काठमाडौँ उपत्यकामा मात्र थप ५ सय ६४ जनामा सङ्क्रमण पुष्टि
आज देशभर १ हजार ४ सय ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
११ हजार ६७ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार २ सय ५१ जना तथा २ हजार ८ सय ६३ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय २७ जना गरी जम्मा १ हजार ४ सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी काठमाडौँ उपत्यकामा थप ५ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा ३ सय ५५, भक्तपुरमा ५८ र ललितपुरमा १ सय ५१ गरी जम्मा ५ सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
देशभर आज कोरोना सङ्क्रमणबाट १ हजार ६ सय ३० जना मुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ७ लाख ५५ हजार ६ सय ३० जना निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९५ दशमलव ९ प्रतिशत रहेको छ ।
आज कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको प्रवक्ता डा. पौडेलले बताउनुभयो ।
देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा २१ हजार १ सय ३९ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।
जसमा ३ सय ३४ जनाले आइसियु र १ सय १९ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।