विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र जनमोर्चाको संयुक्त बैठकले देउवाको नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरेको जसपा नेता डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
कोटेश्वरस्थित एमाले वरिष्ठ नेतानेपालको सम्पर्क कार्यालयमा बसेको गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
बैठकमा नेता नेपालले सबै दललाई समेटेर सरकार बनाउन सुझाव दिनुभएको थियो ।
बैठकमा एमालेबाट नेता नेपाल र रघुजी पन्त सहभागी हुनुभएको थियो ।
विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ । –रासस