेको वा उनको डायलासिस गरिएको कुनै पनि कुरा विज्ञप्तिमा उल्लेख छैन।

ग्राण्डी अस्पतालमा पनि प्रधानमन्त्रीको उपचार अति गोप्य राखिएको अस्पताल स्रोतले बतायो। प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका रिपोर्ट पनि अति गोप्य राखिएको छ। सीमित डाक्टरहरूको टोलीले मात्र यी रिपोर्ट हेर्न पाएको छ।

‘ल्याबमा टेस्ट गर्दा पनि रिपोर्टहरू अति गोप्य राखिएका छन्,’ स्रोतले भन्यो।

यो पनि पढ्नुस्ः के हो प्लाज्माफेरेसिस?

प्लाज्माफेरेसिस भनेको रगतमा रहेको प्लाज्मा छानेर हटाउने प्रकृया हो। रगतमा रहेको पारदर्शी वस्तु हो प्लाज्मा। यसले रेड सेल, ह्वाइट सेल, प्लेटलेट्स र ब्याक्टेरिया, भाइरससँग लड्ने ‘एन्टिबडी’ बोक्ने गर्छ।

प्रधानमन्त्री ओलीको दुवै मिर्गौला बिग्रिएर १२ वर्षअघि मिर्गौला फेरिएको हो। शरीरमा अर्को मानिसको मिर्गौला आएपछि बाह्य वस्तुसँग लड्ने ‘एन्टिबडी’ले सो मिर्गौलालाई पनि कुनै हानिकारक वस्तु शरीरमा आएको ठान्छ। त्यसपछि मिर्गौलालाई मार्न आक्रमण गर्न थाल्छ।

मिर्गौलालाई धेरै हानी नपुगोस् भनेर डाक्टरहरूले औषधिमार्फत् एन्टिबडीलाई कमजोर बनाएर राख्छन्। तर एन्टिबडीलाई पूरै कमजोर पार्न पनि सकिन्न।

किनभने शरीरमा प्रवेश गर्ने अरु भाइरस, ब्याक्टेरिया लगायतका हानिकारक तत्वसँग लड्ने पनि एन्टिबडीले नै हो। प्लाज्माफेरेसिसबाट रगतको प्लाज्मालाई छानेर निकालिन्छ। प्लाज्माले नै एन्टिबडी बोक्ने हुनाले यो एन्टिबडी पनि प्लाज्मासँगै बाहिर जान्छ। प्लाज्माफेरेसिस प्रभावकारी नभए फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ।


ताजा खबर