सरकारले चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिएको छ। प्रधानमन्त्री केपी ओलीले सोमबार चिकित्सा शिक्षा आयोगमा १० जना सदस्य मनोनित गरेका हुन्।
एक सदस्य उनले आफ्नै निजी चिकित्सक डा. दिव्या सिंहलाई मनोनित गरेका छन्। आयोग अध्यक्षको हैसियतमा प्रधानमन्त्रीलाई ११ सदस्य मनोनित गर्ने अधिकार छ।
मनोनित हुने अन्यमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भइरहेका त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन उपकुलपति, मेडिकल तथा नर्सिङ पेशागत संगठनका दुुई अध्यक्ष, नागरिक समाजका दुई र चिकित्सा शिक्षाका तीन जना विज्ञ रहेको शिक्षा मन्त्रालयले जनाएको छ।
एशोसिएसन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिस्ट नेपाल र नेपाल नर्सिङ संघका अध्यक्ष सदस्य रहने छन्।
यस्तै, नागरिक समाजका तर्फबाट डा. रमेशकान्त अधकिारी र डा. सीता गुरुङ मनोनित भएका छन्। चिकित्सा शिक्षा विज्ञबाट प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाह, शैली प्रधान र जगदीश अग्रवाल मनोनित भएका छन्। अग्रवाल चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन हुन्।
यसअघि मन्त्रीपरिषदले चिकित्सा शिक्षा आयोग उपाध्यक्षमा डा. श्रीकृष्ण गिरीलाई नियुक्ति गरिसकेको छ। आयोगमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। यसअघि नै निजी मेडिकल कलेजबाट नेसनल मेडिकल कलेज सञ्चालक बसरुद्दिन अन्सारीलाई प्रधानमन्त्रीले मनोनित गरिसकेको स्रोतले जनाएको छ।