नेपाली महिला राष्ट्रिय क्रिकेट टोली आज कतारसँग खेल्ने

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले २३ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ। आइसिसी वुमन्स टि२० एसिया छनोटको तयारीस्वरुप नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन टि२० आई सिरिज खेल्न लागेको हो ।

पहिलो खेल मंगलबार दोहामा वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा हुने छ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक टि२० सिरिज खेल्न लागेको हो । अर्कोतर्फ महिला टोलीले २३ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्ने छ ।

पछिल्लो पटक नेपाली महिला क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ७ डिसेम्बरमा पोखरामा खेलेको थियो । त्यसपछि नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय खेल भने खेलेका छैन । कोरोना महामारी र नेपाल क्रिकेट संघ (क्यान) को सुस्तताको कारण झण्डै दुई वर्षदेखि महिला क्रिकेट टोली अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल बिहीन बनेको थियो ।

पछिल्लो समय दुई घरेलु प्रतियोगिता भने भएका छन् । गत पुषमा दाङको लमहीमा भएको प्रधानमन्त्री महिला टि२० राष्ट्रिय प्रतियोगिता र चैतमा ललितपुर वुमन्स टि२० च्याम्पियन्ससिप भएको थियो । नेपाली टोलीले कार्तिक ३०, मंसिर १ र २ गते (नोभेम्बर १६, १७ र १८) मा कतारसँग तीन टि२० आई सिरिज खेल्नेछ ।

त्यसपछि नेपाली टोली मंसिर ३ मा युएईतर्फ लाग्ने कार्यक्रम छ। टोली अभ्यासको लागि कात्तिक १८ मा बंगलादेश भ्रमण गएको थियो । बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकएसपि) सँग तीन खेलको टि२० सिरिज २–१ ले जितेको थियो । तर कोरोना मापदण्ड पालना गर्न नसक्दा उडान छुटेपछि नेपाली महिला टोली बसमा स्वदेश फर्किएको थियो ।

नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । त्यसको भोली पल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल प्रमुख दाबेदार हो । टि२० विश्वकप एसिया छनोट मंसिर ६ देखि १२ सम्म ९नोभेम्बर २२ देखि २८० सम्म हुनेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगमी वर्ष हुने टि२० ग्लोबल छनोटमा स्थान बनाउने छ ।

नेपाली महिला टोलीमा रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र सङ्गीता राई छन्।


ताजा खबर