कृष्ण प्रधान
बाजे श्रीकृष्ण आचार्यले दैनिक उच्चारण गर्ने स्तोत्रहरू भुइँमा खस्न नदिई टपक–टपक टिपेर कण्ठस्थ गर्ने आदिकवि भानुभक्त आचार्य विलक्षण प्रतिभाका धनी थिए । ठिटौले उमेरमै उनले सूर्यकवच, दुर्गाकवच, चण्डी आदि स्तोत्र खर्लप्पै निलेका थिए । अमरकोश र कौमुदी त यिनको जिब्रोमा छ्याप्छ्याप्ती भिजिसकेको थियो ।
गाउँघरमा विभिन्न समयमा गाइने भजन, बालुन र दोहोरी सिलोकले समेत यिनलाई हुरुक्कै पारेको थियो । यिनै भजन, बालुन र दोहोरी सिलोकले भानुभक्तको बालसुलभ हृदयमा कविताप्रतिको मोह पलाएको देखिन्छ । यसैकारण आठ÷नौ वर्षको ठिटौले उमेरदेखि नै यिनले कविता कथेर ‘हुने बिरुवाका चिल्ला पात’को लक्षण देखाएका थिए ।
भानुभक्तीय रामायण
संस्कृत अध्यात्म रामायणको नेपाली रूपान्तरण भानुभक्तीय रामायणलाई यिनको प्रमुख उल्थित काव्यकृति मान्ने प्रशस्तै ठाउँ छन् । सात काण्डमा रहेको यो रामायण भानुभक्तले एकै खेपमा उल्था गरेकाचाहिँ होइन । भानुभक्तलाई रामायण उल्था गर्न हुटहुटी लगाउने व्यक्ति घाँसीलाई मानिए तापनि घाँसी प्रसङ्ग र रामायण रूपान्तरणमाझ सात वर्षको फरक पाइएकाले रामायण लेखनको प्रेरणामा घाँसीलाई मात्र मान्नचाहिँ सकिँदैन ।
बाजे श्रीकृष्ण आचार्यको प्रेरणाले गर्दा नै उनलाई अध्यात्म रामायणको भावानुवाद गर्ने हुटहुटी लागेको सम्भावना देखिन्छ किनभने संस्कृतको अध्यात्म रामायण श्रीकृष्ण आचार्यले पाठ गरिरहन्थे । रामायणका ती श्लोकहरू मन लगाएर सुन्ने एकमात्र श्रोता भानुभक्त नै थिए । यो श्रव्यकाव्यले भानुभक्तलाई अध्यात्म रामायण आफ्नै मातृभाषामा उल्था गर्ने प्रेरणा मिलेको देखिन्छ । तर, घाँसीको प्रेरणालाई पनि टार्नचाहिँ सकिन्न ।
विक्रम संवत् १८९७/९८ तिर २६/२७ वर्षको उमेरमा भानुभक्तले रामायणको बालकाण्ड रूपान्तरण गरेका हुन् । यो सक्न उनलाई सम्भवतः एक वर्षजति लागेको थियो । बालकाण्डमा १३९ श्लोक छन् । यसमा ग्रामीण परिवेशको सुन्दर वर्णन गर्नमा भानुभक्तीय अनुवाद अब्बल देखिन्छ । यो लेखिएको एकचालीस वर्षपछि विसं १९३८ मा मोतीराम भट्टको हुट्हुटीमा तेजबहादुर राणाले वनारसको भारत जीवन प्रेसबाट भानुभक्तीय रामायण प्रकाशित गरेको पाइन्छ ।
बालकाण्ड सकेको तेह्र वर्षपछि अर्थात् विसं १९०१ तिर भानुभक्तले रामायणका अयोध्याकाण्ड, अरण्यकाण्ड, किस्किन्धाकाण्ड र सुन्दरकाण्ड उल्था गर्ने काम पूरा गरेका हुन् । यही बेला भानुभक्त कुमारीचोकमा थुनामा परेका थिए । यसताका यिनको जीवन कष्टप्रद भए पनि काव्ययात्राको विकास भने निकै महŒवपूर्ण देखिन्छ । बालकाण्ड उल्था गर्दासम्म भानुभक्त जनमानसमा अपिरिचित नै थिए । कुमारीचोकमा थुना परेको अवस्थामा उल्था गरिएका उपरोक्त चारै काण्डले भानुभक्तको नाम ‘दरबारिया’माझ निकै चर्चाको विषय बनेको थियो । यसै समयदेखि भानुभक्तको प्रसिद्धि टुसाउन थालेको पाइन्छ ।
भानुभक्तले बालकाण्ड आफ्नै घरको काममा व्यस्त रहेको अवस्थामा उल्था गरेका हुन् भने अयोध्याकाण्ड, अरण्यकाण्ड, किस्किन्धाकाण्ड र सुन्दरकाण्ड कुमारीचोकमा थुना परेका बेला उल्था गरेका हुन् । युद्धकाण्डचाहिँ उनले विसं १९०४ तिर उल्था गरेको पाइन्छ । यतिन्जेल भानुभक्त थुनाबाट मुक्त भइसकेका त थिए तर रम्घादेखि पटक–पटक काठमाडौँ आइरहनुपथ्र्यो । यहीबेला उल्था गरिएको युद्धकाण्ड रामायण सिध्याउन उनलाई एक वर्षभन्दा धेरै समय लागेको देखिन्छ । सात काण्डमध्ये यो सबैभन्दा लामो काण्ड हो । यसमा ३१६ श्लोक छन् । उत्तरकाण्ड विसं १९१९ मा उल्था गरी सिध्याएका हुन् भन्ने कुरा भानुभक्तको एउटा पत्रले खुलस्त पार्छ ।
छन्द प्रयोग
भानुभक्त एकजना साधारण अनुवादकमात्र होइनन् । यिनी प्रतिभाशाली, मेधावी, खप्पिस अनुवादक हुन् भन्ने कुरो भानुभक्तीय रामायणमा प्रयोग भएका छन्दले नै प्रमाण पस्केका छन् । मूल अध्यात्म रामायणमा पन्ध्रवटा विभिन्न वर्णमात्रिक संस्कृत छन्द प्रयोग भएको छ भने भानुभक्तीय रामायणमा नौवटा छन्द प्रयोग भएको पाइन्छ । ती छन्द शार्दूलविक्रीडित, शिखरिणी, वसन्ततिलका, इन्द्रवज्रा, उपजाति, स्रग्धरा, मालिनी, स्वगता र द्रूतविलम्बित हुन् । यी छन्द प्रयोग गरिएका उदाहरण हेरौँ ।
शार्दूलविक्रीडित– एक् दिन् नारद सत्य लोक् पुगि गया लोक् को गरूँ हित् भनी
(बालकाण्ड पहिलो श्लोक पहिलो पाउ)
शिखरिणी– गयो खान्या बेला मकन त मिल्यो राज्य वनको
(अयोध्याकाण्ड २५औँ श्लोकको पहिलो पाउ)
वसन्ततिलका– यै ज्ञान कहिन्छ सुन येहि कहिन्छ विज्ञान
(अरण्यकाण्ड २९औँ श्लोकको पहिलो पाउ)
इन्द्रवज्रा– तस्मात् अहङ्कार कन तुच्छ मानी
(उत्तरकाण्ड १७२औँ श्लोकको पहिलो पाउ)
उपजाति– आफ्ना पुरोहीत् ति वसिष्ठलाई
(उत्तरकाण्ड २४४औँ श्लोकको पहिलो पाउ)
यसै श्लोकको तेस्रो पाउ–
हुकम् भयो मङ्गल गर्नलाई
यस श्लोकमा तीनवटा पाउ इन्द्रवज्रा छन्दका भए तापनि दोस्रो पाउ उपजाति छन्द परेकाले यो श्लोक उपजाति छन्द बनेको छ ।
स्रग्धरा– सर्वेश्वर सर्वरुपी, भुकन यसरी लड्न पो क्यान पर्थ्यो
(युद्धकाण्ड ११३औँ श्लोकको पहिलो पाउ)
मालिनी– खुसि भइ नलले सब् वीरको तेज् जगाई
(युद्धकाण्ड ८०औँ श्लोकको पहिलो पाउ)
स्वागता– धन्य हुन् इ हनुमान् इ सरीको
(सुन्दरकाण्ड १५३औँ श्लोकको पहिलो पाउ)
द्रूतविलम्बित– अयुत वर्ष त राज् प्रभुको भया
(सुन्दरकाण्ड ३७६औँ श्लोकको पहिलो पाउ)
उपर्युक्त नौवटा छन्दमध्ये भानुभक्तले आफ्ना अनूदित रामायणमा भने सबैभन्दा धेरै एक हजार ४९ श्लोक शार्दूलविक्रीडित छन्दमा रचेको पाइन्छ । रोचक कुरो त के छ भने रामायणको आरम्भ र अन्त्यमा समेत शार्दूलविक्रीडित छन्द प्रयोग गरेको भेटिन्छ । त्यसपछि दोस्रो स्थानमा वसन्ततिलका छन्दको नाउँ आउँछ ।
यिनले १३४ वटा श्लोकमा यस छन्दको प्रयोग गरेको भेटिन्छ । बालकाण्डमा कतै पनि यस छन्दको प्रयोग भेटिँदैन । तर, छवटै काण्डमा वसन्ततिलका छन्दको प्रयोग भेटिन्छ । मूल संस्कृत अध्यात्म रामायणमा चार हजार ३५० वटा श्लोक छन् तर भानुभक्तले आफ्नो उल्थाको बलले ती श्लोकलाई एक हजार ३९९ श्लोकमा पूरा गरेका छन् ।
यिनले झन्डै ७० प्रतिशत घटाएर ३० प्रतिशतमा मात्र आफ्नो अनूदित रामायण प्रस्तुत गरेर अब्बल एवम् सफल अनुवादकमा हुने उत्कृष्ट अनुवादेली प्रतिभा प्रस्तुत गरेका छन् । यसैले मूल संस्कृत अध्यात्म रामायणको तुलनामा भानुभक्तीय रामायणमा छोटा, छरिता, रसिला र बान्किला हुनाका साथै शिष्ट र झर्रा नेपाली शब्द संयोजन गरेको पाइन्छ ।
अलङ्कार प्रयोग
अनूदित रामायणलाई सर्वाङ्ग सुन्दर बनाउने प्रयासमा भानुभक्तले अन्त्यानुप्रासको प्रयोग प्रशस्त गरे । यसले शैलीगत तथा लयगत रूपमा मीठोे बनाउने काम पनि ग¥यो । शब्दालङ्कारअन्तर्गत छेकानुप्रास, श्रुत्यानुप्रास, वृत्यनुप्रासको प्रयोग भएको छ ।
उपमा, रूपक अर्थालङ्कारको प्रयोग सँगसँगै अन्य अर्थालङ्कार पनि आक्कलझुक्कल प्रयोग भएको देखिन्छ । जस्तै– छेकानुप्रास अलङ्कारको प्रयोग–
“येती विन्ति गरी दिया ति गहना देख्या प्रभूले पनी ।
चीहन्या सब् गहना र शोक् बहुत भो हा ! मेरी सीता ! भनी ।।
रोया छाति विषे धर्या र गहना नाना विलापले जसै ।
लक्ष्मण, सुग्रिवले तहाँ प्रभूजिको दिल् खुस् गराया तसै ।।’’
(किस्किन्धाकाण्ड, दसौँ श्लोक)
भानुभक्तीय रामायणमा अर्थालङ्कारको प्रयोगले रामायण रमणीय भएको छ । यसैकारण, यो रामायण नेपालीको जिब्रोमा सजिलै भिजेर युगौँदेखि बाँचिरहेको छ । यो संसारमा नेपाली रहुन्जेल भानुभक्त उल्थित रामायण विश्वभरिका प्रत्येक नेपालीको मुटुको ढुकढुकी भएर रहनेछ ।