नेपाली चियालाई अन्तर्राष्ट्रिय ‘गोल्ड अवार्ड’

नेपालमा उत्पादन हुने विभिन्न प्रकारका चियामध्ये अर्गानिक ब्ल्याक चियातर्फ अन्तर्राष्ट्रिय गोल्ड  अवार्ड प्राप्त गरेको छ। नेपालले २३ मुलुकको एक सय ९१ प्रकारका चियाको नमुनालाई उछिन्दै कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो।

यस्तै नेपालको तीन उद्योगबाट उत्पादन हुने चियाले पनि सिल्भर अवार्ड प्राप्त गरेको छ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंगलबार राजधानीमा एक कार्यक्रम गरी गोल्ड तथा सिल्भर अवार्ड नेपाली उद्योगीलाई हस्तान्तर गरेको छ।

इलामस्थित लामण्डला स्पेशियलिटी चिया प्रशोधन उद्योगले अर्गानिक कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो।

यस्तै इलामकै कञ्चनजंघा अर्गानिक चिया उद्योग, लालिगुराँस चिया प्रशोधन उद्योग र जस्बीरे चिया प्रशोधन उद्योगले सिल्भर अवार्ड पाएको हो ।

बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनाल तथा  व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सुयश खनालले संयुक्त रुपमा गोल्ड अवार्ड र सिल्भर अवार्ड नेपाली उद्यमीलाई हस्तान्तर गरेका छन्।

बोर्डका निमित्त कार्यकारी  निर्देशक खनालकाअनुसार चिनियाँ सरकारको स्वामित्वको टी इण्डस्ट्रि कमिटी अफ चाइना एशोसिएसन फर द प्रमोशन अफ इन्टरनेशनल कोअपरेशनले २३ मुलुकबाट संकलन गरेको एक सय ९१  प्रकारका चियाको नमुनाबाट नेपाली चियालाई अवार्ड प्रदान गरेको हो।

‘नेपालले जुन विधामा अवार्ड प्राप्त गरेको हो, त्यही विधामा अन्य मुलुकको चियाले अवार्ड पाउँदैनन्,’ निमित्त कार्यकारी निर्देशक खनालले भने, ‘नेपाली चिया विश्वमै उत्कृष्ट छ भन्ने सन्देश यो अवार्डले दिएको छ।’

बोर्डले नेपालमा उत्पादन हुने विभिन्न प्रकारको चियाको नमुना संकलन गरी चीनको उक्त संस्थालाई उपलब्ध गराएको थियो।

रासस


ताजा खबर