नेपालमा आज थप २ हजार ५ सय ५२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
यो सँगै नेपालमा हाल सम्म कोरोना संक्रमण पुष्टि भई निको हुनेको कूल सङ्ख्या ६ लाख ९ हजार २ सय १८ पुगेको छ भने निको हुने दर ९४ दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आजको मिडिया व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले विगत केही दिनदेखि सङ्क्रमणमुक्त हुनेको दर बढ्दै गएको र देशका अधिकांश जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा कम रहेको बताउनुभयो ।
प्रवक्ता डा पौडेलले काठमाडौँ उपत्यकाका ३ जिल्ला सहित विभिन्न ९ जिल्ला अझै कोरोना सङ्क्रमणको उच्च जोखिममा रहे पनि देशका अधिकांश जिल्लामा सङ्क्रमणको जोखिम कम हुँदै गएको बताउनुभयो ।
नेपाल सरकारले निर्धारण गरेको कोरोना संक्रमण सम्बन्धी मापदण्ड अनुसार ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरूलाई सङ्क्रमणको उच्च जोखिमयुक्त क्षेत्रको रुपमा लिइन्छ ।
यस्तै २ सय देखि ५ सय सम्म सक्रिय संक्रमित रहेका जिल्लालाई मध्यम जोखिम र २ सय भन्दा कम सक्रिय संक्रमित रहेको जिल्लालाई कम जोखिमयुक्त जिल्लाको रुपमा लिइन्छ ।
यस्तै आज थप १ हजार ६ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज ४ हजार ८ सय ७६ नमूनाको पिसिआर परीक्षण गर्दा १ हजार ४२ जना तथा ३ हजार २ सय ५६ नमूनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा पौडेलले बताउनुभयो ।
आज काठमाडौँमा ३ सय ४२ जना ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जना गरी काठमाडौँ उपत्यकामा ४ सय ६१ जना संक्रमित थपिएका छन् । यसैगरी आज थप २७ जनाको मृत्यु भएपछि नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार २ सय २५ पुगेको प्रवक्ता डा पौडेलले जानकारी दिनुभयो ।