कालापानी/लिपुलेक लगायत नेपाली भूमि भारतीय नक्सामा राखिएको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार राजधानीमा प्रदर्शशन गरेको छ ।
रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु भएको विरोध र्याली त्रिचन्द्र क्याम्पस घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागी विद्यार्थीले ‘गो व्याक इन्डिया’ भन्दै नाराबाजी गरेका हुन्।
कोणसभामा अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सम्बोधन गर्दै नेपाली भूमिलाई भारतीय नक्साबाट हटाउन माग राखें। भारत र नेपालबीचका असमान सन्धि सम्झौता समेत खारेज गर्नु पर्ने उनीहरुको माग थियो।
संयोजक महरले भारतीय नक्साबाट नेपाली भूमी फिर्ता गराउन थप आन्दोलनको कार्यक्रमहरु गर्दै जाने जनाए। के-कस्ता आन्दोलन गर्ने छलफल गरेर टुंगोमा पुग्ने अनेरास्ववियूले जनाएको छ। उक्त संगठनसँग आबद्ध विद्यार्थीले सामाजिक सञ्जालमा समेत ‘गो व्याक इन्डिया’ भन्दै आलोचना गरेका छन्।