नेपाल सरकार र विश्व बैंकबीच पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो ।

बुधवार अर्थ मन्त्रालयमा एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी तथा नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षर समारोहमा अर्थ सचिव मरासिनीले बैङ्कले दिने वित्तीय सहयोगले नेपाललाई परेको वित्तीय आवश्यकताको परिपूर्ति गर्ने बताउनुभयो । उहाँले विशेष गरी कोभिड–१९ महामारीपछि विद्यालय र स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व बैङ्कले गर्ने वित्तीय सहयोग प्रभावकारी हुने बताउनुभयो । ‘विद्यालय र स्वास्थ्य क्षेत्रमा कोभिड–१९ ले निकै प्रभाव पारेको छ’, उहाँले भन्नुभयो, ‘यी दुई सम्झौता यी क्षेत्रको पुनरुत्थान महत्त्वपूर्ण सिद्ध हुनेछन् ।’

उहाँले स्वास्थ्य क्षेत्रमा बैङ्कले दिने सहयोगले नतिजा सूचकमा आधारित नेपाल स्वास्थ्य क्षेत्रका कार्यक्रम गरी नेपालको दक्ष, प्रभावकारी, पारदर्शी र उत्तरदायी स्वास्थ्य प्रणाली निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै विद्यालय क्षेत्र सुधार कार्यक्रमले सबल मानव पुँजी विकास गर्नका लागि उत्प्रेरकको काम गर्ने बताउनुभयो ।

समारोहमा विश्व बैङ्कका राष्ट्रिय निर्देशक फेरिसले यस किसिमका सहकार्यले नेपालको शिक्षा तथा स्वास्थ्य प्रणालीलाई समावेशी र उत्थानशील बनाउनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबैका लागि स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने र किशोरकिशोरीरूलाई समावेशी शिक्षा प्रदान गर्ने नेपालको लक्ष्य प्राप्त गर्न सहयोग सम्झौताले मद्दत गर्ने बताउनुभयो ।

विश्व बैङ्कले दिने ऋण सहयोगले नेपालको विपन्न वर्गलाई लक्षित गरी छात्रवृत्ति, विज्ञान छात्रवृत्ति दिई शिक्षामा सबैको पहुँचलाई सुनिश्चितता गर्न मद्दत पुग्ने बताइएको छ । यस्तै  बिचमै विद्यालय छाड्नेको सङ्ख्या कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा गरिएको सहयोगले नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रम गरिने बताइएको छ । यसले सार्वजनिक खरिद, वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नता आदि क्षेत्रमा सुधार गर्न सघाउने बताइएको छ ।

यसअघि पनि विश्व बैङ्कले नेपालको शैक्षिक तथा विभिन्न क्षेत्रको सुधारका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्दै आइरहेको छ । –रासस


ताजा खबर