संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ ।
अमेरिकी सरकारबाट उपहारस्वरूप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत -यान्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहवीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गर्नुभयो ।
एक मात्रा मात्र लगाए पुग्ने सो खोप ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकताका आधारमा लगाइने योजना सहित खोप हस्तान्तरण गरिएको विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा राजदूत बेरीले नेपाली जनताको जीवन रक्षाको एक मात्र उद्देश्यले खोप उपलब्ध गराइएको बताउँदै यसले नेपाललाई अहिलेको महामारीबाट बाहिर निस्कन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कोभ्याक्सको गौरवशाली सदस्यका रुपमा अमेरिकाले दुई अर्ब डलरको अनुदान उपलब्ध गराएको अवगत गराउँदै उहाँले त्यस सहयोगबाट न्यून तथा मध्यम आय भएका मुलुकमा खोप आपूर्ति हुने बताउनुभयो ।
राजदूत बेरीले आजसम्म अमेरिकाले नेपालको कोभिड प्रतिकार्यका लागि सात करोड अमेरिकी डलरभन्दा बढी योगदान गरिसकेकोसमेत जानकारी दिनुभयो । –रासस