देशभर कोरोना भाइरसबाट २ हजार ९ सय ५ जना संक्रमित भएका छन् ।
८ हजार १ सय ८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार १० जना तथा ४ हजार ९ सय १६ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ सय ९५ जना गरी जम्मा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समीर अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ६९, ललितपुरमा ६२ र काठमाडौँमा २ सय ९४ रहेको मन्त्रालयका सह प्रवक्ता डा.अधिकारीले बताउनुभयो ।
देशभरबाट गएको २४ घण्टामा १ हजार ६ सय ६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ६ लाख २४ हजार ७ सय ११ जना निको भएका छन् ।
देशभरि २६ हजार ६ सय ४७ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् । जसमा २४ हजार ९९ होम आइसोलेसन र २ हजार ५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेर उपचार गराइरहेका हुन ।
देशभरिबाट ५ सय ९९ जना आइसियुमा र १ सय ७२ जनाले भेन्टिलेटरमा रहेर उपचार गराइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले बताउनुभयो ।
देशभरि आज कोरोना सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमित बढी भएका जिल्लामा काठमाडौँ, भक्तपुर, सुर्खेत, कैलाली, झापा मोरङ, सुनसरी, पर्सा, कास्की, तनहुँ, दाङ, रुपन्देही रहेको मन्त्रालयका सह प्रवक्ता डा.अधिकारीले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणको जोखिम बढिरहेकाले उच्च सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।