नेपालमा मेरुदण्डको स्तरिय उपचारमा जमेका प्रा.डा.गौरव

नेपालमा सन् २००९ देखि हाडजोर्नी रोग विशेषज्ञका रुपमा काम गर्दै आउनुभएका र तत्पश्चात सन २०१२ मा भारतको ख्यातिप्राप्त पार्क क्लिनिक कोलकतावाट मेरुदण्ड उपचार सम्बन्धि विषयमा बिज्ञता हाँसिल गरेपछि मेरुदण्डको उपचारमा सन् २०१४ देखि निरन्तर कार्यरत प्रा. डा. गौरवराज ढकालसँगको सफल कुराकानीको सम्पादित अंश ।

अर्थोपेडिक विधामा अनेकौं विषय भएपनि यहाँले स्पाइन सर्जरी नै किन रोज्नु भएको ?

सानैदेखी चिकित्सक बन्ने सपना बोकेकोले मैले स्कुले शिक्षा पछि विज्ञानमा उच्च शिक्षा अध्ययन गर्न शुरु गरे र राम्रो अंक सहित आइएस्सि उत्तिर्ण गरें । एमबिबिएस अध्ययनका लागि नाम निकाल्न सफल भएँ । एमबिबिएस अध्ययनका सिलसिलामा इन्टर्नसिपका लागि मलाई अर्थोपेडिक सर्जरीमा सेवा गर्ने मौका मिल्यो ।

अर्थोपेडिक सर्जरीको इन्टर्न पछि डेढ बर्ष हाउस अफिसरका रुपमा केहि समय काम गर्ने अवसर पाएँ । जसले मलाई एउटा अर्थोपैडिक सर्जन बन्न उत्साहित बनायो । त्यसपछि मैले काठमाडौं विश्वविद्यालयमा अर्थोपेडिक सर्जरीमा रेजिडेन्सी पाएँ । अर्थोपेडिक रेजिडेन्सि गर्दाको अवधिमा नै मलाई मेरुदण्ड सम्वन्धि चेटपटकको उपचारमा रुचि जाग्यो । एमएस अर्थोपेडिक सकेर सर्जनका रुपमा काम गर्न थालेपछि मैले काम गरेको अस्पतालमा ढाडमा चोट पटक लागेका धेरै विरामीहरु आउने गरेको मैले पाएँ ।

विशेषज्ञता नभएका कारणले धेरै विरामीहरु सहि उपचारवाट बञ्चित थिए । त्यसपछि म आफु यस विषयमा अध्ययन गरेर काम गर्ने प्रण गरेर मैले सन् २०१२ मा अल इण्डिया इन्ट्रान्स एक्जाममा मेरुदण्ड रोग विशेषज्ञको तालिम हाँसिल गर्न अवसर पाएँ र कलकत्ता भारतवाट त्यस सम्वन्धि विशेष अध्ययन गरी फर्कीएर हाल स्पाइन सर्जनका रुपमा काम गरिरहेको छु ।

दक्षता हाँसिल गरेपछि भारत र अन्य मूलुक मै पनि अवसरहरु प्रशस्त हुँदाहुँदै किन नेपालमा नै फर्किएर काम गर्न मन लाग्यो ?

खासमा मैले भारतमा तालिम सकिएपछि त्याहाँनैं काम गर्ने अवसर पनि पाएँ । अन्य मूलुकहरुवाट पनि थुप्रै अवसरहरु नआएका होइनन् । स्पाइनको सुपर स्पेश्यालिटी गरेर विज्ञता हाँसिल गरेर कुन समुदायलाई उपचार सेवा दिने ? आफ्नै नेपाली वा अन्य देशका मानिसहरुलाई ? यो एउटा प्रश्नले मलाइ जहिलेपनि सताइरहन्थ्यो । त्यसैले मैले नेपाल फर्कीएर आफ्ने आमाबुवा दाजुभाई दिदिवहिनीकै सेवा गर्न नेपाल र नेपालीको मायाँले यहाँ ल्यायो । म नेपाल फर्कीएर आम नेपालीजनको मेरुदण्ड विशषज्ञका रुपमा कामगर्दा अत्यन्त खुशी छु । म नेपाल फर्कने समयमा मेरा भारतका गुरुले पनि तिम्रो शुरुका तीन वर्ष निकै चुनौतीपूर्ण हुन्छ भन्नु भएको थियो त्यो अनुभव समेत मैले गर्न पाँए ।

विगत सात बर्षमा यहाँले स्पाइन सर्जरीको अनुभव कसरी गर्नुभएको छ ?

जव स्पाइन सर्जन बनेर कोलकतावाट फर्केर आएँ त्यो बेलामा नेपालमा स्पाइन सर्जरी भन्ने विधा खासै विकास भएको पनि थिएन । नेपालमा धेरै स्पाइन सर्जनहरुपनि हुनुहुन्थेन । सबैभन्दा पहिलो चुनौती भनेको स्पाइन सर्जरी भन्ने विषयमा स्पाइन सर्जनहरु पनि हुन्छन् भन्ने कुरा नै थियो । यो चेतना नहुँदा शुरुका दिनहरु निकै चुनोतीपूर्ण थिए ।

जसै समय वित्दै गयो, नेपाली जनमानसलाई थाहा हुन थाल्यो मेरुदण्डको समस्याको उपचार गर्ने अलग्गै विज्ञ चिकित्सक हुन्छन् । विस्तारै विरामीको संख्या पनि बढ्दै गयो । हालको कुरागर्दा तुलनात्मक रुपमा नेपालमा नै मेरुदण्डको उपचार गर्ने चिकित्सकहरुको संख्या पनि बढ्दो छ ।

हाल धेरैजसो अस्पतालहरुमा यस विषयमा उपचार हुन थालिसकेको छ । साधन श्रोत र विज्ञताको हिसावले हाल नेपाल छ वर्ष अघिको तुलनामा निकै अघि बढिसकेको छ ।

भौगौलिक हिसावले अत्यन्त चुनौतीपूर्ण नेपालमा स्पाइन सर्जरीको अवस्था कस्तो पाउनुभएको छ ?

मेरुदण्डको उपचारकालागि नेपालको सबैचन्दा ठुलो अफ्ठ्यारो भनेको यहाँको भूगोल पनि हो । यहाँ मेरुदण्ड भाँचिएर आउने विरामीहरुको संख्या ठुलो छ । हाम्रो परिवेशमा घास दाउरा गर्नजाँदा भीरवाट खस्ने र रुखवाट लड्ने कारणले गर्दा मेरुदण्ड भाँचिने गरेको छ । भूगोलका कारण बाटोघाटो र मोटरको समस्याका कारण तीन चारदिनपछि मात्र सुविधा सम्पन्न अस्पताल आइपुग्ने दयनीय अवस्था छ । अस्पताल ल्याउन ढिला भएङ्को कारण बिरामीको अवस्था र उपचार समेत निकै जटिल हुने गरेको छ । यस्ता चोटपटक लागेका बिरामी तत्काल अस्पताल ल्याउने हो भने , अझ बुझ्ने गरी भन्दा चोट पटक लागेको छ घण्टा भित्र अस्पताल ल्याउन सकेमा विरामीको उपचार निकै हदसम्म सफल हुन्छ । विरामीलाई पूर्व अवस्थामा फर्काउन सक्ने संभावना बढी हुन्छ ।

मेरुदण्ड सम्वन्धि कस्ता कस्ता समस्या लिएर विरामीहरु यहाँको ओपिडिमा आउने गरेको पाउनुभएको छ?

मेरुदण्डको सबैभन्दा ठुलो समस्या ढाड र गर्धन दुखाइ नै हो । हालको अवस्थामा हेर्ने हो भने ढाड र गर्धनको दुखाई तुलनात्मक रुपमा धेरै भइराखेको मैले पाएको छु । यसलाई हामीले एउटा एपिडेमिक समस्याका रुपमा पनि लिन सक्छौं ।

यो हरेक उमेर समूहका मानिसहरुलाई यो ढाड र गर्धन दुख्ने समस्याले सताउने गरेको पाइएको छ । अधिकांश ३० देखी ३५ बर्ष र सो भन्दा माथिको उमेर समूहमा यो समस्या बढी देखिने गरेको मैले पाएको छु । विशेष गरी बैंक हरुमा काम गर्ने सूचना प्रविधि क्षेत्रमा काम गर्ने टेवल कुर्सीमा बसेर काम गर्ने डेस्क वर्क गर्नेहरुमा यस किसिमको समस्या बढी हुने गरेको अनुभव मैले गरेको छु ।

लामो समयसम्म गाडी र मोटरसाइकल चलाउने , लामो समयसम्म उभिएर काम गर्नेहरुमा ढाड र गर्धन दुख्ने समस्या धेरै हुने गरेको छ । पछिल्ला केहिवर्ष यता साना साना वालवालिकाहरुमा पनि यो समस्या देखिन थालको छ ।

काठमाडौंसँगै देशको पूर्वी नेपालमा पनि यहाँले विरामीहरुलाई मेरुदण्ड सम्वन्धि उपचार सेवा प्रदान गर्दै आउनुभएको छ , पूर्वी नेपालमा मेरुदण्ड सम्वन्धि उपचार र चेतनास्तर कस्तो पाउनु भएको छ ?

मेरो जन्मस्थल पूर्वी नेपाल, अनि मेरो घर दमक झापा । त्यसैकारण, काडमाडौंमा नभइकन यो मेरुदण्डको उपचार र सचेतना मलाई मेरो आफ्नो ठाँउ झापामा पनि गर्नुपर्छ भन्ने सामाजिक उत्तरदायित्व बोध भएका कारण म त्याहाँ केहि गर्न चाहन्छु ।

काठमाडौंमा मात्र सिमित नरहेर त्याहाँ पनि केहि गरौं भनेर मैले हाल दमकमा र विर्तामोडमा हाल स्पाइन क्लिनिक शुरु गरेको छु । यस संगसंगै स्पाइन सम्वन्धि विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं ।

साना नानीहरुमा देखिने मेरुदण्ड बाङ्गो हुने समस्या जसलाइ हामी चिकित्साको भाषामा स्कोलियोसिस भन्छौ , कुप्रो हुने, स्पाइनल डिफर्मिटिजहरु बारे समय समयमा चेतनामूलक कार्यक्रम तथा स्क्रिनिङ शिविरहरु विभिन्न विद्यालयहरुसँगको सहकार्यमा सञ्चालन गर्दै आएका छौं ।

अव मेरुदण्डको उपचार हरेक प्रदेशमा हुनुपर्छ भन्ने मलाई लाग्छ । मैले मेरो प्रदेश र मेरो बाल्यकाल विताएको ठाँउ झापामा अझै धेरै गर्नुपर्छ भनेर म निरन्तर यसमा लागिरेको छु ।

एउटा सर्जनको जीवन अत्यन्त व्यस्त रहने गरेको हामी पाउँछौं यहाँको विषयमा त चिकित्सकहरु नै अत्यन्त कम हुनुहुन्छ निजि जिवन र चिकित्साकर्मको बीचमा तालमेल कसरी मिलाउनु भएको छ?

अवश्यपनि एउटा सर्जनको जिवन अत्यन्त व्यस्त नै हुन्छ । विहान सातबजे तयार भएर अस्पतालका लागि निस्किएपछि साँझ घर फर्कँदा आठ बज्छ । कहिलेकाँहि अप्रेशन लम्बिँदा दश एघार बजे पनि फर्किएको छु ।

म भाग्मायनी छु मैले अत्यन्त मिलनसार र साथ दिने जिवनसाथी पाएको छु । उनको सहयोग विना आज म जुन स्थानमा छु जसरी अध्ययन र काम गर्न सकेको छु यो उनको साथ विना पक्कै सम्भव थिएन ।

हेर्नुस् तपाँई जति नै ठुलो मानिस भएपनि ब्यस्त मानिस भएपनि परिवार सधैं महत्वपूर्ण हुन्छ । म आफ्नो चिकित्साकर्म सँगै परिवारलाई पनि उत्तिकै महत्व दिन्छु । परिवारका लागि समय दिने र आफुलाई पन परेका कुराहरु गर्ने । हाइकिङमा मलाइ बढी रुचि छ । मन परेका पुस्तकहरु पढ्न मलाइ मनपर्छ ।

म विहान सबैरै पाँच बजेर छ बजेको बीचमा उठिसक्छु । त्यसपछि लगभग एक घण्टा दौडने, शारिरिक ब्यायाम गर्ने, खेल खेल्ने गर्छु । बेलुका आएपछि सधैं मेरी छोरीसँग बसेर उनको कुरा सुन्ने र श्रीमतीसँग बसेर गफ गर्न मलाई मनपर्छ । तीनै जना आफ्ना कुरा सुन्छौ सुनाउँछौं । रमाइला कुरा गर्छौ । सुत्नु अघि म मेरी छोरीलाई सधैं कथा सुनाउँछु । उनलाइ अन्तरिक्षका तथ्यहरु र समसामयिक कुराहरुमा कथा सुन्न मनपर्छ ।

शनिवार र विदाका दिनहरुमा हामी सर्ट ड्राइभमा निस्कन्छौं । कामको तनाव कमगर्न घुमघाम गर्न र परिवार सँग बाहिर जान मन पराउँछु । कहिलेकाँहि हाइकिङ जान्छौं , छोरीको स्कुल छुट्टि भएका बेलामा हामी केहिदिनको विदामा वाहिर घुम्न जान्छौं । विशेषगरी हामी बन्यजन्तु आरक्षतीर घुम्न जान मन पराउँछौं ।

मेरो शौखको कुरागर्दा मलाई पुस्तकहरु पढ्न एकदमै मनपर्छ । म धेरै किताव पढ्नेहरु मध्ये पर्छु जस्तो लाग्छ । फुर्सदमा चै मेडिसिन भन्दा बाहिरका पुस्तक पढ्न मनपर्छ मलाई । म अहिले महेन्द्र लामाको पुस्तक ओ दार्जिलिङ पढिरहेको छु । म अर्थशास्त्र, जियो पोलिटिक्स देखी प्रशासन अनि साहित्यका सबैखाले पुस्तक पढ्न मनपर्छ ।

मलाई काठमाडौं वाहिर ड्राइभ गर्न खुव मनपर्छ। मानिसहरुसँग कुरागर्न मनपर्छ। खाना बनाउन र खान धेरै मन पर्छ।


ताजा खबर