डा.नवराज लम्साल सुन्दा ,पढ्दा र भेट्दा उस्तै दुरुस्तै, ठ्याक्कै

~ अर्जुनबाबु दाहाल

मूलतः म आयुर्वेदिक स्वास्थ्यकर्मी हुँ । अध्ययनले भन्दा पनि रुचिले नेपाली साहित्यसँग नजिक छु । केही गीत र कविता लेख्छु तर मेरा ती रचनाहरूको समीक्षा समालोचना हुने वा हुनुपर्ने अवस्था छैन । नढाँटी भन्दा त्यति धेरै साहित्यिक पुस्तक पढेको पनि छैन र त्यसमाथि महाकाव्य त पढेकै छैन भन्दा पनि हुन्छ तर रामायण नपढ्ने को नेपाली होला र  ?  म त्यसमै पर्छु ।

मोदनाथ प्रश्रितको मानव महाकाव्य, देवकोटाको शाकुन्तल र सुलोचनाको नाम नसुन्ने पनि कमै होलान् । ती पुस्तकहरू पूर्ण रुपमा, छिचोलेको पनि छैन तर प्रकाशनको १२ वर्षपछि कर्ण महाकाव्य हात पर्‍यो । साथी मिलन कोइरालाको सौजन्यमा प्राप्त त्यो महाकाव्यकै बारेमा उनले दिएको विशेष ‘टिप्स’ले प्रेरित गर्‍यो र पुरै पढेँ । जमेर पढेँ । बिचमा सानो दुर्घटनामा परेर खुट्टामा समस्या परेपछि एक महिना कर्ण मेरो प्रिय साथी बन्यो ।

डा. नवराज लम्साललाई चिन्नुअघि नै कर्ण चिनेँ । रेडियो नेपालबाट सुनेको नवराज लम्साल, कर्ण महाकाव्यको डा. नवराज लम्साल र भेटेको नवराज लम्साल उस्तै पाएँ, दुरुस्तै, ठ्याक्कै । साहित्यकारको सरलपना यस्तो हुँदो रहेछ भन्ने बोध भयो । मेरो श्रद्धा झन् बढ्यो । सेलिब्रेटी भेट्दा कहिले काहीँ भूपेन्द्र खड्काको गीतले भनेजस्तो नभेटेकै भए जाती हुन्थ्यो भन्नुपर्थ्यो तर नवराज लम्सालको शालीनता र सरलता अरूले पनि सिक्नुपर्ने खालको रहेछ । मलाई यस्तै अनुभव मनोज गजुरेल भेट्दा पनि भएको थियो । उनी पनि निकै कोमल मनका सरल मान्छे हुन् । 

पौरस्त्य दर्शनको जगमा जीवनको बहुलता र देशलाई हामीले के दियौँ भन्ने प्रश्न जटिल छ । एउटा बूढी आमा नामको पात्रमार्फत भनिएको सत्य र देशले के दियो शीर्षकको खण्डले खूब झस्काउँछ । यो किताब सबै नेता र राजनीतिकर्मीले पढ्न जरुरी छजस्तो लाग्छ । हरफ हरफमा देश बोलिरहेझैँ लाग्छ । 

कर्णका विषयमा धेरै लेखिए होलान् । समीक्षा समालोचना भए होलान् । थेसिस बने होलान् तर ती सबै मलाई थाहा छैन तर कर्णको हरफ हरफमा स्वयं नवराज लम्साल पाएँ । उनले आफू भन्न नसकेर कर्णलाई माध्यम बनाएर कर्ण लेखेझैँ लाग्यो । तर हरफ हरफमा म आफैँलाई पाएँ र सशस्त्र द्वन्द्वका बेला जङ्गल जङ्गल चाहारेर मुक्ति खोज्दै हिँडेका तरुण आफैँ कर्ण हुन् कि जस्तो लाग्छ । पाठकीय हिसाबले मलाई लागेका केही मिठा सन्दर्भ लेख्ने कोसिस गरेको छु ।

महाभारत र कर्ण

महाभारत केही सानैमा पढेँ र केही सिरियल हेरेर बुझेँ । बर्बरिक, कर्णजस्ता पात्रको कथाले चस्स छुन्थे । त्यसो त एकलव्यले औँला काटेको कथा सुन्दा हरेक दलका तल्लो स्तरका कार्यकर्ताको याद आउँछ । कर्ण बगेको बगाइएको, पढ्न नपाएको, अब्बल सावित हुने गरी प्रतियोगितामा भाग लिन नपाएको, छल गरेर मारिएको कथालाई डा. लम्सालले फोकस गरेको पाएँ । यसरी हेर्दा आजका अधिकांश तन्नेरी कर्ण नै हुन् । यी हरफ लेख्न बस्नुअघि फेसबुक र ट्विटरमा भाइरल भएको एउटा फोटो सम्झेको छु, त्यहाँ छापामारको छोरो र नेताहरूका छोरा नातिका तस्बिर दाँजिएका छन् । ऊ महाभारत र यो वर्तमानको महाभारत उस्तै उस्तै लाग्छ । अझ मलाई त कति राम्रा कर्णहरू सङ्खुवासभाको स्कुल पढ्दाका मेरा साथी हुन् कि जस्तो लाग्छ । 

केही साथीहरूसँगको अन्तर सङ्गतले जनयुद्धलाई नजिकबाट हेरेको हुँदा कर्ण त्यही युद्धको छाँया हो कि जस्तो लाग्छ । जनयुद्ध महाभारतभन्दा के कम थियो र ? धृतराष्ट  र ज्ञानेन्द्रमा के फरक थियो र ? दुवैमा पुत्र मोह र अहङ्कार । दसैँको टीकाको साइत पारेर पारसलाई राजकुमार घोषणा गर्ने ज्ञानेन्द्र र पाण्डवलाई सत्ताबाट बाहिर राख्न खोज्ने धृतराष्ट ।

हिजोको महाभारत टेकेर आजको महाभारत लेखेका छन् डा. लम्सालले जस्तो लाग्यो । उनले पुस्तकको समर्पणमा भनेको हरेक युगका हरेक कर्णप्रति भन्ने वाक्यको अर्थ बोध भयो ।

नवराज लम्साल र कर्ण

नवराज लम्सालप्रति मेरो यस प्रकारको आकर्षणको विशेष कारण छ । म कक्षा ४ मा पढ्थेँ । घरमा पसल थियो र पसलमा रेडियो बजिरहन्थ्यो । मलाई उनको लत लागेको त्यही बेलादेखि हो । त्यहाँ नवराज लम्सालका फरक फरक कार्यक्रम आउँथे । बिहानको धार्मिक कार्यक्रममा बोलेको कुराको त्यति धेरै याद छैन । आमा खुब सुन्नुहुन्थ्यो । यसरी भन्दा मेरी आमाले समेत मन पराएको सञ्चालक डा. लम्साल । मलाई सुरसङ्गम र मधुवनले तानेको हो । तिनताका रेडियो नेपालले निकै धेरै प्रत्यक्ष प्रसारण गर्थ्यो । उनको प्रत्यक्ष प्रसारण कलाको बाहरुले पनि प्रशंसा गरेको सुन्थेँ ।

सुर सङ्गमको प्रेमिल कथाकै प्रभाव होला उषा र मेरो प्रेम बिहेको यो सुन्दर आँट । प्रेमप्रतिको गहिरो समर्पण मभित्र उनकै स्वरबाट र सुर सङ्गमबाटै बढेझैँ लाग्छ । आज त त्यो प्रेम आर्षभ र अभिमन्युमा रूपान्तरण भएझैँ लाग्छ । यस्तै सानो उमेरको कर्णलाई कुन्तीले खोलामा कसरी फालिन् होला ? कर्णले व्यक्तिगत जीवनलाई पनि जोडेको छ । 

कुरो अन्तै गएछ । मेरो नाम अर्जुन दाहाल थियो । गाउँमा ४ जना अर्जुन दाहाल थिए । एक फेर नवराज लम्सालको नाम अर्कैसँग मिलेपछि बदमासी गर्ने अर्कै तर त्यो चिनिएकै नवराज पो हो कि भनेर शङ्का परेपछि उनले स्पष्टीकरण दिनुपरेको र दुई नवराज फरक भएको समाचार कान्तिपुर दैनिकमा पढेपछि मलाई नाम फेर्न मन लाग्यो । स्कुलमा सरहरूसँग झगडा गरी गरी अर्जुन दाहालको बिचमा बाबु थपेर अर्जुनबाबु दाहाल बनाएँ । त्यो दिनदेखि नवराज लम्साललाई भेट्ने धोकोको भोक मनमा पालेर वर्षौँ बिताएँ । चर्चित मान्छे अरूलाई बालै नदिने हो कि ? यो पिरलो पनि थियो तर साथी मिलन कोइराला र भरत महर्जनसमेत भएर जब हामी नवराज लम्सालको घरैमा गएर भेट्यौँ । अनि मलाई उनी आफैँ एउटा सुन्दर कविताझैँ लाग्यो ।

रेडियोमा जस्तो बोल्छन् कवितामा त्यस्तै छ र बोलेको र लेखेकै जस्तो व्यवहार पनि । अचम्म लागेको कुरा त मैले नवराज लम्सालको घर भनेको विशेष र भव्य होला भन्ठानेको तर सामान्य घर, सामान्य बसाइ । सामान्य टेबुल सामान्य कार्पेट ओल्छ्याइएको भुईँ । रिनै काढेर भए पनि झकिझकाउ बाँच्ने सेलिब्रेटीहरुको काठमाडौँली भीडमा उनी एउटा अर्कै मान्छेजस्तो लाग्यो । भरतको सङ्गत २५ वर्षदेखि रहेछ, मिलनको २० वर्षदेखि र मेरो पहिलो भेट । ती दुवैले भने दाइको जीवनशैली र व्यवहार २० वर्षअघि जस्तो थियो आज पनि उस्तै छ तर भव्य लाग्यो उनको लाइब्रेरी । 

धरा महाकाव्य पनि देखेथेँ उनको लाइब्रेरीमा तर न त उनले लैजाऊ भने न त मैले लान्छु भनेँ । कर्ण मिलनले दिएकै थियो । फर्केँ ।

तर अर्को अचम्म म एक्सिडेन्टमा परेर घरमै बसेको बेला उनी श्रीमती सङ्गीतासहित मलाई भेट्न र सान्त्वना दिन घरै आए । उनी आउलान् भन्ने कल्पनै थिएन । मैले उपचार गरेका धेरै मान्छेले वास्ता गरेनन् । बिमारी छु भन्दा तँलाई के भयो भनेर सोध्दा पनि नसोधी ल त ल भनेर फोन राख्ने पनि धेरै थिए तर उनी भेट्नै आए । अचम्म लाग्छ । दिल छुन धेरै गर्नुपर्ने पनि रहेनछ । 

नवराज लम्साललाई कर्ण मन पर्नु र कर्णकै विषयमा महाकाव्य लेख्नुको अर्थ बल्ल बुझेँ । लेखकले पात्र छान्दा आफूजस्तै पात्र छान्दो रहेछ । नवराज लम्साल आफैँ कर्ण हुन् । 

कर्ण पढ्दाको अनुभव

म छन्द कविताको त्यति भेउ पाउन्न । कुन छन्द हो जान्दिनँ तर पढ्दा रमाइलो लाग्छ । छन्द भएको ठाउँमा लय हालेर पढ्यो गद्य भएको ठाउँमा बिस्तारै । मलाई त छन्दभन्दा पनि गद्य बेजोड लाग्यो । परशुरामले तँ को होस् भन्दा कर्णले दिएको जवाफ र १२औँ सर्गमा कविले खोला किनारमा पुर्‍याएर कर्णलाई भावुक बनाइदिएको सन्दर्भले आँसु आउँछ ।

कुन्तीले छोरा बगाउने बेला भनेका सन्दर्भ पढ्दा पुरुष कविले कसरी लेख्दा रहेछन् महिलाको कथा ? अचम्म लाग्यो :

च्यापी दूध चुपुक्क चुस्न नदिने आमा म आमा किन
न्यानो काख लुपुक्क सुत्न नदिने आमा म आमा किन
तोड्नै तत्पर प्रेम बन्धन सधैँ आमा म आमा किन
मातृ भाव विशाल मास्न उभिने आमा हुनै सक्तिनँ ।

उनी आफैँ पनि प्रत्यक्ष प्रसारणका खप्पिस प्रसारक भएर होला कर्णमा सञ्जयलाई महाभारतको प्रत्यक्ष प्रसारण गराएका छन् । घाइते कर्णसामु पुगेको अर्जुनलाई उनले दिएको उपदेश र भनेको सन्दर्भ आजका राजनेतालाई भनेझैँ लाग्छ ।

कतै क्लिष्ट लाग्छ । कतै दुर्वोध्य पनि लाग्छ कतै अत्यन्त सरल र सम्प्रेष्य पनि । 

धरासँगको भेट र हस्ताक्षर 

भेट अलि बाक्लेपछि धरा आफैँ आइपुग्यो हस्ताक्षरसहित । कर्ण र धरा दुवैसँगै छन् मसँग । कर्णझैँ गहिरिएर धरा पढेको छैन । एकसरो पढाइले कहाँ काव्यको रस जम्दो रहेछ । देशको बहुलता र त्यो बहुलतामा रमाएको कवि छचल्किएर बगेको छ । आज प्रत्येक जाति जनजाति र भूगोलले पहिचान खोजिरहेको बेला एउटा पहाडीय बाहुनले सबै जाति जनजाति र भूगोलको कथा बुनेर लेखेको कुराले वर्तमान नेपालको मूल राजनीतिक मर्म बोकेको छ । 

पौरस्त्य दर्शनको जगमा जीवनको बहुलता र देशलाई हामीले के दियौँ भन्ने प्रश्न जटिल छ । एउटा बूढी आमा नामको पात्रमार्फत भनिएको सत्य र देशले के दियो शीर्षकको खण्डले खूब झस्काउँछ । यो किताब सबै नेता र राजनीतिकर्मीले पढ्न जरुरी छजस्तो लाग्छ । हरफ हरफमा देश बोलिरहेझैँ लाग्छ । 

सङ्खुवासभा छोएर बग्ने अरुण र तल झापातिरका राजवंशी, गन्गाई, कोचेमेचे, धिमाल र सतार तथा जनकपुरको सन्दर्भ पढ्दा उतै पूर्वकै पाखा घुझेझैँ लाग्छ । धरा मेरै धराको कथा हो ।

अन्त्यमा अग्निको सन्दर्भ

तेस्रो महाकव्य अग्निको सन्दर्भ उठ्यो एक दिन । आरनको कथा सुनेर हैरान भएँ । त्यो कथाको जगमा सामाजिक र सांस्कृतिक विश्लेषण तर त्यो पुस्तकाकार स्वरूप हात परेको छैन । सीमान्तकृत पात्र र तिनको मुद्दालाई महाकाव्यमा जोडेको त्यो कथा पढ्न लालायित छु । 

समयले भेट पनि गराउँदो रहेछ र निकटता पनि दिँदो रहेछ । हिजो मात्रै नाटककार तथा कवि पुरु लम्साल र सङ्गीतकार तथा नाट्यकर्मी सुशील सिंह ठकुरीसँगको भेटमा यिनै विषयमा निकै गम्भीर गफ भए । पुरुले भनेकै झैँ व्याख्या त म नगरुँला र सुशील जीले भनेकै झैँ जनयुद्धसँग सिधै जोड्ने कला त मसँग आएन पनि तर यति लेख्न भने त्यो भेटले प्रेरित गर्‍यो ।

माथि नै भनेँ म आयुर्वेदिक स्वास्थ्यकर्मी हुँ र गीत र कविताको सामान्य पारखी । यी पुस्तकहरू पढेपछि लेख्न थप प्रेरित भएको छु र अरु कविता र गीतहरू लेख्छु पनि होला । 
आज बोध भएको छ लेख्नुअघि पढ्न जरुरी रहेछ र पढेर पनि बुझ्न झन् जरुरी तर पुरुले भनेको एउटा कुराले हिर्काइरहेको छ नवराज लम्सालको लेखाइ जति छ त्यति बुझाइ प्राज्ञिक दुनियाँमा अझै भएको छैन । पुरुजीले भनेकैझैँ उनकै त यो हाल हो भने हाम्रो पुस्ताले धेरै कुरा सोच्न जरुरी छ ।


ताजा खबर