डा. विपिन नेपाल ट्रान्सफ्युजन मेडिसिन पढ्ने पहिलो नेपाली डाक्टर हुन्।
पाकिस्तानवाट अध्ययन पुरागरी नेपाल फर्किएपछि हाल काठमाडौंको ग्राण्डी अस्पतालमा कन्सल्ट्यान्ट तथा ब्लड बैंक प्रमुखका रुपमा कार्यरत डा. नेपालले कोरोना महामारीमा काम गर्दाको उत्साह–निराशा लुकाउन खोजेनन् । भयावह बन्दै गएको परिस्थितिमा सरकारबाट भएको असहयोगबारे जिब्रो नचपाई बोले ।
‘नेपालमा अहिलेसम्म एउटा उच्च गुणस्तरीय ब्लडबैंक समेत नभएको बिडम्बनापूर्ण अवस्था छ । म यसका लागि काम गर्न चाहन्थेँ’, उनले तितो यथार्थ पोखे, ‘तर, सरकारी निकाय धाएर हैरान भएँ ।’
सरकारी अस्पतालमा छुट्टै ब्लड ट्रान्सफ्युजन विभाग बनाएर काम गर्न भनि धेरै दौडधुप गरेको थिएँ । त्यसक्रममा तत्कालीन स्वास्थ्यमन्त्रीहरु गगन थापा, उपेन्द्र यादव र चारजना स्वास्थ्य सचिवदेखि शिक्षामन्त्री गिरिराजमणि पोखरेलसम्मलाई भेटेर विन्ति बिसाए ।
तर सरकारी अस्पतालबाट विशेषज्ञ सेवा दिने जाँगर कसलाई ? उनले भेटेका मन्त्री, सचिव सबैको एउटै जवाफ थियो– ‘तपाईको सोच एकदमै राम्रो हो ।’ तर राम्रो भन्दै आश्वासन दिएका कसैले पनि त्यसअनुरुप काम नगरेकोमा डा. नेपालको गुनासो छ ।
२०१५ पछिको दुईवर्ष स्वास्थ्य र शिक्षा मन्त्रालय तथा मातहतका निकायहरुमा प्रस्ताव लग्दैमा बितेको उनी बताउँछन् । सरकारले नपत्याएपछि उनले निजी अस्पतालमै भएपनि काम गर्ने निर्णय गरे ।
गम्भीर अवस्थामा रहेका कोभिड संक्रमितहरुको प्लाज्माथेरापी गर्ने बताइरहँदा सरकारको लागि लाजमर्दो यथार्थ त्यही भइदियो देशमा भएका एक्लो ‘ब्लड ट्रान्सफ्युजन’ विशेषज्ञ निजी अस्पतालमा छन् । सरकारको ब्लड बैंकमा त टेक्निसियन समेत छैनन् ।
तै पनि उनले रक्तसम्बन्धी जटिल समस्यामा देशभरका अस्पताललाई सहयोग गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपणमा समेत उनैले ‘ब्लड ट्रान्सफ्युज’ गरेका थिए । किनकी बिरामीलाई चाहिने रातो रक्तकोष, सेतो रक्तकोष र प्लेटलेट्स छुट्याउने नेपालका एक्ला डाक्टर उनी नै हुन् ।
नेपालका दुई जना ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ छन्, तर एक विदेशमा भएकाले उनी नेपालका लागि एक्लो भन्दा फरक पर्दैन । र, ‘ब्लड ट्रान्सफ्युजन’ गर्ने उच्च गुणस्तरको मेसिन भएको ल्याब उनी कार्यरत धापासीस्थित ग्राण्डी अस्पतालमा मात्र छ ।
नेपालमा ब्लड बैंकको अवस्था दयनीय छ । ३०० मिलिलिटर सेतो रक्तकोष दिनुपर्ने बिरामीलाई पुरै ५०० एमएल रगत दिइन्छ ।
‘रगतको ५०० एमएल कम्पोनेन्टमा ३०० एमएल रक्तकोष हुन्छ भन्ने मान्यता छ’, डा. नेपाल भन्छन्, ‘३०० एमएल सेतो रक्तकोष चाहिने ठाउँमा ५०० एमएल रगत दिदा बिरामीलाई खराबी गर्न सक्ने सम्भावना धेरै हुन्छ ।’ तर प्रविधी र जनशक्ती अभावमा देशभर पुरानै अभ्यास चल्दा धेरै बिरामीमा समस्या देखिएको छ ।
बिरामीलाई रगतको जति र जुन ‘कम्पोनेन्ट’ चाहिन्छ त्यही र त्यती मात्र दिनपर्ने डा. नेपाल बताउँछन् । ‘विषयविज्ञता र प्रविधिको अभावले गर्दा हामीकहाँ यति गम्भिर हेलेचेक्राइ भइरहेको छ’, उनी भन्छन्, ‘यो मामिलामा हामी २० वर्ष पछाडी छौं ।’
नेपालमा ‘एण्डीबडी ट्राइटेसन स्क्रिनिङ’ सुरु गर्ने डाक्टर पनि विपिन नेपाल नै हुन् । यसले मासी (बोनम्यारो) र मिर्गौला प्रत्यारोपण सहज भएको छ ।
नेपालमा अझैपनि ए, बी र ओ पोजेटिभ–नेगेटिभ रक्त समूह मात्र छुट्याइन्छ । एउटै समुहभित्र धेरै थरि रक्त समुह हुने भएकोले कतिपय अवस्थामा ए समुहको रगत ए समुहलाई नमिल्न पनि सक्छ । त्यो अवस्था खुट्याउने प्रविधिलाई ‘ब्लड ग्रुप डिस्क्रेपेन्सिस्’ भनिन्छ ।
यो प्रविधी नहुँदा नेपालमा बिरामीहरुमा भद्रगोल तालले रगत चढाउने काम भइरहेको डा. नेपाल बताउँछन् । ‘प्लाज्मालाई माइनस २० डिग्रीभन्दा कम र प्लेटिलेट्सलाई २२ डिग्री भन्दा माथिको तापक्रममा तापक्रममा स्टोर गर्ने चलन पनि छैन’, उनी भन्छन्, ‘रगतको गुणस्तर नै नष्ट हुनाले बिरामी तलमाथि पर्ने अवस्था छ ।’
अस्पतालहरुमा सबै किसिमको रगत स्टोर गर्न सकिने ल्याब नै छैनन् । डा. नेपालका अनुसार, रगतका कारणले बिरामी तलमाथि भएकै थाहा नहुने अवस्था छ । ‘कलेजो वा मिर्गौला प्रत्यारोपण गर्दा त्यतिकै पनि खराबी आउनसक्छ, रगत नै खराब पर्यो भने त बचाउन सकिने सम्भावना झनै कम हुन्छ’, भन्छन्, ‘स्वास्थ्य सेवाको महत्वपूर्ण अंग रगतको क्षेत्र धेरै भद्रगोल छ, सुधार गर्नुपर्ने धेरै छ ।’
डा. नेपालले सयजनाभन्दा बढी कोरोना संक्रमितलाई प्लाज्मा दिन ग्राण्डीमा ‘ब्लड ट्रान्सफ्युज’ गरेर १२ वटा अस्पतालमा प्लाज्मा पठाए । देशका विभिन्न अस्पतालमा गएर प्लाज्माथेरापीसम्बन्धी तालिम दिइरहेका छन् । नेपाल रेडक्रस सोसाइटीका टेक्निसियनहरुलाई ब्लड ट्रान्सफ्युज गर्न सिकाइरहेका छन् ।
एउटा निजी अस्पतालमा बसेर देशभरका अस्पतालमा ट्रान्सफ्युजन मेडिसिनको स्तर उकास्ने प्रयास अपुग हुन्छ भन्ने पनि डा. नेपाललाई थाहा छ । कुनै एउटा डाक्टरको पहलले अहिलेको यथार्थ परिवर्तन नहुने कुरा पनि उन भलिभाँती बुझेका छन् । दशा के भने, यथास्थितीमा चित्त बुझाउन पनि सकिरहेका छैनन् उनी ।
प्लाज्माथेरापीसम्बन्धी दर्जनौं फोन आउँछ । डोनर खोज्ने कामले हैरान बनाएको छ । प्लाज्माथेरापीको लागि रक्तदान गर्न मानिसहरु तयार नहुँदा नेपालमा मानवता नै हरायो कि भनेर चित्त दुख्छ । ‘मानिसहरुले बुझेर पनि बुझ पचाए देख्दा अवाक, स्तब्ध बन्नु र दुःखी हुनु बाहेक अर्को उपाय नहुँदोरहेछ’, उनी भन्छन्, ‘कतिले त उल्टै हप्काउँछन्, कतिले अनेक बहाना बनाउँछन् ।’
प्लाज्मा दिनु भनेको रगत दिनु हो । दाताको रगत ल्याबमा ट्रान्सफ्युज गरेर कोरोना संक्रमितलाई चाहिने एण्टीबडी निकालिन्छ । यसको कुनै मेडिकल जटिलता छैन । कोभिड संक्रमित भएर नेगेटिभ रिपोर्ट आएको १४ दिन या पीसीआर रिपोर्ट पोजेटिभ भएको २८ दिनपछि कुनै रोग नभएका जो कोहिले प्लाज्माका लागि रगत दिन सक्छन् । त्यो प्लाज्मा कोरोना संक्रमित भएर अक्सिजनको मात्रा ९३ प्रतिशतभन्दा कम भएर सास फेर्न गारो परेका र अर्गान फेल हुन लागेकाहरुलाई दिएर बचाउन सकिन्छ ।
डा. नेपालका अनुसार, प्लाज्माका लागि दाताको रगत झिक्न एकघण्टा जति लाग्छ । त्यसबाट प्लाज्मा छुट्याएर क्वालिटी कन्ट्रोल गर्न ४–५ घण्टा लाग्छ । बिरामीलाई प्लाज्मा दिन एक घण्टा लाग्छ । त्यसले काम गरेको या नगरेको २४ घण्टा भित्रमा थाहा हुन्छ ।
तर प्लाजा दानका लागि सयजनालाई आग्रह गर्दा मुस्किलले २/४ जना तयार हुन्छन् । प्लाज्मा दिएर सजिलै बचाउन सकिने संक्रमितलाई डोनर अभावकै कारण बचाउन नसकेको थुप्रै केस छन् ।
धेरै मानिसमा प्लाज्माथेरापीले कोभिडले कमजोर पारेको अंगलाई राम्रो गर्छ भन्ने बुझाई छ । ‘यो गलत बुझाइ हो’, डा. नेपाल भन्छन्, ‘प्लाज्माथेरापीले कोभिड–१९ सँग मात्र लड्ने हो, अरु रोगको उपचार अर्कै हुन्छ ।’
उनका अनुसार, एकजनाले तिनजना संक्रमितलाई प्लाज्मा दिन सक्छन् । महिनामा दुईपटक दिन मिल्छ । ८५ प्रतिशत कोरोना संक्रमितलाई लक्षण देखिन्न । लक्षण देखिएका १५ प्रतिशतमध्ये १० प्रतिशत संक्रमित सिकिस्त (आइसियूमा जाने अवस्था) हुन्नन् । सिकिस्त भएर आईसीयूमा जाने बाँकी ५ प्रतिशतका लागि हो प्लाज्माथेरापी ।
कोरोना महामारीमा काम गर्दा डा. नेपालले मिश्रित प्रतिक्रिया पाएका छन् । सकारात्मक र नकारात्मक दुबै खाले प्रकिक्रिया बराबरी भोगेकाले निराश हुनुपर्ने अवस्था नभएको उनी बताउँछन् ।
‘कोभिड महामारीको धक्काले सरकारलाई ट्रान्सफ्युजन मेडिसिनको अध्ययन–अनुसन्धान गर्न अग्रसर गराउला कि भन्ने आशा पनि पलाएको छ’, उनी भन्छन्, ‘त्यो अवस्थामा हाम्रो स्वास्थ्य क्षेत्रले फड्को मार्न सक्छ ।’