कोरोनाले सुस्ताएको रङ्गमञ्च बिस्तारै पुरानो लयमा फर्कदै

कोरोनाले सुस्ताएको सहर बिस्तारै पुरानो लयमा फर्केने क्रममा छ । ठप्प जस्तै भएका शैक्षिक सङ्घ–संस्था पुनः सञ्चालन भएका छन् । कोरोनाले खलबलिएको लय पुनः जुर्मुराउँदै छ । रङ्गमञ्चमा पनि एउटा संयोग जुरेको छ । विद्यार्थी, शिक्षक र रङ्गहरूको कथाको नाटक सहरमा मञ्चन भइरहेको छ ।

‘ताराबाजी लै लै’
नाटक ‘ताराबाजी लै लै’ स्कुलका विद्यार्थी र शिक्षकको कथा हो । एउटा शिक्षकले नर्सरीदेखि युवावस्थासम्म अध्यननरत विद्यार्थीलाई कक्षामा गर्ने व्यवहार नाटकको मूल विषय हो । केटाकेटीले हुर्कने क्रममा देखाउने बानी व्यवहार नाटकमा देखाइएको छ । नाटकमार्फत कलाकारले बालापनका क्षण फरक शैलीमा पस्कने जर्मको गरेका छन् । केटाकेटीको चञ्चले स्वभाव र हुर्केदै जाने क्रममा उनीहरूमा विकास भएको इस्र्यालु भावना नाटकमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

विद्यार्थी जीवनमा केन्द्रित रहेको नाटकमा बाल्यावस्थादेखि यौवनावस्थासम्मको स्वभाव आनीबानीलाई नाटकको माध्यमबाट छिचोल्न खोजिएको छ । स्कुल सुरु हुँदादेखि अर्थात् नर्सरीमा भर्ना भएदेखि स्कुलको कक्षा १० सम्म अध्ययन गर्दै गर्दाका स्वभावको सँगालो हो, नाटक ताराबाजी लै लै । नाटक अन्तसम्म हेरिरहँदा विद्यार्थीले स्कुलका दिनदेखि अन्तिम दिनसम्म प्रायः गर्ने बदमासीदेखि रमाइला पललाई मालामा उन्न खोजिए जस्तै लाग्छ ।

कक्षामा शिक्षक र विद्यार्थीबीचको सम्बन्धका आयामलाई पनि नाटकले प्रस्ट पार्न खोजेको छ । शिक्षकले बाल्यावस्थादेखि युवावस्थासम्म आइपुग्दा विद्यार्थीलाई हेर्ने दृष्टिकोण र उप्रति गर्ने व्यवहार नाटकमा देखाइएको छ । कक्षाभित्र विद्यार्थीले हल्ला गर्दा, झगडा गर्दा या भनौँ दिइएको पाठलाई पूरा नगर्दा शिक्षकले विद्यार्थीमाथी कस्तो व्यवहार गर्छिन् । बालखै छँदा विद्यार्थीको सोच्ने शैली र युवावस्थासम्म आइपुग्दा त्यो सोच्ने शैलीको परिवर्तन उतारचढाव नै नाटक मञ्चनमा प्रस्तुत गर्न खोजिएको छ ।

दर्शक नाटक हेर्दै गर्दा आफ्नो बाल्यकालसम्म पुग्छन् । नाटकमा हामी आफ्नै जीवनका कथा भन्छौँ । केही कथा विद्यालय जीवनका हुनु स्वाभाविक हो । त्यो समय जीवनको महŒवपूर्ण समय हो । त्यसपछि हामी बच्चाबाट अलिक हुर्कन्छौँ, रमाइला खेल छाडेर गम्भीर हुन थाल्छौँ, स्वतन्त्रता छुट्न थाल्छ र हामी नियम कानुनबाट, अपेक्षाबाट बाँधिन थाल्छौँ । हाम्रो मित्रता हामी बाँचुञ्जेल रहन सक्छ । त्यसपछि प्रेमका अङ्कुर पलाउन थाल्छन्, जुन हामी सबैले यी समय भोगेर आएका हुन्छौँ । नाटकको सङ्गीत उत्सव बुढाथोकीको समन्वयमा तयार पारिएको हो, जुन मध्यम छ । नाटकको निर्देशन प्रसिद्ध नर्वेली निर्देशक मोर्टन क्रोगले गरेका हुन् । निर्देशक क्रोग अहिले यो संसारमा छैनन् । उनको सन् २०१५ मा निधन भएको थियो । त्यसैले अहिले नाटकको प्रकाश परिकल्पना रङ्गकर्मी सुनील पोखरेलले गरेका छन् ।

नाटकमा आलोक थामी, राज न्यौपाने, सम्झना आचार्य भट्टराई, नीता कार्की राई, मोहन राई, सुवास तिमिल्सिना, सौजन सेनेहाङ, तुफान थापा, निशान्त खत्री, प्रमिला विक, सुब्रत सिलवाल, प्रकाश थापा, सौरभ कार्की, राजेन्द्र कट्टेल, रोशन चन्द, केशव शाही, एलिजा तुम्बापो र प्रतिज्ञा भण्डारीको अभिनय रहेको छ । सबै कलाकारले आफ्नो अभिनयमा न्याय गरेको भान हुन्छ । बालापनदेखि युवावस्थासम्मको (टाइमट्राभल)मा उनीहरूको अभिनय तारिफयोग्य छ । थापागाउँमा अवस्थित कुञ्ज नाटक घरमा चैत १३ गतेसम्म नाटक मञ्चन हुनेछ ।
‘रोगन’
मण्डला नाटकघरले थापागाउँस्थित आफ्नै नयाँ नाटक भवनलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएपश्चात् नाटक ‘रोगन’को पहिलो मञ्चन सुरु भएको छ । राजन खतिवडाको निर्देशन र सम्योग गुरागाईंको लेखनमा एक वर्षअगाडि मण्डलाबाट पास आउट भएका (आठौँ ब्याच)का विद्यार्थीको नाटकमा अभिनय रहेको छ ।

रङ्ग लगाइरहेका एक हुल मानिसको कथामा घुमेको छ नाटक ‘रोगन’ । एउटा कोठामा मानिसहरू रङ्ग लगाउने काम गरिरहेका छन् तर उनीहरू कामबाट खासै सन्तुष्ट छैनन् । उनीहरू रङ्गहीन जिन्दगी बाँचिरहेका छन् । उनीहरूको मनभित्र धेरै कुरा खेलिरहेका छन् । उनीहरूको मनभित्र समस्या, उल्झन र अस्पष्टता छ । ती रङ्ग लगाउने हुल मानिसलाई थाहा छैन, उनीहरूले गरेको कामको ठेकेदारले कहिले पैसा दिन्छ । नाटकमा रङ्गकर्मीहरूको कपडामा लागेका अनेकन रङ्गको छिटाझैँ धेरै कुरा उनीहरूको जीवनमा पनि नमिलेको जस्तो देखिन्छ ।

नाटकमा प्रायः मानिस आआफ्नो पेसाबाट सन्तुष्ट हुँदैन भन्ने भावना पस्कन खोजिएको जस्तो देखिन्छ । उनीहरूले गरेका कुरा अस्पष्ट छन् तर कहिलेकाहीँ रङ्गका ती छिटाले सुन्दर सिर्जना पनि कोर्न सक्छ । अर्थ नभएका कुराले पनि गहकिला विषय उठाउन सक्छन् । फरक चरित्रका आआफ्नो फेन्टासीको कथा हो, नाटक । हामीले देखिरहेको भोगिरहेको समाजको कथा जसलाई फरक ढङ्गबाट नाटकमा देखाउन खोजिएको छ ।नाटकमा धेरै कुरा दोहोरिएका छन् । त्यही दोहोरिएका कुराले दर्शकलाई पट्यारलाग्दो बनाउँछ । नाटक बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीड भने जस्तै छ । करिब डेढ घण्टा लामो यो नाटक हेर्नका लागि दर्शकलाई धैर्यताको भने धेरै आवश्यकता पर्छ । –रासस


ताजा खबर