‘खाली बस्न सक्दिनँ, त्यही भएर पढ्ने गर्छु’

~नाट्यकर्मी सुनील पोखरेल

राजकमल पब्लिकेसनद्वारा प्रकाशित भारतीय लेखक ‘फणीश्वरनाथ रेणु’को ‘नेपाली क्रान्ति कथा’ नाट्यकर्मी सुनील पोखरेलको निजी लाइब्रेरीमा सुरक्षित छ । तर, उनलाई याद छैन, कहाँ भेटेर ल्याएका थिए । उनी भन्छन्, ‘यो किताब तीन–चारवटै किनेर ल्याउनुपर्ने रहेछ । तर, एउटा मात्र छ ।’

००७ सालको क्रान्तिसँग सम्बन्धित यो पुस्तकका लेखक रेणु भारतीय भए पनि नेपाली क्रान्तिमा सरिक भएका थिए । रेणुबारे बिपी कोइरालाले अबिच्युरी लेखेका छन् । अबिच्युरीका अनुसार सन् ०३७ तिर बिपी श्रीमती सुशीलासँग विराटनगर जाँदै थिए । झरी परिरहेको थियो । बिपीले लेखेका छन्, ‘एउटा स्टेसनमा जब गाडी रोकियो, मैले एकजना किशोर हाम्रो डब्बाबाहिर डन्डी समातेर उभिइरहेको देखेँ । रेल छुकछुक गर्दै दौडिन थाल्यो । रेणु मुसलधारे वर्षामा निथ्रुक्क भिजेर डन्डीको भरमा उभिइरहेका थिए ।’ सेकेन्ड क्लासको डब्बामा बिपी र सुशीला मात्र थिए । सुशीलाले डब्बाको ढोका खोलिदिइन् । रेणु भित्र छिरेर एउटा सिटको छेउमा कक्रक्क परेर बसे ।

यसपछि बिपीहरूसँगै रेणु विराटनगर आए । हिन्दी भाषाका कथाकार रेणुले प्रारम्भिक शिक्षा विराटनगरमै लिए । ००७ सालको क्रान्तिमा रेणुले काँधमा काँध मिलाएको बिपीले लेखेका छन् । कांग्रेसले सुरु गरेका सशस्त्र क्रान्तिमा रेणुले मुक्ति सेना भएर बन्दुक बोकेको घटना बिपीले लेखेका छन् । उनले लेखेका छन्, ‘क्रान्तिको समयमा उसले नेपाली कांग्रेसको प्रचार–प्रसार तथा विराटनगरमा स्थापित एक ‘गैरकानुनी’ आकाशवाणीको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो ।’ अहिले पनि वेलावेला रेणुले लेखेको किताब पढ्छन्, पोखरेल । तर, आफूले कहाँ भेटेर किनेको हो भन्नेचाहिँ उनलाई याद छैन । दिल्लीतिर जाँदा किनेको हो कि लाग्छ, उनलाई । 

नाट्यकर्मी पोखरेलको किताब पढ्ने बानी अजीवको रहेछ । पढ्दै–पढ्दै गयो । कतिपय किताब नतान्ने खालका हुन्छन् । त्यस्ता किताबले नतानेपछि पोखरेल छड्के गरेर प्रत्येक लाइनको एक शब्द मात्र पढ्दा रहेछन् । जहाँबाट तान्छ, त्यहाँबाट पढ्न सुरु गर्दारहेछन् । भन्छन्, ‘यसरी पढ्न मलाई अभि सुवेदीले सिकाएको हो ।’ तर, किताब पढिभ्याउन पोखरेललाई समय लाग्दैन । दुई सय ५० पेजजतिका किताब चाँडै पढिभ्याउँछन् । एक–डेढ घन्टाको बसाइमै त्यस्ता किताब पढिसक्छन् । किताब गतिलो छैन भने छड्के गरेर पढ्छन् । तर, अंग्रेजी भने नेपाली र हिन्दीजस्तो चाँडो पढिभ्याउन सक्दैनन् । लाइब्रेरीमा पुस्तकहरू टकटकाउँदै पोखरेल भन्छन्, ‘अंग्रेजीचाहिँ अलि समय लाग्छ । नेपाली र हिन्दी पढ्न त समय नै लाग्दैन ।’                                                                   

पोखरेल केटाकेटी हुँदा उनका बुबाले हिन्दी, नेपाली किताबहरू घरमा जम्मा गरेका थिए । त्यस्तै किताबहरू पढेर हुर्किए, पोखरेल । ‘मेरा खेल्ने साथीहरू नै थिएनन्, गाउँ पहाडमा,’ पोखरेल सुनाउँछन् । पोखरेलको घर अलि एकान्तमा थियो । अलि पर दलित बस्ती थियो । त्यहाँ केटाकेटी भए पनि उनीहरूसँग खेल्ने छुट पोखरेललाई थिएन, त्यो वेला । स्कुल जान्थे । घर फिर्थे । तर, घर फिरेपछि के गर्ने ? पोखरेलसँग एउटै विकल्प थियो, किताब पढ्ने । ‘घरमा आएपछि कि फलफूलको बगैँचा डुल्यो, कि किताब पढ्यो । सुरुसुरुमा हिन्दी किताब नबुझी–नबुझी पढ्ने गर्थें म ।’ अलि पछि त आफूलाई किताब पढ्ने लत नै लागेको पोखरेल सुनाउँछन् । बिदाका दिन भैँसी चराउन जान्थे । अलि साना भाइबहिनीलाई केही पैसा दिएर हेर्न लगाउँथे । उनी भने रूखमा बसेर किताब पढ्ने गर्थे ।

पोखरेलको घरमा अहिले ठूलो लाइब्रेरी छ । लाइब्र्रेरीमा नअटेर अन्य ठाउँमा पनि थन्काएका छन्, किताब । पेन्टिङहरू पनि झुन्ड्याउने ठाउँ नभएर राखेका छन् । केही पेन्टिङ घरमा सिँढीका भित्तामा झुन्ड्याएका छन् । किरण मानन्धर, शशीविक्रम थापा, उत्तम नेपालीहरूको पेन्टिङ छन् । उनको आफ्नै पोट्रेट पनि छन् । ‘तर, किनेको चाहिँ होइन । उहाँहरूकहाँ जाँदा उठाएर ल्याउँछु,’ हाँस्दै सुनाउँछन्, पोखरेल । 

दोस्रो तलाको सिँढीको भित्तामा चिनियाँ पेन्टिङ छ । चिनियाँ अक्षर छ । ‘क्यालिग्र्राफी भन्छन् क्यार,’ पोखरेल भन्छन् । त्यो पेन्टिङ नाटक लिएर चीन जाँदा उपहार पाएका रहेछन् । ल्याएर घरको भित्तोमा टाँसिदिए । उनको छिमेकी घरमा बस्ने जापानीहरू केही समय आउँदा भनेका थिए रे, ‘पेन्टिङ उल्टो राख्नुभएछ’ भनेर । 

घरको छतको कोठामा छ, पोखरेलको ‘रिडिङ रुम’ । टिनको छानो भएकाले गर्मीमा निकै तातो हुने गर्छ कोठा । ‘तर, जाडोमा गज्जब छ, यहाँ बसेर पढ्न,’ रेणुको किताब पल्टाउँदै बोल्छन्, उनी । पोखरेलले सबैभन्दा बढी दोहोर्‍याएर पढेको किताब हो, जेके रोलिङको ‘ह्यारी पोर्टर’ । क्रिस्टोफर पाओलिनीको फ्यान्टासी सिरिज ‘एरागोन’ पनि पाँचपटक पढेका छन् । ‘ह्यारी पोर्टर’को त सबै सिरिज (हिन्दी) एघारौँपटक दोहोर्‍याएका छन्, लकडाउनमा । गम्भीर प्रकृतिका किताब पढ्न मन नलागेको वेला पढ्ने गर्छन् फ्यान्टासी । किताब नपढी बस्न नसक्ने बानी भएकाले पनि आफूले किताब दोहोर्‍याउने गरेको उनको भनाइ छ । ‘सधैँ गम्भीर किताब पढ्न मन लाग्दैन । त्यस्तो वेला फ्यान्टासी संसार मज्जा आउँछ,’ पोखरेल सुनाउँछन्, ‘खाली बस्न सक्दिनँ, त्यही भएर पढ्ने गर्छु । कहिलेकाहीँ यो दुनियाँबाट भाग्न मन पर्छ । त्यो भएर पनि फ्यान्टासी दोहोर्‍याएर पढ्छु ।’ 

कतिपय त्यस्ता पुस्तक कहाँकहाँबाट आइपुग्छन्, पोखरेललाई याद पनि हुँदैन । लकडाउनमा उनकी श्रीमती निशा शर्माले गुगलबाट डाउनलोड गरिदिइन् । तिनीहरू सबै पढे । तर, पोखरेललाई कम्प्युटरको स्क्रिनमा भने पढिरहन मन लाग्दैन । ‘किताब पढ्दा त्यसको बास्ना सुँघ्न मन लाग्छ । हातले कागज छुन मन लाग्छ । औँलाले पाना पल्टाउँदा मजा आउँछ,’ पोखरेल विस्तारमा बताउँछन्, ‘मलाई चिठीहरू पनि मन पर्छ । नेपाली टाइप जान्दिनँ । त्यो भएकाले लेखहरू पनि हातले कागजमा लेख्छु, मजा आउँछ ।’

स्विडिस लेखक स्टिग लार्सनको साइकोलोजिकल क्राइम थ्र्रिलर उपन्यास ‘द गर्ल विथ द ड्रागन ट्याटु’, ‘द गर्ल हु प्लेयड विथ फायर’ र ‘द गर्ल हु किक्ड हर्नेटस नेस्ट’ तीन सिरिज नै पढे । यस पुस्तकमा आधारित रहेर डेभिड फिन्चर र फेड अल्भारेजले चलचित्र पनि बनाए । पोखरेलले चलचित्रचाहिँ हेरेका छैनन् । किताब पढिसकेर चलचित्र पनि हेरे जे आरआर टोलकेनको ‘लर्ड अफ द रिङ’ । जर्ज आर मार्टिनको ‘अ सङ अफ आइस एन्ड फायर’ पढ्दै थिए, ‘गेम अफ थ्रोन्स नाममा टेलिभिजन सिरिज आयो । तर, किताब पढिसकेर किताबमाथि बनेको चलचित्र हेर्दा पोखरेललाई चित्त बुझेको भनेको ‘ह्यारी पोर्टर’ नै हो । ‘म प्रायः ननफिक्सन पढ्छु । फिक्सन पनि पढ्छु । कहिलेकाहीँ यो गन्जागोलबाट भाग्न फ्यान्टासीको दुनियाँमा प्रवेश गर्छु,’ फ्यान्टासी पढ्नुको औचित्य खुलाउँदै बोल्छन्, पोखरेल ।


ताजा खबर