नेपाल र भारतमा मनाइने छठ पर्व शनिवार साँझ उत्कर्षमा पुगेको छ।
अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिँदै व्रतालुहरूले प्रत्येक बिहान सूर्योदय होओस् भन्ने कामना यो पर्वमा गर्ने गर्छन्।
अघिपछि उदाउँदो सूर्यको प्रार्थना गरिने भए पनि छठ पर्वमा अस्ताउँदो सूर्यको पनि प्रार्थना गर्ने चलन छ।
आरम्भ र अन्त्यको विशेषतालाई यसरी साङ्केतिक रूपमा प्रस्तुत गरिएको संस्कृतिविद्हरूको धारणा छ।
नेपालमा पहिला तराई क्षेत्रमा सीमित यो चाड केही वर्षदेखि राजधानी काठमाण्डू तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिमा मनाइने यो चाडका अनेक विशेषता छन्।
दिनभरि प्रकाश र ताप दिएकाले कृतज्ञता प्रकट गर्न सूर्य अस्ताउन लाग्दा अर्घ्य दिने गरिएको मान्यता संस्कृतिविद्हरूको रहेको छ।
छठ पर्वमा किसानले आफ्नै खेतबारीमा उत्पादित सामग्रीले अर्घ्य दिन्छन्।
किसानका लागि सूर्यको प्रकाश वरदान हो । प्रकाशविना खेतीपाती हुन सक्दैन।
त्यसैले आफ्नो खेतीबाट उब्जिएको पहिलो उत्पादनले सूर्यलाई अर्पण गर्ने प्रचलन रहेको छ।
“पूजाका विभिन्न पद्धति भए पनि मिथिलामा प्रचलित पद्धतिमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर उदाउँदो बेलाको सूर्यलाई जस्तै महत्त्व दिइएको छ,” प्राध्यापक परमेश्वर कापडी भन्छन्, “उदाउँदो र अस्ताउँदो दुवै सूर्यको पूजन मान्य छ।”
उदाउँदो सूर्य सिर्जनात्मक र अस्ताउँदो सूर्य प्रतिकात्मक रहेको उनको भनाइ छ।
सूर्यास्तका बेला जलाशयमा उभिएका व्रतालुहरूले सूर्यलाई अर्घ्य चढाउँछन्।
जलाशय नभएका स्थानमा छठ पर्व मनाइँदैन। छठपूजनका लागि पोखरी, तलाउ, सरोवर, नदी वा समुद्र आवश्यक पर्छ।
सूर्यको ताप पूर्णतः समाप्त भइसकेको अवस्थामा जलाशयमा उभिएका व्रतालुहरूले अर्घ्य दिन्छन् र बिहान पुन: ऊर्जावान् भएर उदाउन प्रार्थना गर्छन्।
“सूर्यलाई ऊर्जाको प्रतीकका रूपमा पूजा गरिन्छ,” मैथिल संस्कृतिमा दखल राख्ने रामचन्द्र झा भन्छन्,”सूर्यको उपासना गर्दा ऊर्जा प्राप्त हुने भएकाले किसानले दुवै साँझ र बिहान पूजा गर्छन्।”
नेपाल र भारतका विशेषत: मिथिला र भोजपुरा क्षेत्रका बासिन्दाले अहिले छठ पर्वलाई संसारभरि फैलाएका छन्।
अमेरिका, मलेशिया, कुवेत, कतार आदि देशमा पनि यो पर्व विधिवत् मनाउने गरिएको छ।
साँझ दिइने अर्घ्य सूर्यलाई नभई षष्ठीदेवीलाई भएको कतिपयको मान्यता छ।
“छठको सन्ध्याकालीन अर्घ्य षष्ठीदेवीलाई दिने गरिन्छ,” साहित्यकार डा. रेवतीरमण लाल भन्छन्, “सूर्यको पूजा सप्तमीको दिन बिहान गरिन्छ।”
उनका अनुसार छठमा दुईवटा देवदेवीको पूजा हुन्छ।
“छठी परमेश्वरी माताको पूजा नै षष्ठीदेवीको अर्घ्य हो। व्रतालुहरूले साँझ षष्ठीदेवीलाई अर्घ्य दिएर पूजा सम्पन्न गरेपछि भोलिपल्ट उदाउँदो सूर्यको पूजा गरिन्छ।”
धेरै स्थानमा साँझ प्रयोग भएको पूजासामग्री भोलिपल्ट प्रयोग हुन्छ।
तर कतिपय स्थानमा बिहानका लागि छुट्टै सामग्री तयार पारिन्छ।
छठको पूजासामग्री, अर्घ्य दिने समय तथा स्थल र पूजाविधिमा खासै भिन्नता देखिँदैन। कृषिउपजबाहेक अन्य वस्तु पूजासामग्रीको रूपमा प्रायः प्रयोग गरिँदैन।
छठको सन्ध्याकालीन अर्घ्य दिने बेला जलाशयनजिकै ठूलो सङ्ख्यामा मानिसहरू भेला हुने गर्छन्। व्रतालु तथा अन्य श्रद्धालुहरूले नयाँ लुगा लगाउने प्रचलन पनि रहेको छ।
बीबीसी