एसिसी इमर्जिंङ टिम्स कपमा नेपाल र भारत एउटै समूहमा : नेपालले आफ्नो पहिलो खेल भारतसँग कात्तिक २८ गते खेल्ने

फाइल तस्बिर

नेपालले एसिसी इमर्जिंङ टिम्स एसिया कप खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले आगामी कात्तिक २८ गतेदेखि बंगलादेशमा हुने प्रतियोगितामा भाग लिने भएको हो।

मंसिर ७ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन्।

समूह ‘ए’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन्।

यसअघि प्रतियोगितामा युएईले खेल्ने कार्यक्रम थियो भने नेपालको नाम समावेश थिएन।

एकदिवसीय प्रतियोगितामा टेस्ट राष्ट्रका यु–२३ टिमले प्रतिस्पर्धा गर्नेछन् भने नेपाल लगायतका एसोसिएट देशको राष्ट्रिय टिमले भाग लिनेछन्।

नेपालले आफ्नो पहिलो खेल भारतसँग कात्तिक २८ गते खेल्नेछ। दोस्रो खेल हङकङसँग कात्तिक ३० गते र समूह चरणको अन्तिम बंगालेशसँग मंसिर २ गते हुनेछ।

No photo description available.

त्यसपछि नेपालले मंसिर १५ गतेदेखि हुने दक्षिण एसियाली खेलकुदमा भाग लिनेछ।

बंगलादेश जानुअघि भने नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच सिरिज हुनेछ।

क्यानले सिरिजका लागि छिट्टै राष्ट्रिय टिम घोषणा गर्ने जनाएको छ। यसअघि क्यानले राष्ट्रिय टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल र उपकप्तानमा दीपेन्द्रसिंह ऐरीलाई नियुक्त गरेको थियो।

एसिसी टिम्स कप हुने समयमै युएईमा टी–१० लिग हुँदैछ। जहाँ नेपालका पूर्वकप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछाने आबद्ध छन्। त्यसैले दुवै खेलाडीको टी–१० लिग गुम्ने सम्भावना छ।

रासस


ताजा खबर