मेरुदण्ड सम्वन्धि नेपालको पहिलो शैक्षिक पुस्तक प्रकाशन भएको छ ।
कोशेली प्रकाशनवाट प्रकाशित पुस्तकको वरिष्ठ मेरुदण्ड विशेषज्ञ प्रा.डा. गौरव राज ढकालसँगै डा. विनोद विजुक्छे र डा. अभय यादवले संयुक्त रुपमा सम्पादन तथा प्रकाशन गर्नुभएको हो ।
सो पुस्तक हाडजोर्नी विशेषज्ञहरु, नसारोग विशेषज्ञहरु, न्यूरोसर्जनहरु तथा सो विषयका विद्यार्थिहरुकालागि अति उपयोगि सन्दर्भ सामग्रीका रुपमा रहेको प्रा.डा.ढकालले सफल नेपाललाई वताउनुभयो ।
यो मेरुदण्ड सम्वन्धि नेपालवाट प्रकाशन भएको पहिलो शैक्षिक पुस्तक भएको र आगामी दिनमा मेरुदण्ड सम्वन्धि अरु पुस्तक प्रकाशन गर्ने तयारी रहेको समेत प्रा.डा.ढकालले जानकारी दिनुभयो ।
प्रा.डा.ढकालले भारतको कोलकत्तास्थित ख्यातिप्राप्त स्पाइन सेन्टर पार्कक्लिनिकवाट मेरुदण्ड सम्वन्धि दुइवर्षे क्लिनिकल स्पाइन फेलोसिप गर्नुभएको छ । सो फेलोसिप एक्जिट परिक्षामा सम्पूर्ण भारतका प्रतिष्पर्धिहरुमध्ये सर्बोत्कृष्ट नतिजा समेत हाँसिल गर्नुभएको छ ।
सो नतिजा हाँसिल गरे वापत प्रा.डा.ढकाललाई एसोसियसन अफ स्पाइन सर्जन्स अफ इण्डियाले आफ्नो सम्पूर्ण खर्चमा अमेरिकास्थित इण्डियाना विश्वविद्यालयको स्पाइन सेन्टरमा विशेष तालिमका लागि समेत पडाएको थियो ।
प्रा.डा.ढकालले नेपालको पहिलो तथा एकमात्र राष्ट्रिय ट्रमा सेन्टरमा स्पाइन सर्भिसेस अर्थात मेरुदण्डको उपचार सम्वन्धि सेवा सर्वसाधारण नेपालीकालागि स्थापनाकालागि महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।
प्रा.डा.ढकालले अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत थुप्रैपटक मेरुदण्ड समवन्धि अध्ययन तथा अनुसन्धान सम्वन्धमा लेख तथा प्रस्तुतिहरु दिइसक्नुभएको छ ।
प्रा.डा.ढकालले विश्वको प्रतिष्ठित स्पाइन संगठन ए.ओ.स्पाइनमा समेत नेपालको प्राध्यापकका रुपमा प्रतिनिधित्व गर्नुभएको छ ।