~ शिखर दाहाल
रगतमा ग्लुकोजको मात्रा आवश्यकता भन्दा धेरै वा थोरै हुने अवस्थालाई चिनी रोग भनिन्छ। रगतमा ग्लुकोजको मात्रा धेरै भएको अवस्थालाई हाइपरग्लाइसेमिया तथा कम भएको अवस्थालाई हाइपोग्लाइसेमियाँ भनिन्छ। सामान्यता हामी हाइपरग्लाइसेमियाको अवस्थालाई चिनीरोग अथवा मधुमेह भन्दछौ ।
सन् २०१९ मा आइडिएफले विश्वमा ४६३ मिलियन वयश्कहरु ( २०-७८ उमेर समूह ) मा मधुमेह रहेको प्रक्षपण गरेको छ। जसमध्ये ७९.४ % विरामि मध्य तथा कम आय भएका देशहरुमा रहेको जनाएको छ। नेपालमा सन् २०२० मा ८.५ % मा मधुमेह र ९.२% प्रि- डायवेटिक रहेको पछिल्लो तथ्याङ्कमा जनाइएको छ ।
मधुमेह एउटा दीर्घकालिन रोग हो। यो रोग लागेपछि पूर्णरूपमा निको नहुने सर्वविदितै छ। तर यसो भन्दैमा हामी मध्य धेरै जनालाई यो थाहा नहुन सक्छ कि हामीले चाहेको खण्डमा मधुमेहलाई नियन्त्रण गर्न सक्दछौं। मधुमेह रोगीले सही आहार ,बिहार र औषधि नियमित सेवन गरेमा पूर्णरूपमा नियन्त्रणमा राख्न सकिन्छ। प्रि-डायवेटिक तथा अर्लि डायग्नोज्ड डायवेटिज बिरामीले पथ परहेज को नियम पूर्णरुपमा पालना गरेमा भविष्मायमा आइपर्न सक्ने विभिन्न किसिमका शारीरिक समस्या नियन्त्रणमा राखी रगतमा ग्लुकोजको मात्रालाई सामान्य अवस्थामा कायम गर्न सकिन्छ।
पूर्णरूपमा आहारविहार र पथपरहेज गरेमा, नियमित औषधि सेवन र दैनिक व्यायाम गरेको खण्डमा दीर्घकालीन औषधि सेवन गर्न बाट मुक्त हुन सकिन्छ। तसर्थ जीवनशैली र खानपानमा परिवर्तन गरेमा सामान्य जीवन जिउनुको साथै रगतमा ग्लुकोजको मात्र नियन्त्रणमा राखी लामो अवधिसम्म आफूलाई स्वस्थ र निरोगी भै जीवन जिउन सकिन्छ।
मधुमेह उपचारमा अपनाउन सकिने विधिहरू
१. खाद्यपदार्थहरुमा उचित परहेज गर्नुपर्ने
२. सन्तुलित मधुमेही खानाको सेवन गर्ने
३. नियमित व्यायाम गर्ने
४. दैनिक २-३ लि. पानी पिउने
५. नियमित औषधि वा इन्सुलिनको सेवन
६. दैनिक पारिलो घामको किरणमा बस्ने
यदि हामीले यी मन्त्र दैनिक पालना गरेमा मधुमेहबाट हुन सक्ने घातक रोगहरुलाई निर्मुल गरी पूर्णरूपमा निरोगी व्यक्ति सरह जिवन बिताउन सकिन्छ।
यदि कसैलाई मधुमेह भइसकेको छ र औषधि सेवन वा इन्सुलिनको प्रयोग गरिरहनु भएको छ भने यस अवस्थामा पनि खाद्यपदार्थको परहेज र नियमित व्यायाम गर्नु अत्यन्त जरुरी छ ।
मधुमेही बिरामीले खानामा व्यवस्थापन किन गर्ने?
१. आवश्यक शारीरिक तौल कायम राख्न
२. रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा राख्न
३. मधुमेह भैसकेपछि त्यही अनुरुपको मधुमेह खाना दैनिक भोजनमा आवश्यक पोषण प्राप्त गर्न
४. मृगौला मुटु कलेजो आँखा नसा आदिमा पर्न सक्ने जोखिम कम गर्न र भविष्यमा आइपर्ने जोखिमबाट बचाउन।
मधुमेही बिरामीले के खाने के नखाने?
कुनैपनि व्यक्तिलाई स्वस्थ रहन सन्तुलित भोजन सेवन गर्नु पर्दछ। सन्तुलित भोजन भन्नाले तत्वहरु जस्तै कार्बोहाइड्रेट , प्रोटिन, चिल्लो, भिटामिन, मिनरल, फाइबर र पानीको पूर्ण अनुपात मिलाएर खानुपर्ने हुन्छ।
कार्बोहाइड्रेट
यसअन्तर्गत शक्तिवर्धक खाने कुराहरू पर्दछन्। चामल मकै गहुँ फापर जौको रोटी आलु तरुल तथा अन्य अन्न खाद्यान्न यस समूहभित्र पर्दछन्। मधुमेही व्यक्तिले चामलको भात नखाने, ढिँडो तथा रोटी प्रशस्त मात्रामा खाने जस्ता अव्यवस्थित चलन हाम्रो समाजमा प्रचलित छ जुन गलत हो। तसर्थ मधुमेहका बिरामीले आफ्नो दैनिक भोजनमा ४० देखि ६० प्रतिशत सम्म , कार्बोहाइड्रेट भएका खाद्यान्न लाई समावेश गर्नुपर्दछ। चामल, आलु,पिडालु, तरुल, फलफूल सलाद आदि कार्बोहाइड्रेटका अन्य श्रोतहरू प्रयोग गर्नुहुँदैन भन्ने गलत धारणा लाइ सच्याउँदै यि खाद्यान्न हाम्रो दैनिक भोजनमा आवश्यक मात्रामा प्रयोग गर्न सकिन्छ।
प्रोटिन
दाल गेडागुडी दूध तथा दुध जन्य पदार्थ माछा मासु अन्डा च्याउ राजमा भटमास सोयाबीन आदि प्रोटीन का मुख्य स्रोत हुन्। मधुमेही बिरामीले शरीरलाई आवश्यक १५ देखि २० प्रतिशत प्रोटिन यी खाद्य समूहबाट समावेश गर्नुपर्ने हुन्छ। तर मृगौला बिरामीहरुले प्रोटिनको मात्रा कम गर्नुपर्ने हुन्छ र यसकोलागि पोषणविद् सँग सम्पर्क राखी खानपान व्यवस्थापन गर्न अत्यावश्यक हुन्छ।
चिल्लो पदार्थ
दैनिक खानामा कुल क्यालोरीको २० देखि ३० प्रतिशत चिल्लो पदार्थ बाट पूर्ति हुनुपर्दछ। मधुमेहि व्यक्तिमा उच्च तौल उच्च रक्तचाप मुटुको समस्या रगतनलिमा बोसो जम्ने जस्ता समस्याहरु धेरै सम्भावना हुने भएकाले चिल्लो तथा तेलको हरु सेवन गर्दा सेचुरेटेड फ्याट लाइ परहेज गरी मोनो तथा पोलि स्याचुरेटेड फ्याट युक्त तेल तथा चिल्लो सेवन गर्नु पर्नेहुन्छ। यसअन्तर्गत आलस, तिल, फर्सीको बियाँ, सूर्यमुखीको बियाँ, काजु,ओखर, बदाम, लट्टे को दाना उतम स्रोत हुन्।
दहाल काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका डायटिसियन हुन् ।