केही समयअघि सामाजिक सञ्जालमा एकजना बिरामी सरकारसँग इच्छामृत्युको व्यवस्था गरिदिन आग्रह गरिरहेका भेटिनुभएको थियो । मृत्युशय्यामा छटपटाउँदै गरेका उहाँको आग्रह हृदय विदारक मात्र थिएन उहाँजस्तै तमाम बिरामीका पीडा बोध गराउने खालको समेत थियो । उहाँ भनिरहनुभएका थियो– ‘‘मूढोजस्तो शरीर बोकेर बाँच्न गाह्रो भयो । न हलचल गर्न सक्छु न खानपीन गर्नै सक्छु । यसरी जिउँदै मरेर बाँच्नुभन्दा मेरा लागि मृत्यु बढी सहज हुनेछ । त्यसैले सरकारले तत्कालै इच्छामृत्युको व्यवस्था गरी मुक्ति दिने काम गरोस् भन्ने आग्रह गर्छु ।’’ थाहा छैन उहाँको आर्तपुकार कतिले सुने, कतिले सुनेनन् । हुन सक्छ कतिले सुन्नै चाहनेनन्, कतिले सुनेर पनि हल्का रूपमा लिए तर उहाँको चित्कार साँच्चै बेवास्ता गर्न हुने खालको थिएन । अहिले पनि समाजमा खोजीपसे यस्ता बिरामी कति भेटिन्छन् कति, जो नचाहेर पनि लासजस्तोे शरीर बोकेर जिउन बाध्य छन् । यस्ता बिरामीलाई इच्छामृत्युको व्यवस्थाले पक्कै राहत प्रदान गर्नेछ ।
अहिलेसम्म विश्वका आधा दर्जनभन्दा बढी मुलुकमा इच्छामृत्युको कानुन लागू भइसकेको पाइन्छ । कतिपय मुलुक लागू गर्ने प्रक्रियामा छन् भने केही मुलुकमा छलफल चलिरहेको छ । लागू भइसकेका मुलुकमा बेलजियम, लक्जेम्बर्ग, क्यानडा, न्युजिल्यान्ड, कोलम्बिया, नेदरल्यान्ड र स्पेन पर्छन् । यीमध्ये सबैभन्दा पहिले लागू गर्ने मुलुक नेदरल्यान्ड हो जसले एक अप्रिल २००२ मा त्यस्तो कानुन पास गरी लागू गरेको थियोे । जहाँसम्म पछिल्लो मुलुकको कुरा छ त्यसमा भने न्युजिल्यान्ड देखिएको छ, जसले ७ नोभेम्बर २०२१ मा यस्तो कानुन लागू गरेको थियो । यीबाहेक अन्य केही मुलुकले आंशिक रूपमा र केही मुलुकले आंशिक प्रान्तमा लागू गरेका छन् । कोरोना भाइरसलगायत विभिन्न कारणले गर्दा लागू गर्ने तरखरमा रहेका मुलुकका सूची पनि खोजिपसे लामै पाउन सकिन्छ ।
हाल प्रचलित इच्छामृत्युसम्बन्धी कानुनले इच्छामृत्युलाई चार तहमा विभाजन गरेको छ, जसमा चिकित्सकले जानीजानी कुनै औषधि दिएर तत्कालै जीवन समाप्त गर्ने, जीवन जोगाइराख्न दिनुपर्ने औषधि बन्द गरी बिस्तारै जीवन समाप्त पार्न सहयोग गर्ने, बिरामी आफैँले इच्छामृत्युपत्रमा हस्ताक्षर गरेर जीवन समाप्त पार्न लगाउने र बिरामीको नजिकको आफन्तले मृत्युपत्रमा सही गरेर बिरामीको जीवन समाप्त पार्न चिकित्सकलाई आग्रह गर्ने । यीमध्ये उल्लिखित सात मुलुकमा चारवटै तह प्रचलित छन् तर अस्टेलिया र संयुक्तराज्य अमेरिकाको भने केही राज्यमा मात्र लागू छ, त्यो पनि आंशिक रूपमा । कतै कुनैलाई प्राथमिकता दिइएको छ कतै कुनैलाई ।
कतिलाई इच्छामृत्युको कुरा सुन्दै आश्चर्य लाग्न सक्छ । कतिले यस्तो पनि हुन्छ भन्न पनि सक्छन् तर डराउनु पनि पर्दैन र आश्चर्य मान्नु पनि पर्दैन । हाम्रा प्राचीन ऋषिमुनिहरूले हजारौँ वर्ष पूर्व नै यस्तो व्यवस्था लागू गरिसक्नु भएको थियो । हाल विश्वमा लागू भएका व्यवस्थालाई त्यसैका प्रतिरूप मान्न सकिन्छ, जसको स्वरूप पनि त्यस्तै छ, प्रकृति पनि त्यस्तै छ ।
वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार ठूलाठूला योगीहरूले आफैँ जतिबेला मन लाग्यो त्यतिबेला जीवन समाप्त पार्न सक्नुहुन्थ्यो । उहाँहरू मूलाधार चक्रबाट उठेको प्राणवायुलाई क्रमशः स्वाधिष्ठान, मणिपुर, अनाहद, विशुद्ध र आज्ञाचक्र पार गरी मस्तष्कमा रहेको सहस्रार चक्रमा पु¥याएर छाड्ने गर्नुहुन्थ्यो, जसलाई उहाँहरू असीम आनन्दको विषय मान्नुहुन्थ्यो । यो उल्लिखित व्यवस्थाको तेस्रो बुँदासित सम्बन्धित जेखिन्छ, जहाँ बिरामी आफैँले हस्ताक्षर गरी प्राण त्याग गर्न सक्ने कुरा आएको छ ।
रामायण र महाभारतकै कुरा गर्ने हो भने पनि यस्ता प्रसङ्ग थुप्रै भेटिन्छन् । यिनमा रामायणका पात्र जटायु एउटा प्रतिनिधि पात्र हुनुहुन्छ, उहाँले रावणद्वारा सीता हरणको नालीबेली बताइसकेपछि रामसित शरीर त्याग्ने अनुमति माग्नुभएको थियो । यतिबेला रामले अनुमति दिनुभएको मात्र छैन आफैँले उहाँको सदगतसमेत गर्नुभएको छ । यो उल्लिखित व्यवस्थाको चौथो बुँदासित सम्बन्धित देखिन्छ, जहाँ आफन्तको सहमतिमा जीवन समाप्त पार्न सकिने व्यवस्था गरिएको छ ।
महाभारतका पात्र भीष्म र द्रोणाचार्य पनि त्यस्तै प्रतिनिधि पात्र हुनुहुन्छ । महारथि भीष्मलाई बाबु शन्तनुद्वारा इच्छामृत्युको वरदान प्राप्त थियो । उहाँले महाभारतको युद्धमा नराम्ररी घाइते भएपछि केही समय शरशøयामा सुतेर अनुकूल समयमा देह त्याग गर्नुभएको छ । यो पनि उल्लिखित व्यवस्थाका तेस्रो बुँदासितै सम्बन्धित छ, जहाँ बिरामी आफैँले इच्छामृत्युपत्रमा सही गरेर जीवन समाप्त पार्न सक्ने व्यवस्था । त्यस्तै द्रोणाचार्यले योगासनमा बसेको बेला प्राण त्याग गर्नुभएको थियो । यद्यपि कथामा धृष्टद्युम्नको हातबाट भएको भन्ने छ तर त्यो रूपमा हो, सारमा होइन ।
सारमा यही हो कि छोरा अश्वत्थामा मृत्युको खबर सुनेपछि उहाँ आफैँले मृत्यु रोज्नु भएको थियो । रूपमै कुरा गर्ने हो भने पनि यसलाई उल्लिखित व्यवस्थाको पहिलो बुँदासित जोडेर हेर्न सकिन्छ, जहाँ चिकित्सकले जानीजानी जीवन जोगाउन दिइने औषधि बन्द गरेर जीवन समाप्त पार्न सक्ने व्यवस्था गरिएको छ ।
इच्छामृत्युको व्यवस्था हिजो जति आवश्यक थियो आज त्योभन्दा बढी हुन पुगेको छ । हिजो जुनसुकै घटना र परिवेशमा भएको भए पनि यसको व्यवस्था स्वेच्छाले भएको थियो तर आज यस्तो व्यवस्था बाध्यात्मक भइसकेको छ । ऋषिमुनिहरू स्वेच्छाले जीवन समाप्त पार्थे । नपारेका भए पनि उहाँहरूको जीवन बाँच्न सक्थ्यो बचाउन सक्थे तर आज त्यो छुट हामीले पाएका छैनौँ । जति प्रयास गरे पनि अन्तिम अवस्थामा पुगेका बिरामी बाँच्न सक्दैनन्, बचाउन सकिन्न । त्यसैले हाम्रोजस्तो मुलुकमा पनि यसलाई लागू गर्नेतर्फ सोच्नुपर्ने बेला भइसकेको देखिन्छ ।
हो, यसमा दुरुपयोग हुनसक्ने जोखिम भने धेरै छन् । कानुनमै केही प्रावधान राखेर जोखिम निवारण गर्न सकिन्छ । यसमा सर्वप्रथम बिरामी वा बिरामीको अविभावकको स्वीकृति आवश्यक हुन्छ । अर्कोकुरा सरकारी मान्यता प्राप्त चिकित्सा बोर्डले उपचार सम्भव नभएको भन्ने किटानी हुनुपर्छ, जहाँ पाँच वा सोभन्दा बढी चिकित्सकहरू रहेको हुनुपर्छ । यसबाट धेरै पक्ष लाभान्वित हुन सक्छन् । यसमा सर्वप्रथम बिरामीले नै राहत महसुस गर्न पाउँछन् । जिउँदो लास बनेर मृत्युशøयामा छटपटाउनुभन्दा उसका लागि यही बाटो नै कति हो कति बढी उपयोगी देखिन्छ ।
अर्कोकुरा परिवारका सदस्यले पनि राहत महसुस गर्न सक्छन् । सास छउन्जेल आस भन्छन् । कुनै पनि अविभावकले आफ्नो मानिस छटपटाएको हेर्न सक्दैनन् र तैपनि हुन्छ कि भनेर उपचारका लागि हरसम्भव प्रयास गर्छन् । अन्ततः बिरामी पनि रहन्नन् र घरबास पनि सकिएको हुन्छ । यस्तोमा जीवन समाप्त पार्ने अनुमति दिनु नै उचित हुनेछ । यसको अर्को पनि फाइदा छ, जुन देश र समाजले पाउन सक्छ । त्यो भनेको त्यस्ता बिरामीका अङ्गबाट धेरै अङ्गभङ्ग भएका वा अङ्गले काम नगर्ने बिरामीमा प्रत्यारोपण गरी उहाँहरूलाई जीवनदान दिन सकिन्छ । सरकारकै निम्ति पनि धेरै किसिमले फाइदाजनक देखिन्छ । कम्तीमा त्यस्ता बिरामीमा हुने सरकारी लगानी बचत गरी अन्य बिरामीमा लगानी गर्न सकिन्छ ।