‘नेपाली फुटबलमै केही गरेर मर्न मन छ’: उपेन्द्रमान सिंह

उपेन्द्रमान सिंह नामै काफी छ । यदि नेपाली फुटबलमा उपेन्द्रमानको नाम छाडियो भने फुटबल नै अपुरो हुन्छ। काठमाडौँ लगनका ठिटोको फुटबलसँगको साइनो बाल्यकालबाटै गाँसियो। जुनियरदेखि सिनियर समूहमा लामो समय उहाँले गोलरक्षकको रुपमा नेपालको पोस्ट् सम्हाल्नुभयो । सन् १९९० को दशक नेपाली फुटबलमा उपेन्द्रको एकछत्र राज चल्यो ।

खेलाडीको रुपमा राष्ट्रिय टोलीका पूर्वकप्तान, प्रशिक्षक, व्यवस्थापक, क्लब सञ्चालक, तल्लो तहबाट फुटबल अभियान्ता, नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्ष उपेन्द्रको परिचय हो ।

उहाँ नेपाली फुटबलले पाएको नम्बर एक गोलरक्षक । ४८ वर्ष पार गर्न लग्नुभएका उपेन्द्रको फुटबलमा लगाव अहिले पनि रत्तीभर घटेको छैन । प्रवेशिका परीक्षा (एसएलसी) मा ७३ प्रतिशत ल्याएपछि परिवारको साइन्स पढाउने योजना थियो । त्यसलाई उहाँले इन्कार गर्न सक्नुभएन । तर, उहाँलाई इन्जिनियर बन्ने रहर थियो । साइन्ससँगै इन्जिनियरिङमा पनि आईई गर्नुभयो । उहाँलाई इन्जिनियरले भन्दा बढी मोहनी फुटबलले लगायो ।

‘तीन चार कक्षामा पढ्दा देखिनै फुटबल खेल्न थालेँ । साँगाको प्रहरी स्कुल पढ्न पाएकोले खेलकुदको सबै सुविधा थियो । म जिमन्यास्टिकको पनि राम्रो खेलाडी थिएँ । विस्तारै जिमन्यास्टिक छोडेर फुटबल रोजे । जिमन्यास्टिक खेलेको हुनाले ज्यान चलायमान थियो । गोल पोस्ट्मा यता उता गर्न त्यसैले सजिलो बनायो । मलाई कुद्न अल्छी लाग्ने । त्यसैले पनि किपर (गोलरक्षक) बन्ने निर्णय गरेको हुँ,’ उपेन्द्र भन्नुहुन्छ ।

उपेन्द्रलाई परिवारका सदस्यले धेरै पटक अब फुटबल पुग्यो, छाडेर व्यापार गर पनि भनियो । तर त्यसलाई उहाँले इन्कार गर्नुभयो । फुटबलमै नाम, दाम र इज्जत पाएँ । यसलाई चटक्कै कहाँ छाड्छु त,’ दशरथ रंगशालामा भेटिनुभएका उपेन्द्रले हाँस्दै भन्नुभयो ।

भक्तपुर ठिमीमा बस्दै आउनुभएका सिंहले १५ वर्ष सिनियर राष्ट्रिय टोलीबाट खेल्नुभयो । सिनियर टोलीमा डेब्यु गरेको दुई वर्षपछि सन् १९९३ मा ढाकामा आयोजित छैटौँ साफमा नेपालले एकमात्र स्वर्ण पदक फुटबलमा जित्दा उहाँको नायकी भूमिका रह्यो ।

भारतविरुद्धको फाइनल खेल टाइब्रेकरसम्म पुग्दा उहाँको जादुमय प्रदर्शनले नेपाललाई एक मात्र स्वर्ण दिलाएको थियो । त्यही क्षणलाई उपेन्द्रले आफ्नो जीवनको रमाइलो र सम्झन योग्य क्षणको रुपमा सजाउनुभएको छ ।

उहाँले ६ वर्ष भारत, बंगलादेश र थाइल्यान्डको क्लबबाट व्यावसायिक फुटबल पनि खेल्नुभयो । भारतीय क्लबलाई उहाँले पहिलो श्रेणीको घरेलु लिग च्याम्पियन नै बनाउनुभएको थियो । नेपालमा पनि उहाँले आरएनएसी, मनाङ, थ्रीस्टार, आरसीटी र एनआरटीबाट खेल्नुभयो ।

सन् २००५ मा उहाँले राष्ट्रिय टोलीबाट सन्यास लिनुभएका उपेन्द्र फुटबलबाट टाढा जान सक्नुभएन । ‘सन्यासपछि पनि फुटबलमा केही न केही गर्नुपर्छ भन्ने थियो । तर के गर्ने ? भन्ने चुनौती थियो । मध्यपुरमा गएर मध्यपुर युथ एसोसिएन क्लब खोल्ने निर्णय गरेँ । मेरै अध्यक्षतामा स्थापना भएको मध्यपुर पाँच वर्षमै ‘ए’ डिभिजनमा उक्लियो । आफै अध्यक्ष, प्रशिक्षक र व्यवस्थापक बनेर क्लब चलाउनु चुनौती ठूलो थियो’, उपेन्द्र भन्नुहुन्छ, ‘मैले क्लब खोल्दा नेपालमा खेलाडीले राम्रो पैसा पाउने अवस्था भइसकेको थियो । आर्थिक रुपमा ठूलो लगानी गरेर ‘ए’ डिभिजन खेलेकै वर्ष ‘बी’ मा झर्नुपर्दाको तितो क्षण पनि ताजै छ ।’

उपेन्द्रको दृष्टिमा नेपाली फुटबलमा धेरै परिवर्तन भएको छ । खेलाडीको प्रदर्शन क्षमतामा पनि सुधार आएको छ । घरेलु लिग विगतको भन्दा धेरै राम्रो भएको छ । खेलाडी विस्तारै व्यवसायिक बनेका छन् । अझै नेपाली फुटबललाई माथि ल्याउन देशभर फुटबल गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

‘नेपाली फुटबलको विकासमा लागि तल्लो तहबाट खेलाडी उत्पादन गर्न आवश्यक छ । अनिमात्र फुटबलको जग बस्छ । मैदान र भौतिक संरचनामा पनि ध्यान दिन आवश्यक छ’, उहाँ भन्नुहुन्छ, ‘अबको मेरो योजना देशभर ग्रसारुट फुटबल सञ्चालन गर्नु हो । नेपाली फुटबलमै केही गरेर मर्न मन छ ।’


ताजा खबर