बजारमा प्याजको मूल्य एक महिनामै दोब्बर वृद्धि

तिहार नजिकिएसँगै बजारमा प्याजको मूल्यमा दोब्बर वृद्धि भएको छ । प्याजको मूल्य एक महिनामै दोब्बर भएको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार अघिल्लो महिनाको तुलनामा कात्तिकमा प्याजको मूल्य ८५ प्रतिशतले वृद्धि भएको हो ।

कात्तिक १ गते कालिमाटी बजारमा प्याज थोक मूल्य ७५ देखि ७८ रुपियाँ तोकिएको थियो भने असोज १ गते ३९ देखि ४२ रुपियाँ प्रति किलोमा बिक्री भएको प्याज दोस्रो साता ६० रुपियाँसम्म पुगेको थियो ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले प्याजको मूल्यमा वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार असोज दोस्रो सातादेखि प्याजको मूल्य निरन्तर वृद्धि भएको हो ।

भन्सारबाट कम प्याज आयात भएको वा आयात हुन बन्द भएका कारण नेपाली बजारमा प्याजको मूल्यमा वृद्धि भएको होइन । भारतीय बजारमा प्याजको मूल्यमा वृद्धि भएको कारण नेपाली बजारमा पनि प्याजको भाउ उकालो लागेको उहाँले बताउनुभयो ।

‘भारतमा प्याजको मूल्य वृद्धि हुँदा नेपालमा पनि मूल्य वृद्धि हुने र भारतमा मूल्य घट्दा नेपालमा पनि प्याजको मूल्य घट्ने हुन्छ,’ उहाँले भन्नुभयो ।

अघिल्लो महिनाको असोज दोस्रो सातादेखि प्याजको भाउ उकालो लाग्न थालेको उहाँले बताउनुभयो । यद्यपी अहिले ७० देखि ८० रुपियाँको हाराहारीमा प्याज बिक्री भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

भन्सार विभागले भन्सारबाट दैनिक प्याज आयात भइरहेको जनाएको छ । विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले प्याज आयात भइरहेको बताउनुभयो ।

काठमाडौंको मुख्य तरकारी बजार कालिमाटीमा दैनिक ८० देखि १०० टन प्याज भित्रिएको कालिमाटीका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । साथै उहाँले प्याजमा आन्तरिक उत्पादन नभएका कारण पनि प्याजका लागि भारतमा निर्भर हुनुपरेको उहाँले बताउनुभयो ।

‘प्याजमा आन्तरिक उत्पादन खासै छैन । आन्तरिम उत्पादन भएपनि बजारसम्म आइपुग्दैन । आन्तरिक उत्पादन बजारमा आइहाल्यो भने एकदमै कम आउँछ ।,’ सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, ‘आन्तरिक उत्पादित प्याजले बजारको मागलाई धान्न सक्दैन । जसका कारण प्याजका लागि भारतमा निर्भर हुनुपरेको हो ।’

आर्थिक वर्ष ०७७–७८ मा भारतबाट करिब एक लाद २७ हजार मेट्रिक टन प्याज आयात भएको थियो ।


ताजा खबर