राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरु

१२ माघमा तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घण्टा अगावै मौन अवधि सुरु भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्नेछ ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचन प्रचार गर्न बन्द गरिएको छ ।

उहाँका अनुसार उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि प्रतिबन्ध छ । निर्वाचन मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ ।

१९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र नेपाली काँग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । –रासस


ताजा खबर