नियमित स्वास्थ्य परीक्षणको लागि भन्दै ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार दोस्रोपटक डायलाइसिस गरिँदैछ।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको रगतमा हानिकारक तत्व क्रियटाइन बढी देखिएपछि अल्ट्रा–फिल्ट्रेसन गरिएको छ । ‘शरीरको एन्टिबडिज हटाउन प्लाज्मा फेरेसिस र हेमोडायलाइसिस गरेभन्दा यो फरक तरिका हो,’ ति चिकित्सकले भने ।
बुधबार प्रधानमन्त्री ओलीको पहिलो डायलाइसिस करिब दुई बजेतिर सकिएको थियो। डायलाइसिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियुमा राखिएको थियो। साँझ भने उनलाई क्याबिनमा सारिएको थियो।
प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र उनले सोफामै बसेर कुरा गरेको अस्पतालका एक चिकित्सकले बताएका छन्।
उनका अनुसार प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो। पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको पनि ती चिकित्सकले बताए।
शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ। दोस्रो डायलाइसिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउनेछ। त्यसपछि भने प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने सम्भावना रहेको अस्पताल स्रोतले जनाएको छ।
स्वस्थ मिर्गौलाले रगतमा रहेका हानिकारक तत्व छान्ने काम गर्छ। बिरामी मिर्गौलाले छान्ने काम गर्न सक्दैन। त्यसैले पानी वा रगत हालेर डायलासिस मार्फत् रगतको विकार सफा गरिन्छ।
प्रधानमन्त्री ओलीलाइ अस्पतालको १४औं तलामा रहेको आसियुमा राखिएको छ।
के हो अल्ट्रा–फिल्ट्रेसन ?
रगतमा बिकारको मात्रा अत्यधिक भएमा र तत्कालै उपचार गर्नुपर्ने भएमा अल्ट्रा–फिल्ट्रेसन प्रक्रिया अपनाइन्छ
शरीरमा सञ्चार हुने रगतलाई स्वच्छ राख्न मिर्गौला सबैभन्दा महत्वपूर्ण अंग हो । शरीरमा उत्पन्न सम्पूर्ण बिकार छान्ने काम मिर्गौलाले गर्छ । अनावश्यक तत्व पिसाबबाट बाहिर निकाल्छ । आवश्यक तत्व रगतमार्फत शरीरमा सञ्चार गर्छ । मिर्गौला सामान्य अवस्थामा भएसम्म यो सबै भइरहन्छ ।
तर, मिर्गौला आफैँले सही मात्रामा काम गर्न नसकेमा शरीरलाई आवश्यक पर्ने प्रोटिनजस्ता तत्वहरू पनि पिसाबमार्फत बाहिर फालिदिन्छ । युरियाजस्ता तत्वहरू पनि रगतमा पठाइदिन्छ । जसले गर्दा रगतमा बिकारजन्य पदार्थहरू बढ्दै जान्छन् ।
तर, मिर्गौला आफैँ स्वस्थ नभए शरीरको रगत स्वतः बिकारयुक्त हुन्छ । शरीरमा भएका बिकारहरू एकमुष्ट रूपमा बाहिर फाल्न र रगतलाई लामो समयसम्म स्वच्छ राख्नका लागि प्लाज्मा फेरेसिस गरिन्छ । यो प्रक्रियामा शरीरमा उत्पन्न एन्टिबडी बाहिर निकालिन्छ र जसले प्रत्यारोपण भएको मिर्गौलालाई काम गर्न सहज बनाउँछ ।
शरीरमा भएको बिकार बाहिर निकाल्ने प्रक्रियाअन्तर्गत हेमोडायलाइसिस अर्थात् डायलाइसिस गरिन्छ । यो भनेको शरीरको बिकार छान्ने प्रक्रिया नै हो । तर, रगतमा बिकारको मात्रा अत्यधिक भएमा र तत्कालै उपचार गर्नुपर्ने भएमा अल्ट्रा–फिल्ट्रेसन प्रक्रिया अपनाइन्छ । हेमोडायलाइसिस एकपटक गरेर पुग्दैन । अल्ट्रा–फिल्ट्रेसन पनि त्यस्तै हो । तर, रगतमा सञ्चार हुने बिकारको गति हेरेर अल्ट्रा–फिल्ट्रेसन कतिपटक गर्ने भनेर डाक्टरहरूले निश्चित गर्छन् ।