काठमाडौं । पछिल्लो समय मुलुकमा बढेको साहसिक पर्यटन विदेशी पर्यटकलाई आकर्षण गर्ने मुख्य माध्यम बन्दै गएको छ । साहसिक पर्यटनको लोकप्रियता विश्वप्रसिद्ध हुँदै गएपछि नेपालमा पनि व्यावसायिक रूपमा सञ्चालन भएको लामो समय भइसकेको छ ।
नेपालको भूगोल अनुसार पदयात्रा, पर्वतारोहण, कठिन ट्रयाकमा साइक्लिङ रेस, क्यानोनिङ, प्याराग्लाइडिङ्ग, अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, हाइरोप्स, जिपफ्लायर्स, जंगल सफारी, स्काई ड्राइभिङ र स्किइड लगायत साहसिक खेल गतिविधिमा पर्यटक आकर्षित हुन थालेका छन् ।
त्यसैगरि जलयात्राको रुपमा नेपालका भोटेकोशी, त्रिशुली, सुनकोशी, तमोर, अरुण, कालीगण्डकी, मस्र्याङदी लगायत विभिन्न नदीहरुमा र्याफ्टिङको मज्जा लिनेको संख्यामा अत्याधिक वृद्धि भइरहेको पर्यटन व्यवसायी बताउँछन् ।
साहसिक खेल व्यावसायिक रुपमा सञ्चालन भएसँगै नेपालमा आन्तरिक पर्यटनको आकर्षण समेत ह्वात्तै बढेको पर्यटन व्यवसायी कर्ण लामा बताउँछन् ।
‘साहसिक पर्यटन तथा खेललाई थप प्रचारप्रसार गर्न सकिएको छैन । साहसिक पर्यटनलाई प्रवद्र्धन गर्न सके विदेशी पर्यटकको गन्तव्य नेपाल बन्ने अवस्था छ,’पर्यटन व्यवसायी लामाले भने,‘नेपाल साहसिक पर्यटकीय सम्भावना भएको मुलुक हो । यसलाई सरकारले भ्रमण वर्षमा प्राथमिकताको साथ प्रवद्र्धन गर्नु पर्छ ।’
लामाका अनुसार साहसिक खेललाई प्रवद्र्धन गर्नका निमित्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको आयोजना गर्नुपर्छ । भौगोलिक बनावटले पनि नेपाललाई विज्ञहरूले साहसिक खेलका लागि उपयुक्त मानेका छन् । नेपालमा रहेका पाँच साहसिक पर्यटन क्षेत्र
पर्वतीय पर्यटन
हिमालको देश, नेपाल । विश्वभरीका पर्यटक नेपालमा हिमाल हेर्न आउँछन् । साथै हिमाल आरोहण गर्ने साहस गर्ने आरोहीहरु सफल पनि हुन्छन् । पछिल्लो समय हिमाल हेर्ने भन्दा पनि हिमाल आरोहण गर्न आउने विदेशी पर्यटकको संख्या बढ्दे गएको छ ।
पर्यटन विभागका पर्वतीय शाखाकी प्रमुख मिरा आचार्यका अनुसार नेपालमा अधिकांश पर्यटक हिमाल हेर्नका लागि आउँछन् ।
विश्वकै अग्लो हिमाल सगरमाथा नेपालमा भएका कारणले पनि विदेशी पर्यटक हिमालको देश भनेर नेपाल घुम्न आउने गरेको आचार्यको भनाइ छ ।
नेपाल सरकारले १९५३ मा सगरमाथा हिमाल आरोहणको लागि खुलागरेसँगै हाल सम्ममा चार सय १४ हिमाल तथा पिकहरु खुला गरिएको छ । ८६ वटा हिमाल तथा पिक भने अझै पनि खुला गरिएको छैन । १९५३ मा हिमाल आरोहण खुला गरेपछि सर एड्मण हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथामा पाईला टेकेका थिए । १९५३ पछि २०१७ सम्म आईपुग्दा नेपाल लगायत बिभिन्न देशका गरी पाँच हजार ३०४ जना पुरुष र ३ सय ५६ जना महिलाले सफल आरोहण गरिसकेका छन् । त्यसयता ६६ वर्षको अवधिमा आठ हजारभन्दा बढी पर्वतारोही शिखरमा पुगिसकेका छन् ।
नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तीवर लामाले नेपाललाई चिनाउने साहसिक पर्यटन भनेको पर्वतीय पर्यटन भएको बताउँछन् । ‘पर्वतीय पर्यटन भनेको साहसिक खेल हो । हिउँमाथि जीत्न चाहने र आफूलाई साहस देखाउने पर्यटकका लागि नेपाल पहिलो गन्तव्य हो,’ उनले भने ।
हिमाल आरोहण गर्न सजिलो छैन । यसका लागि विभिन्न तहको तालिम लिँदै स्वास्थ्यले साथ दिए हिमालमा किर्तिमानी राख्न सकिने एनएमएले जनाएको छ ।
प्याराग्लाइडिङ
प्याराग्लाइडिका लागि खासगरी पोखरालाई प्रमुख गन्तव्यको रुपमा मानिन्छ । पोखराको साराङकोटबाट प्याराग्लाइडिङ सुरु भएको हो ।
एक हजार ५०२ मिटर उचाईमा रहेको कास्कीको सराङकोटबाट प्याराग्लाइडिङ गरेर फेवाताल किनार खपौदीमा अवरतण गर्ने गरिएको छ ।
नेपालमा व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान सञ्चालन हुँदै आए पनि मागअनुसार उडानका लागि पाइलट अभाव रहेको प्याराग्लाइडिङ व्यवसायी बताउँछन् ।
स्थानीयलाई पाइलट ट्रेनिङ दिन सके कम लागतमा प्याराग्लाइडिङ गर्न सकिने एडभेन्चर प्रालिका सञ्चालक मनोज बस्नेत बताउँछन् । प्याराग्लाइडिङ खेलको स्थायित्व र यसको व्यावसायिक संरक्षणका लागि स्थानीय सरकारबाट नीतिगत रूपमा सहयोग हुनुपर्ने उनको भनाइ छ ।
प्याराग्लाइडिङबाट सुन्दर दृश्य, तराईका फाँट र उत्तरी क्षेत्रका हिमशृंखला समेत हेर्न सकिन्छ । प्याराग्लाइडिङका लागि असोज, कात्तिक, मंसिर, वैशाख र जेठ महिना उपयुक्त समय हो । पोखरा, स्याङजा, धरान, लतिपुर, काठमाडौं लगाएतको क्षेत्रमा प्याराग्लाइडिङ हुँदै आएको छ । सामान्यतया एक हजार मिटरमाथि उडान हुँदै आएको छ ।
क्यानोनिङ (छाँगाअवरोहण)
नेपालमा रहेका प्रशस्त प्राकृतिक छाँगा-छहरालाई सामान्य खर्चमा पर्यटकीय खेलको रुपमा विकास गर्न सकिन्छ । कहाली लाग्ने चट्टानी छहरोमा डोरीको माध्यमबाट तल झरिने खेल क्यानोइङ (छाँगाअवरोहण) लाई साहसिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ ।
पछिल्लो समय क्यानोनिङ खेल खेल्ने स्थान विश्वकै सबैभन्दा सर्वाधिक उचाइमा रहेको मनाङको पाँचहजार २१५ मिटर उचाईको नारफुको झरना जस्ता अन्य स्थानहरु खोज्न सकिन्छ ।
यसैको पनि थप प्रचारप्रसार गर्न सकिन्छ । क्यानोनिङ नेपालका अध्यक्ष राजेन्द्र लामाका अनुसार व्यावसायिक रुपमा विकसित हुँदै क्यानोनिङमा सरकारले प्रवद्र्धन गर्न नसकेको बताउँछन् । उनका अनुसार मस्र्याङदी, मनाङ, लमजुङ, नुवाकोट र काठमाडौं आसपासमा क्यानोनिङ गर्ने छाँगाहरु रहेका छन् ।
बन्जी जम्प
विश्वमा नै प्रसिद्ध बन्जी जम्प नेपालको भोटेकोशी मा सञ्चालित छ । भोटेकोशीको बन्जी विश्वमा नै प्रसिद्ध छ । बन्जी जम्प निकै साहसिक खेल हो । सिन्धुपाल्चोकको बाह्रबीसेमा पर्दछ, भोटेकोशी । द लास्ट रिसोर्टले उक्त साहसिक बन्जी सञ्चालन गर्दै आइरहेको छ ।
रिसोर्टले नेपालमा पहिलो पटक २०५८ सालमा भोटेकोशीमाथि झोलुङ्गे पुल हालेको थियो । यही पुलबाट करिब एक सय ६० मिटर तलको खोंचमा छलाङ मार्न सकिन्छ । यो विश्वकै उत्कृष्ट एवं अग्लो बन्जी जम्पमध्येमा पर्छ। यहाँ स्वदेशी तथा विदेशी पर्यटक बन्जीका लागि पुग्ने गरेका छन् ।
बन्जी जम्प गर्नका लागि इच्छा मात्र भएर हुँदैन । शारीरिक अवस्था पनि राम्रो हुनुपर्छ । मानसिक एवं शारीरिक परीक्षणपछि नै बन्जी जम्प गर्न सकिने गाइड मनोज श्रेष्ठ बताउँछन् ।
र्याफ्टिङको चाप
साहसिक खेलमा रुचि राख्ने विदेशी पर्यटकका लागि नेपालमा पर्वतारोहणपछिको मुख्य रोजाइ र्याफ्टिङ रहने गरेको छ । जलयात्राको रुपमा नेपालका भोटेकोशी, त्रिशुली, सुनकोशी, तमोर, अरुण, कालिगण्डकी, मस्र्याङदी लगायत विभिन्न नदीहरुमा र्याफ्टीङको मज्जा लिन सकिने नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिस् (नारा) का अध्यक्ष गंगा नेपाल बताउँछन् ।
विदेशी मुद्रा आर्जन गर्ने पर्यटनको महत्वपूर्ण माध्यम र्याफ्टिङप्रति आन्तरिक पर्यटकमा पनि आकर्षण बढेको पाइए पनि सरकारले यसको प्रवद्र्धन गर्न नसकेको अध्यक्ष नेपालको गुनासो छ ।
विदेशीका लागि निकै खर्चिलो मानिएता पनि नेपालको पर्यटकीय क्षेत्रमा खुलेको र्याफटिङ कम्पनीले सञ्चालन गर्दै आएको जलयात्रा आन्तरिक पर्यटकले सहजै व्यहोर्न सक्ने सामान्य शुल्क कायम गरिएको छ । त्यसैले पनि र्याफ्टिङ गर्नेको संख्या बढ्दो क्रममा रहेको नाराले जनाएको छ । साहसिक जलयात्रा गर्ने भन्नेबित्तिकै जोकसैलाई रोमाञ्चक अनुभूति हुन्छ ।
नाराका अध्यक्ष नेपालका अनुसार नेपालमा जलयात्रा सम्बन्धी ८० वटा कम्पनी छ । जलयात्रा मार्फत १० हजार जनाले रोजगारी पाइरहेक छन् । सरकारले भ्रमण वर्षमा भने जलयात्राको प्रवद्र्धन गर्न नसकेको नेपालले बताए ।
राष्ट्रिय खेलकुद परिषदको विशेष जोड
राष्ट्रिय खेलकूद परिषदले पनि साहसिक र पर्वतीय खेलकुदमा अहिले विशेष जोड दिइरहेको देखिन्छ । त्यसैले नेपालमा आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनको लागि खेल पर्यटन सशक्त माध्यम हुन सक्छ ।
विश्वका कतिपय देशले खेलकुद पर्यटनको माध्यमबाट अर्थतन्त्र सुधारको बाटो अपनाइरहेको अवस्था छ । नेपाल पर्यटन विभागका अनुसार नेपाल आउने कुल पर्यटकको करिब ४० प्रतिशतले साहसिक खेलकुदको मनोरञ्जन लिने गरेको छ ।
साहसिक पर्यटकीय खेलको विकासका लागि दक्ष जनशक्ति उत्पादन गरी पर्यटन प्रवद्र्धन गर्ने अवसरलाई चुकाउँदा देशले सजिलै प्राप्त गर्ने विदेशी मुद्रा गुमिरहेको छ । नेपाललाई साहसिक खेल पर्यटन प्रवद्र्धनको प्रमुख गन्तव्यस्थलका रुपमा परिचित गराउन र यस क्षेत्रमा जनशक्ति उत्पादन तथा भौतिक पूर्वाधार विकास आवश्यक छ ।
नीतिगत स्पष्ट निर्देर्शीका अभाव
साहसिक पर्यटनमा नीतिगत व्यवस्था स्पष्ट छैन । यसको छुटै निर्देशिका बन्नु पर्छ । कम्पनीको रुपमा दर्ता गरेर सञ्चालन गर्न पनि विभिन्न कठिनाइ रहेको पर्यटन विज्ञ कर्ण लामाको भनाइ छ ।
आरोहीका लागि बिमाको व्यवस्था भए पनि क्यानोनिङ, प्याराग्लाइडिङ, बन्जीमा समस्या भएको लामाले बताए । ‘सरकारले स्पष्ट नीतिगत व्यवस्था नगरेसम्म साहिसक पर्यटनको विषयमा सम्बोधन हुन नसक्दैन,‘ लामाले भने,‘सरकारले तत्काल कार्य निर्देर्शिका बनाउनु पर्छ । यसपछि मात्रै साहसिक पर्यटनले नयाँ आयाम लिन सक्छ ।’
अन्तमा: विश्वको कतिपय मुलुकमा कृत्रिम सुन्दरताले समेत पर्यटकलाई आकर्षित गरिरहेको बेला प्राकृतिक रुपमै रमणीय र साहसिक पर्यटकीय क्षेत्र रहेको नेपालमा हामीले पर्यटकलाई आकर्षण गर्न सकिरहेका छैनौं । धार्मिक, सामाजिक, सांस्कृतिक एवम् हिमाल आरोहण बाहेक पनि विभिन्न पर्यटकीय खेलमार्फत आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई मनोरञ्जन दिन सकिन्छ ।
विशेष गरि नेपालमा पर्यटन खेल भन्नाले विभिन्न प्रकारका साहसिक खेलहरुलाई लिने गरिन्छ । स्थानीय स्तरमा खेल्नमिल्ने तथा कम खर्चमा रमाउन सक्ने खेलहरुलाई पर्यटनसँग जोड्न सकिन्छ ।
पदयात्रा, पर्वतारोहण, कठिन ट्रयाकमा साइक्लिङ रेस, क्यानोनिङ, हवाई खेलकुदका गतिविधि (प्याराग्लाइडिङ्ग, अल्ट्रालाइट, बञ्जीजम्प, रक क्लाइम्बिङ, हाइरोप्स, जिपफ्लायर्स, जंगल सफारी, स्काई ड्राइभिङ, स्किइड, हली स्की, बिचभलिबल) लगायत साहसिक खेल गतिविधिमा पर्यटक आकर्षित हुन थालेका छन् ।
साहसिक पर्यटन प्रारम्भ भएको १५ वर्षपछि सरकारी स्तरबाट पहिलोपटक इजाजतको व्यवस्था गरिएको छ । बन्जीजम्प, साहसिक हवाई खेल, र्याफ्फ्टीङ लगायत पर्यटन क्षेत्रमा लगानी थपिने क्रम बढेको छ ।
प्याराग्लाडिङ, अल्ट्रालाइट, जिप फ्लायरमा लगानी र कम्पनी थपिदैंछ । नेपालका साहसिक खेलमा पर्यटकीय गन्तव्य विदेशी पर्यटकका लागि मात्रै नभई आन्तरिक पर्यटकले पनि चासो राख्न थालेका छन् । हिमाली जिल्लाहरुमा हाइ अल्टिच्युड रेस आयोजना नियमित हुने गरेको छ । जहाँ सयौं प्रतियोगी सहभागी रहने गर्दछन् । तर त्यो पर्याप्त छैन । विश्वव्यापी रुपमा जति चर्चा भएर पर्यटकको ध्यानाकर्षण हुनुपर्थ्यो, त्यो हुन सकेको छैन ।
पर्यटनमा निजी क्षेत्रको योगदानको क्षमता अभिवृद्धि, साहसिक तथा खेल पर्यटनसहित अन्य पर्यटकीय गतिविधिलाई स्थापित गराउने, पर्यटन विकास तथा पुर्वाधार निर्माणसहितको दीर्घकालीन योजना कार्यान्वयन गर्ने, पर्यटन विकासको लागि निर्माण गरिएको नीतिलाई समय अनुकुल बनाई त्यसको कार्यान्वयन गर्न जरुरी छ ।
रासस