सफल नेपाल, सिन्धुली – सिन्धुलीगढीमा मनाईने कार्तिक २४ गतेको विजय उत्सवको मितिका विषयमा पछिल्ला दिनहरुमा केहि विवाद सृजना भएको छ । विजय प्राप्त भएको दिन कार्तिक २४ नभएर असोज १५ भएको र असोज १५ मा विजय उत्सव मनाउनु पर्ने धारणा राख्ने समुह पनि देखिएको छ । तर मितिका हिसावले चर्चा गर्ने हो भने कसैले पनि ठोकुवा गर्न सक्ने तिथि मिति पाईदैन । बरु नेपाली र विदेशी इतिहासकारहरुको भनाई र विभिन्न पुस्तकहरुमा लेखिएका लेखाईहरुमा फरक फरक मतहरु पाईन्छन । तिनै मतहरुका आधारमा अनुमान गरेर कार्तिक महिना एकिन गरि २४ गते मिति कायम गरिएकाले ठोकुवा गर्ने मिति नभएको अवस्थामा त्यस्तो मितिलाई परिवर्तन गर्नु अथवा विवाद निकाल्नु आवश्यक दैखिदैन ।
आधुनिक नेपालको इतिहास भन्ने पुस्तकमा डा. सुरेन्द्र के.सी. १७६७ को अक्टोवरमा २४०० सेना लिएर पटनाबाट काठमाण्डौ तीर हिडे भन्नु हुन्छ । अक्टोवर महिना नेपाली पात्रोमा असोज र कार्तिक महिनामा पर्दछ । अक्टोवरको सुरुमै हिडेको भए असोजको १५–१८ गते पटनाबाट हिडेको कम्पनी फौज कहिले सिन्धुली आइपुग्यो र कहिले युद्ध भयो अनुमान गर्दा पनि कार्तिक महिना नै पुग्छ । त्यस्तै नेपालको राजनीतिक इतिहासमा डा. पिताम्बर लाल यादवले पटनाबाट हिडेको मिति मात्र उल्लेख गर्नुभएको छ जसमा सन् १७६७ को अक्टोवर १७ का दिन क्याप्टेन किनलोक पटनाबाट रमाना भएको उल्लेख छ । यसलाई आधार मान्ने हो भने त कार्तिक २४ को मिति झण्डै मिल्न आउछ अक्टोवर १७ असोज महिनाको अन्तिम दिन कार्तिक महिनाको १ गते तिर पर्दछ । पटनाबाट कम्पनी फौज रणनितिक रुपमा जनकपुर हुदै भिमानको बाटो सिन्धुली आइपुग्न कम्तीमा सात देखि १० दिन लाग्न सक्ने इतिहासकै अध्ययनबाट पुष्टि हुन्छ । यस्तो कुरालाई आधार मान्दा कार्तिक महिना पुष्छि हुन पुग्छ । यस्तै देवी प्रसाद शर्मा कडेलको आधुनिक नेपालको इतिहासमा किनलोकको सैन्यदल मध्य सेप्टेम्बरमा जनकपुर आइपुगको सन्दर्भ उल्लेख छ । यसलाई आधार मान्दा मध्य सेप्टम्बर अर्थात असोज को पहिलो हप्ता जनकपुर आईपुगेको देखिन्छ । यो मितिले असोज १५ लाई इङ्गित गर्दछ । इतिहासका यी सन्दर्भहरुले सिन्धुलीगढीको यूद्घ वि.सं. १८२४ (सन् १७६७) मा भएको हो भन्ने कुरा पुष्टि गरेपनि महिना असोज नै थियो या कार्तिक भन्ने विषयमा अन्यौता सृजना गर्दछ । २०६८ भाद्र ३१ शनिवारको नागरिक दैनिकको साहित्य परिशिष्ठ अक्षरमा लेखक स्व. जगदिश घिमिरेले सिन्धुली गढीको लडाँई वि.स. १८२४ असोज १५ मा नै भएको हो भनेर किटानी गर्नूभएको छ । तर उहाँको भनाईलाई माथिका इतिहासका पुस्तकका लेखाईले मात्र नभएर मकवानी बाला माहाकाब्यका काब्यकार पंडित उमानाथ शास्त्रि सिन्धुलियले आफ्नो महाकाब्यको मकवानी बाला किन ? भन्ने पृष्ठमा लेखिएको ऐतिहासिक अन्धकारमा अल्मलिनु भन्दा आफ्नै देशमा भेट्टिएका सामाग्रीहरुलाई मुख्य मान्नु प¥यो भन्ने भनाई प्रति आस्था राख्दै दुम्जा घर भएका विद्वान पंडित गोविन्द दाहालले लेख्नु भएको तलको सानो कवितांशलाई आधार लिएबाट पनि सिन्धुलीगढीको युद्ध कार्तिक महिनामा नै भएको थियो भनेर पुष्टि हुने आधार देखिन्छ …
घुसे फिरंगी शस्त्रसाथ गढीमा निर्भिक मन साथ थ्यो,
मान्थे कम्पनी स्वयं समर विजयीको अघि आउने थ्यो,
कात्तिकको सीतसाथ गौरी सिरका हावा झन चिसो थ्यो,
अल्लो सिस्नु बारुला अरु किटहरु सब भैँ मै तैनाथि थ्यो,
चिल्यो अचाक्ली तर छैन रिपुहरु किट पतङ्ग छन् मैदानमा,
शास्ती अहिल्यै भइसक्यो कप्तान ज्यू खेपिन्न गोर्खा यहाँ ।
यसरी यो कवितामा सिन्धुलीगढीको युद्धका समय कार्तिक महिनाको गौरीशंकर हिमालको चिसो हावा सँगै अल्लो सिस्नु र बारुला लगायतका किट पतंगहरुले दुःख दिएपछि गोर्खा सँग लड्नु अगाडि नै आजित भएका अंग्रेजहरुको मनोदशा चित्रण गरिएबाट पनि सिन्धुलीगढीको युद्ध कार्तिक महिनामा भएको पुष्टि हुन्छ । इतिहासमा किटानी मिति प्रमाणीत नहुने र फरक फरक विवादास्पद मितिहरु देखापरिरहने सन्र्दभमा सिन्धुली जिल्लाका विशिष्ट व्यक्तिहरुले सम्भब भए सम्मको इतिहास र आदि इत्याधि कुरालाई आधार मानेर सुरु गरिएको कार्तिक २४ गतेको विजय उत्सवको मितिलाई परिवर्तन गर्नु भन्दा इतिहासमा उल्ल्ेख भएका कुराहरुलाई नोटमा राखेर त्यसलाई सिन्धुलीगढीको इतिहासको अंश मानेर सबै तिथि मितिलाई रेकर्ड गर्दै कार्तिक २४ मै विजय उत्सव मनाउनु जति उपयुक्त अरु हुन सक्दैन । असोज १५ सँगै असोज १३ गतेको मिति पनि जोडिएर आइरहेको सन्र्दभ तथा सिन्धुलीगढीमा पराजीत भएपछि अंग्रेज फौज पुन हरिहरपुर गढी आक्रमण प्रयास गति त्यो बाटो नेपाल (काठमाण्डौं) जाने प्रयास गरेको तर त्यहा पनि पराजित भएपछि पुन फर्किएर सिन्धुलीमाढीमा नै बसेको जस्ता इतिहासहरुले पनि सिन्धुलीगढीको युद्ध कहिले सुरु भयो र कहिले सकियो खास विजय प्राप्त गरेको दिन कहिले हो भन्ने विषयमा एकमत पाईदैन । त्यसैले विगत एक दशक देखि जे कुराको सुरुवात भएको त्यो आफैमा एउटा इतिहास हो । २४० वर्ष पछि सिन्धुलीगढीलाई सम्झीएको कार्तिक २४ गते आफैमा एउटा इतिहास र ऐतिहासक दिन हो । यो दिनलाई परिवर्तन गर्नुपर्ने खासै उपयुक्त कारण अहिले नै फेला परेको भनेर असोज १३ वा १५ गते बहस हुनु आफ्नो ठाउँमा छ तर मिति नै परिवर्तन गरिहाल्नु पर्ने विजय उत्सव नै सारीहाल्नु पर्ने ठोस कारण र प्रमाण भने यो होइन ।
सिन्धुलीगढीमा अहिले पुननिर्माण चलिरहेको छ । कमलामाई नगरपालिकाले सिन्धुलीगढीलाई उच्च प्राथमिकता दिएर जिल्लाको मुख्य पर्यटकीय केन्द्र बनाउ प्रयासरत छ । संघिय सरकारले सिन्धुलीगढीमा चासो देखाएको छ । नेपाली सेनाले आफ्नो पुराना एतिहासीक किल्ला संरक्षण र सम्बद्र्धन गर्ने बार्षिक बजेट मध्यको एक वर्षको सम्पूर्ण बजेट सिन्धुलीगढीमा हालेर युद्ध संग्राहलय निर्माण गर्ने तयारी थालेको छ । सिन्धुलीगढीको पुननिर्माण अन्र्तगत ३ नं. प्रदेश सरकारले एतिहासिक रानीदबार पुननिर्माण गर्न बहुबर्षिय योजना मार्फत दरबार पुननिर्माणको प्रक्रिया सुरु गरेको छ । यि र यावत सुधारका कामहरु अगाडि बढेको सन्र्दभमा इतिहासले प्रष्ट बोल्न नसकेको मितिमा विवाद गरेर सिन्धुलीगढीको विकास र पुननिर्माणमा अलमल सृजना गर्नु उपयुक्त हुन सक्दैन ।