~शोभा पाण्डेय/सिलवाल
वर्ष दिनको तीज आयो हामी चेली रुनलाई
माइत जान्छु स्वामी राजै दुई चार दिनलाई ।
जन्मिएको जन्मभूमि भेटी आउँछु आमाबाउ
हामी चेली स्वाभिमानी भई बाँच्न पाऊँ ।
जन्मिएको जन्मभूमि पराइ हुँदो रैछ नि
कता जाऊँ र के गरौँ मनमा भइछ नि ।
जन्मभूमि बाबा आमा दाजुभाइ छोडेर
पराइ घर जानु पर्ने नाता जोडेर ।
अर्काको घरमा हामी चेली दासी झैँ
पानी खान नपाएको न्याउली प्यासी झैँ ।
राम्रोगरी ख्वाउनु आमा घरमा पाहुना आउनीलाई
कैल्यै सुख हुन्न आमा छोरी पाउनीलाई ।
मेलापात गर्छु आमा सत्तुरको माझमा
मलई सम्झी नरुनू झम्के साँझमा ।
बुढा भए आमा बाबा मेलापात गर्दा नि
पुछ्न पाइन आमा तिम्रो आँसु झर्दा नि ।
धानको बाला आलीमा लरीलै लरीलै
तीजको बेला वेदना पोखेँ बरिलै ।