समावेशी प्रतिनिधित्वमा निर्वाचन आयोगको जोड

 प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संविधान र निर्वाचन सम्बन्धी कानूनमा भएको व्यवस्था अनुसार समावेशी प्रतिनिधित्व हुनुपर्ने र यसमा राजनीतिक दल अझ बढी जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । 

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलका लैङ्गिक तथा समावेशी सम्पर्क व्यक्तिहरूसँग गरेको छलफलमा प्रमुख आयुक्त थपलियाले संविधानले समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तमा आधारित राज्य व्यवस्थाको परिकल्पना गरेको सन्दर्भमा राजनीतिक दलको सङ्गठन संरचना र प्रतिनिधित्व पनि सोही बमोजिम व्यवस्थित हुनुपर्ने तर्फ राजनीतिक दलहरूको ध्यानाकर्षण गराउनुभयो ।

छलफलमा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएकोमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाललगायत १२ राजनीतिक दलको सहभागिता रहेको थियो ।

कार्यक्रममा निर्वाचन सञ्चालन तथा व्यवस्थापन, राजनीतिक दल, आचारसंहिता र राजनीतिक दलको भूमिका, लैङ्गिक तथा समावेशी नीति एवं समावेशी व्यवस्थापन लगायतका विषयमा छलफल भएको आयोगले जनाएको छ । –रासस


ताजा खबर