काठमाडौँ, कात्तिक २२ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेकका विषयमा पछिल्ला दिनमा देखिएका सीमा विवादबारे परामर्श गर्न शनिबार सर्वपक्षीय बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले कालापानीका विषयमा परामर्श गर्न प्रधानमन्त्री ओलीले बालुवाटारमा शनिबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक बोलाउनुभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सीमा विवादका विषयमा सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको छ । प्रतिपक्षी दलहरुले पनि धारणा ल्याइसकेका छन् । सीमा समस्याको विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा दलहरुसँग छलफल गर्नुहुनेछ ।” उहाँले सीमा समस्यालाई कुटनीतिक ढङ्गले कुरा अगाडि बढाइने समेत बताउनुभयो ।
उहाँले प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत पूर्व परराष्ट्रमन्त्रीहरूसमेत बैठकमा आउनुहुने जानकारी दिनुभयो । कालापानी क्षेत्रलाई समेटेर भारतीय पक्षले राजनीतिक नक्शा सार्वजनिक गरेपछि त्यसबिरुद्ध नेपालमा प्रदर्शन हुँदैआएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य नहुने बताइसकेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति देउवाले बिहीबार काठमाडौँस्थित भारतीय राजदूतलाई फोनमार्फत् कालापानी र लिपुलेक नेपालको भूमि भएको बताउनुभएको थियो । उहाँले मुलुकको साझा मतको प्रतिनिधित्व गरेर कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको थियो ।
रासस