लक्ष्मीप्रसाद उपाध्याय
‘नेपाल सुन्दर देश लाग्यो, त्योभन्दा सुन्दर चितवनको केटो …. जङ्गलमा आमासँग लडिबुडी गरेर खेलेको चित्र मेरो मगजमा मर्ने बेलासम्म चित्रण भइरहनेछ । सायद म पछिल्लोपटक नेपाल आउँदो यो ठूलो भइसक्नेछ र मलाई देख्दा लजाउनेछ ।’
सन् १९९० मा पहिलोपटक नेपाल आएर चितवन राष्ट्रिय निकुञ्ज घुम्नुभएका रूसी नागरिक अलेक्जेन्डर लुइसले तत्कालीन टाइगर टप्समा राखिएको पाहुना रजिष्टरमा नेपालबारे कोरेको छोटो वाक्य हो यो । यो वाक्य गैँडाको बच्चा ‘केटो’ सँग सम्बन्धित थियो । छब्बीसपटक नेपाल भ्रमणको अनुभव बटुल्नुभएको छ, लुइसले । पछिल्लोपटक सन् २०१९ को सुरुमै नेपाल आउनुभएका लुइसले ट्वीटरमा लेख्नुभएको छ, ‘मेरो नेपालसँगको सम्बन्ध गैँडाको बच्चा हो । नेपालमा जसलाई ‘केटो’ भन्दारहेछन् । म जहिले पनि केटो हेर्न नेपाल आउने गरेको छु । मजस्तै नजि(कबाट ‘केटो’ हेर्ने बानी परेकाले नेपाल नै आउनुपर्छ होला ।’
पहिलोपटक सात दिनको छोटो समय लिएर आफ्ना बाआमासँग नेपाल आउनुभएका लुइसले यो अवधिमा गैँडाको केटो हेर्नैका लागि भन्दै आफ्ना साथीभाइ, छोराछोरीलाई समेत घुमाइसक्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘चितवनबाहेक बर्दियामा ‘केटो’ हेर्ने रहर थियो तर मलाई बर्दियाले बाघको ‘डमरु’ देखायो । केटो हेर्ने रहर अझै पूरा भएन ।’
विश्वमै निकै दुर्लभ मानिएको एकसिङ्गे गैँडाको बथान नेपालका जङ्गलमा सहज रूपमा देख्न सकिने भएकाले लुइसजस्तै सयाँै वन्यजन्तुका पारखीहरू हरेक वर्ष नेपाल आउने गर्छन् । लुइसजस्तै विगत ३० वर्षदेखि नेपालको चितवन र बर्दिया भ्रमण गर्दै आउनुभएका बेलायती नागरिक बोर्नाटको नेपालप्रतिको अनुभव पनि उस्तै छ । वन्यजन्तुसम्बन्धी औपचारिक शिक्षा नलिएका बोर्नाटले नेपालकै वन्यजन्तुबारे दुई दर्जन लेख प्रकाशित गरिसक्नुभएको छ । जसमा चितवन र बर्दियाका बाघ र गैँडा, कोसी टप्पुको जलपक्षीबारे रमाइला हरफ लिपिबद्ध छन् । यी हरफ लि(िपबद्ध गर्दा बोर्नाटले नेपाललाई ‘वन्यजन्तुको संसार’ भनेर उपमा दिनुभएको छ ।
वन्यजन्तुमा आधारित पर्यटकीय गन्तव्यमा विश्वकै एक उत्कृष्ट स्थानका रूपमा चितवन पर्छ । विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडा देख्न सकिने ठाउँको रूपमा चितवनको विदेशसम्म प्रचार हुनु सकारात्मक कुरो हो । चितवनमा विदेशी आउन थालेको त छ दशकभन्दा बढी भइसक्यो । फाट्टफुट्ट रूपमा आन्तरिक पर्यटकको प्रवेश हुने चितवनमा पछिल्ला दिनमा दार्चुलादेखि ताप्लेजुङसम्मका नेपालीले वर्षको एक पटक घुम्न जाने ठाउँको सूचीमा राख्न थालेका छन् । चितवनको कसराको लामीताल होस् वा सौराहाको राप्तीपारि तर्नेबित्तिकै गैँडा विचरणको दर्जनौँ दृश्य सहजै देख्न सकिने भएकाले स्वदेशी र विदेशी दुवै पर्यटकको घुम्ने स्थानको सूचीमा चितवन पर्न सकेको हो । नयाँ वर्ष होस् वा छुट्टी मनाउने क्रम बढेसँगै आन्तरिक पर्यटकले पनि चितवनका होटेल, रेष्टुरेन्ट भरिभराउ हुन थालेका छन् । यसको पछाडिको कारण एउटै हो, होटेल छोडेर राप्तीपारिको जङ्गल पस्नेबित्तिकै गैँडाको केटो खेल्दै गरेको सहजै देख्न सकिन्छ । सौराहालगायतका चितवनका विभिन्न स्थानमा अर्बौं रुपियाँको लगानीमा होटेल तथा रेष्टुरेन्ट सञ्चालनमा आएका छन् । विदेशी पयर्टक आउने त निश्चित मौसम हुन्छ । पचासको दशकमा विदेशी पर्यटक आउने मौसममा मात्र होटेल सञ्चालन हुने गर्थे भने अहिले आएर बाहै्रमास यहाँका होटेल व्यस्तसँग सञ्चालन हुने गरेका छन् । चितवनको गैँडा दृश्यावलोकनले स्वदेशी तथा विदेशी पर्यटकलाई तान्न सकेको सहजै अनुमान लगाउन सकिन्छ ।
नेपालमा एकसिङ्गे गैँडा
राणाविरोधी आन्दोलनमा होमिएका दलका नेता तथा कार्यकर्ताहरू नेपाल–भारत ओहोरदोहोर गर्दा चितवनको बाक्लो जङ्गल भएर जान सक्दैनथे । बाघ, हात्ती र गैँडाको सन्त्रास हुन्थ्यो । २००७ सालतिर गैँडाको सङ्ख्या चितवन र आसपासका जङ्गलमा एक हजारभन्दा बढी थियो । पछि बीसको दशकसम्म आइपुग्दा त गैँडाको सङ्ख्या घटेर सय पुग्यो । चितवनमा चौतर्फी बसाइ–सराइ गर्नेक्रम बढ्दै गएपछि वन्यजन्तुको बासस्थान पनि नासियो । एकसिङ्गे गैँडा बिस्तारै कम देखिन थालेपछि गैँडा संरक्षरणको प्रमुख उद्देश्य राखेर चितवनलाई संरक्षणको मूलप्रवाहमा ल्याइएको हो । वन तथा वन्यजन्तुको संरक्षणको इतिहास हेर्दा तीसको दशकमा चितवनलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर नेपालले औपचारिक कदम उठाएको हो । फलस्वरूप विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैँडा चितवनको सानो भूगोलभित्रको प्रत्येक घाँसेमैदान र सीमसार क्षेत्रमा देख्न सकिन्छ ।
सन् २०१५ को गैँडा गणनाले ६०५ वटा गैँडा चितवनमा भेटिएका छन् । बर्दियामा २९, शुक्लाफाँटामा आठ र चितवनसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा रहेका छन् । कुल ६४५ सङ्ख्यामा रहेका गैँडाको सङ्ख्या यसपछिका अवधिमा पनि पक्कै वृद्धि भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको पश्चिमी भेग रमौली प्रतापपुरमा हाल दैनिकजसो छ÷सातवटा गैँडा सहजै देखिनुले पनि चितवन, बर्दिया र शुक्लाफाँटामा यो सङ्ख्या वृद्धि भएको स्पष्ट हुन्छ । बर्दियाको बबई उपत्यकामा चितवनबाट स्थानान्तरण गरिएका गैँडाको सङ्ख्या वृद्धिबारे अझै यकिन हुन सकिएको छैन । हरेक वर्ष हुने गैँडाको बासस्थान अनुगमनमा बासस्थान सुधारमा अझै काम गर्नुपर्ने स्थिति देखिएको विज्ञहरूले बताउँदै आएका छन् ।
एकोहोरो दोहन, लगानी कम
चितवन राष्ट्रिय निकुञ्जभित्र सहजै देख्न सकिने गैँडा, बाघ र हात्तीकै कारण सौराहामा झन्डै २५ अर्ब रुपियाँबराबर होटेल व्यवसायमा लगानी भएको छ । सामान्यखालको होटेल सञ्चालन गर्न पनि कम्तीमा पाँच करोड रुपियाँ लगानी गर्नुपर्ने देखिन्छ । होइन भने विदेशी पर्यटकलाई आकर्षित गर्न नसकिने सौराहाका होटेल व्यवसायीको अनुभव छ । सयौँ होटल, रेष्टुरेन्टले सौराहा, अमलटारी, टाँडी, कसराको आसपासका क्षेत्र भरिन थालेका छन् । निकुञ्जबाहिरको जग्गाको भाउ हेर्दा छोइनसक्नु छ । हात्ती सफारीका लागि प्रयोग हुने एउटा हात्तीको मूल्य कम्तीमा एक करोड रुपियाँ पर्ने गरेको छ । हाल सौराहामा व्यावसायिक रूपमा दर्जनौँ हात्तीको प्रयोग हुँदै आएको छ । जिप सफारी होस् वा हात्ती सफारी होस् । गैँडाको नाकको टिप्पो अगाडि पुगेर सेल्फी खिच्न पाइने अवसर चितवनका जङ्गलले दिइरहेको छ । तिनै गैँडालाई देखाएर होटेल, रेष्टुरेन्टले वार्षिक अर्बाैं रुपियाँको कारोबार गर्छन् । मध्यवर्ती सामुदायिक वनको आम्दानी हेर्ने हो भने कतिपय जिल्लाको बजेटभन्दा बढी देखिन्छ । वन्यजन्तु देखाएर अर्बाैंको लगानी अनि करोडौँको नाफा आर्जन गर्ने होटेल व्यवसायले आफ्नो व्यावसायिक दायित्व पूरा गर्ने इच्छा
कहिल्यै देखाएको भेटिँदैन । बरु गैँडाको बस्ने घोलभित्रै पर्यटकलाई बसाल्न पाए हुन्थ्यो भन्ने माग राखेको सुन्न सकिन्छ ।
घाँसेमैदान र सिमसार क्षेत्र गैँडाका बासस्थानका लागि पहिलो पूर्वाधार हुन् । निकुञ्जभित्र बनमारा झारले दिन दुगुना रात चौगुनाका दरले अतिक्रमण गरिरहेको अवस्थालाई सुधार गर्न सरकारले पनि आफ्नो आन्तरिक स्रोतबाट पर्याप्त बजेट विनियोजन गर्न सकेको छैन । जहिले पनि संरक्षणका लागि साझेदार संस्थाको भर पर्नुपर्ने अवस्थाबाट कहिले मुक्ति पाइला भन्ने चिन्तामा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग रहेको देखिन्छ ।
घाँसेमैदान र पानी
एकसिङ्गे गैँडा पाइने तराईका राष्ट्रिय निकुञ्जमध्ये सबैभन्दा बढी घाँसेमैदान चितवनमा छ । चितवनमा नौ हजार हेक्टर, शुक्लाफाँटामा ८ हजार ६०० हेक्टर, बर्दियामा ६३५ हेक्टर, पर्सामा ५०० हेक्टर, बाँकेमा १९० हेक्टर घाँसेमैदान छन् । पर्सा राष्ट्रिय निकुञ्जमा हाल रहेको गैँडाको तुलनामा घाँसेमैदान पर्याप्त मान्न त सकिन्छ तर निकुञ्जको अधिकांश भाग सुख्खा भएकाले पानीको स्रोतको व्यवस्थापन गर्नु मुख्य चुनौतीका रूपमा रहेको छ । कृत्रिम पोखरी निर्माण गरेर वन्यजन्तुलाई सुख्खायाममा पानीको आपूर्ति गर्ने अभियानले खासै सफलता हासिल गर्न सकेको छैन । पानीको आपूर्ति निरन्तर नहुँदा गैँडा, बाघ, हात्तीलगायत अन्य वन्यजन्तुको संरक्षणमा कठिनाइ देखापरेको छ भने पानी व्यवस्थापन गर्नु सरकारका लागि दिगो चुनौतीका रूपमा खडा भएको छ ।
बासस्थान र विचरणका लागि वन्यजन्तुले नयाँ–नयाँ ठाउँको खोजी गर्ने गर्छन् । दुई दशक पहिलेको गैँडा, बाघको बासस्थान चितवनमा हाल परिवर्तन भइसकेको छ । त्यसैले वन्यजन्तुको दृश्यावलोकनमा सहजता हुने नयाँ ठाउँतर्फ पनि लगानी गर्नु आवश्यक छ । पर्सा राष्ट्रिय निकुञ्जको रमौली, प्रतापपुरमा सहजै रूपमा गैँडाको बथानलाई हेर्न सकिने अवस्थालाई दृष्टिगत गरी चितवनमा देखिएको पर्यटकको घुइँचोलाई रमौली प्रतापपुरतर्फ तान्न सकिनेतर्फ पनि सोच्न जरुरी छ । घाँसेमैदानको अवस्था हेर्दा शुक्लाफाँटा, पर्सा, बर्दिया, बाँकेमा अझै गैँडाको सङ्ख्या बढाउन सकिने स्थिति देखिन्छ । पछिल्लो चरणमा विकास गरिएको बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या निकै उत्साहजनक तरिकाले वृद्धि भएको छ । यहाँ पनि पानीको स्रोतको अभावलाई व्यवस्थित गर्न सक्ने हो भने गैँडा संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज राम्रो बासस्थान हुन सक्ने देखिएको छ । त्यसका लागि सरकारले विशेष योजनासहित बाँकेमा लगानी गर्न जरुरी देखिएको छ ।
पानीको स्रोत र घाँसेमैदान प्रशस्त भएको शुक्लाफाँटा सरकार र संरक्षण साझेदार संस्थाको उपेक्षामा रहँदै आएको छ । भारतको नयाँ दिल्ली, लखनउबाट नजिक रहेको यो निकुञ्जमा गैँडाको सङ्ख्या वृद्धि गरी भारतीय पर्यटकलाई मात्र आकर्षित गर्न सके पश्चिम नेपालको पर्यटन विकासमा थप टेवा पुग्नेतर्फ सोच्न जरुरी छ ।
चुनौती र अवसर
नेपाल विश्वका त्यस्तो मुलुक हो, जहाँ जङ्गलभित्र गएको एक घन्टाभित्रै एकसिङ्गे गैँडाको आमा र बच्चा (केटो) सजिलैसँग देख्न सकिन्छ । अझै भन्नुपर्दा कहिलेकाहीँ त होटेलको बार्दलीमा बसेर सौराहाका सडकमा गैँडाले ‘क्याटवाक’ गरेको पनि देख्ने सौभाग्य मिल्ने गरेको छ । हरेक वर्ष सौराहाका सडकमा गैँडा आएको घटना सार्वजनिक हुने गरेको छ । घरपालुवा जनावरजस्तै होटेलका बार्दलीबाट विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैँडा देख्न पाउने अवसर वन्यजन्तु हेर्न आउने पर्यटकलाई नेपालले दिन सक्नु पर्यटन विकासका लागि नेपालको ठूलो अवसरका रूपमा लिन सकिन्छ ।
यद्यपि, वन्यजन्तु किन जङ्गलबाहिर आइरहेका छन् ? यो अहम् प्रश्नको समाधान गर्न नसक्नु ठूलो चुनौतीका रूपमा देखिएको छ । जङ्गलभित्र उचित पानी, आहारको व्यवस्था भए वन्यजन्तु कहिल्यै पनि बस्ती पस्ने कुरो हुँदैन ।
रासस