ग्लोबल आईएमई बैंक लिमिटेडले बाग्लुङको बलेवामा आफ्नो दुई सय ८९ औँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्शन काउन्टरलाई स्तरोन्नति गरी शाखाको रूपमा परिमार्जित गरिएको हो ।
सोमवार बाग्लुङ नगरपालिका १४ बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बाग्लुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा. सूर्य पाठक, नगरपालिकाका मेयर जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बाग्लुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गर्नुभयो । यस्तै एटीएम काउन्टरको उद्घाटन बाग्लुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपीनाथ मैनालीले गर्नुभएको छ ।
बैंकका अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आईएमईले देशका विभिन्न क्षेत्रमा आफ्नो सेवा विस्तार गरी नागरिकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
ग्लोबल आईएमई बाग्लुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो वाणिज्य बैंक हो । यसका साथै बैंकले मधेस प्रदेशको पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका १५ बाइपास रोडमा पनि हिजो आइतवारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।