बैङ्क तथा वित्तीय संस्थामा आजदेखि नयाँ नोट साट्न पाइने

नेपालीको महत्त्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैङ्क तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ ।

दशैंमा नयाँ नोटको विशेष महत्त्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । केन्द्रीय बैङ्कको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैङ्कका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

वाणिज्य बैङ्कले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट सटही गर्न सकिने केन्द्रीय बैङ्कको सूचनामा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैङ्कले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैङ्कले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ । नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पालना गर्न अनुरोध गरिएको छ । केन्द्रीय बैङ्कले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैङ्कले रु ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।

नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैङ्कको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैङ्क र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ । –रासस


ताजा खबर