संभवत पञ्चदलीय सत्ता गठबन्धन आगामी संसदीय निर्वाचनसम्म पनि कायम रहनेछ । नेपाली काँग्रेस बलियो नभएसम्म यो गठबन्धन कायम रहने देखिन्छ । साना दललाई बोकेर निर्वाचनमा जाँदा काँग्रेसलाई फाइदा भैगए पनि विस्तारै काँग्रेस जनमा घमण्ड पलाउँदै जानेछ र त्यसबेला माधब प्रचण्डलाई बोकेर हिँडिरहन काँग्रेसलाई आफ्नै अहङकारले मनाही गर्नेछ अनि बल्ल गठबन्धन भत्किनेछ । सितिमिति यो गठबन्धन भत्किनेवाला छैन । यस्तो नसोचे हुन्छ । गठबन्धनका नेता काँग्रेसलाई बढी हुन थालेपछि मात्र गठबन्धन भत्किन्छ । त्यसो हुनका लागि काँग्रेस मोटाउनु आवश्यक छ । स्थानीय निर्वाचनमा काँग्रेसलाई दुहुनु मुर्रा भैंसी हात लाग्यो भने काँग्रेस दुध दही घिउ खाएर मोटाउनेछ । संसदीय निर्वाचनसम्म पुग्दा काँग्रेस कसैको कुरा नसुन्ने गरी बहिरो भइसकेको हुनेछ । त्यतिबेला प्रचण्ड र माधब नेपाल आँखा नदेख्ने अन्धा भइसकेका हुनेछन् । अन्यथा यो गठबन्धन रहिरहन्छ ।
१.सारांशः नेपालमा प्रजातन्त्र स्थापना र राजनैतिक प्रणालीको सुधारका लागि विभिन्न राजनैतिक दलहरुले इतिहासको विभिन्न कालखण्डमा विभिन्न ढङ्गले योगदान दिएका छन् । राजनैतिक संक्रमणको ७० वर्षको इतिहासमा विभिन्न समयमा विभिन्न राजनैतिक संगठनहरुको निमार्ण भएको छ । विभिन्न राजनैतिक दलहरु जनतामा स्थापित भएका छन् । विभिन्न राजनैतिक दलहरु अस्तित्वमा रहेका छन् । वैचारिक मतभेद, सैद्धान्तिक विचलन र व्यवहारिक खटपटका कारणले कतिपय राजनैतिक दलहरु विभाजित बन्न पुगेका छन् । संसदीय व्यवस्थामा राजनैतिक दलको महत्वपूर्ण भूमिका रहेको हुन्छ । नेपालको वर्तमान संसदीय व्यवस्था विश्वको सबैभन्दा उत्कृष्ट संसदीय व्यवस्था हो भन्ने विस्वास गरिन्छ ।
संसदीय व्यवस्थामा सरकार गठन गर्नका लागि संसदमा बहुमत हुनुपर्छ तर नेपालको वर्तमान संविधान अनुसार सामान्यतया कुनै एउटा राजनैतिक दललाई संसदमा सरकार गठन गर्नका लागि आवश्यक पर्ने बहुमत प्राप्त हुने अवस्था छैन । विभिन्न राजनैतिक दलहरुले जनतालाई आकर्षित गर्ने र जनमत खण्डित भई विभाजित हुने भएकाले आम निर्वानमा कसैलाई पनि पूर्ण बहुमत प्राप्त नहुने र दलहरु आपसमा मिलेर सरकार बनाउनु पर्ने अवस्था रहेको छ । यस्तो अवस्थामा दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार निमार्ण गर्नुपर्ने बाध्यतालाई राजनैतिक दलहरुले स्वीकार गर्नैपर्ने अवस्था सिर्जना हुनगएको छ ।
राजनैतिक दलहरुका विचार,दृष्टिकोण, सैद्धान्तिक पृष्ठभूमि, नीति र कार्यक्रमहरु फरक फरक छन् तर सत्तामा पुग्नकालागि सम्झौताको बाटोमा हिँड्न तयार हुनैपर्ने अवस्था छ । सत्ताकालागि यो एउटा मात्र विकल्प छ राजनैतिक दलहरुलाई । सत्तामा बसेर हर्ताकर्ता भइरहने राजनैतिक सोचबाट दलहरुमाथि उठ्न सकेका छैनन् । यसकारण हाम्रो संसदमा सत्ताकालागि दलहरुका बीचमा गठबन्धन बन्ने र सत्ता संघर्ष कै कारण गठबन्धन भत्कने खेल भइरहन्छ । अहिलेको विशिष्ट राजनैतिक परिवेशमा कायम भएको पञ्चदलीय सत्ता गठबन्धन पनि केबल सत्ताकालागि मात्रै बनेको गठबन्धन हो । विचार, नीति, कार्यक्रम र सैद्धान्तिक निकटताका आधारमा यो सत्ता गठबन्धन तयार भएको होइन । सत्ताको सिंहाशनमा विराजमान भएर बस्ने अनि सत्ता र भत्ताको आधारमा पार्टीको प्रभाव विस्तार गर्न सकिन्छ भनेर संकीर्ण मानसिकताबाट काम गर्ने वर्तमानमा हाम्रा राजनैतिक दलहरुको धर्म हुनगएको छ । विचार ,नीति, कार्यक्रम र सैद्धान्तिक निकटताका आधारमा यो गठबन्धन तयार भएको होइन । सत्ताकालागि यो गठबन्धन बन्नुपर्ने बाध्यता थियो, बन्यो । सत्ताकालागि यो गठबन्धन बनेको हो । बन्नु एउटा बाध्यता थियो । एउटा अनिवार्यता थियो । विशेष आवश्यकता थियो । परिस्थितिवश यो सत्ता गठबन्धन बन्यो ।
२.सत्ताको चक्रव्यूहः २०७४ सालको आम निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा मायोवादी केन्द्रका बीचमा गठबन्धन बनेर निर्वाचन लड्दा सरकार चलाउनका लागि आरामदायी बहुमत प्राप्त भएको थियो । कालान्तरमा यी दलहरु एउटै पार्टी निमार्ण गर्न तयार भए र देशले जनअपेक्षा अनुरुप एउटा बलियो सरकार पाएको थियो तर यिनीहरुको एकता पनि सत्ताका लागि मात्र भएको हुनाले टिकिरहन सकेन । यिनीहरु पाँच वर्षसम्म सँगै मिलेर बस्न सककेनन् । वामपन्थी दलहरु विभाजित भए । माओवादी आफ्नो ठाउँमा गयो । एमाले आफ्नो ठाउँमा गयो । संसदको ठूलो दल एमाले विभाजित भयो । अदालतले संसदको निरन्तरता हुनुपर्छ भन्ने मान्यता स्थापित गरिदियो ।
संविधानमा सरकार बन्ने विभिन्न फरक फरक अवस्था थिए । तर, तत्कालीन केपी ओली नेतृत्वको सरकारले सरकार बन्ने वैकल्पिक व्यवस्थातर्फ ध्यान नदिएर दुई दुई पटकसम्म संसद विघटन गरिदियो । वामपन्थी दलहरुका बीचमा सत्ताका लागि भएको आन्तरिक संघर्षका कारण राजनीतिमा कहिल्यै नसोचिएको परिणाम निस्कियो । संसदको बनावट नै परिवर्तन भयो । दलहरु विभाजित भए । संसदमा २०५१ सालको जस्तो अवस्था सिर्जना भयो । विभाजित भएर पनि एमाले संसदको ठूलो दल भइरह्यो तर एमालेका विरुद्ध सबै दलहरु एकगठ भए र नयाँ सत्ता गठबन्धन बन्यो । देशमा अहिले गठबन्धन सरकार छ र यो गठबन्धनलाई पछिसम्म कायम राख्नुपर्छ भन्ने मत पनि कयम रहेको छ ।
वास्तवमा यो पञ्चदलीय गठबन्धन सत्ताका लागि पनि हो र एमालेका विरुद्ध पनि हो । नेपालको राजनीतिमा यस्तो परिस्थिति पनि निमार्ण भयो कि सबै दलहरु एमालेका विरुद्ध उभिन पुगे । २०५१ पछिको यो पहिलो घटना हो । दलहरुले सत्ताका लागि र एमालेलाई गिराउनका लागि पनि गठबन्धन तयार गरे । यदि यो पञ्चदलीय राजनैतिक गठबन्धनले निरन्तरता पाइरह्यो भने एमालेका लागि आगामी चुनावी प्रतिस्पर्धा निक्कै कठिन हुन जाने निश्चित छ । बलियो शक्तिका विरुद्ध कमजोर जति सबै एकै ठाउँमा उभिन आउँने सम्भावना हुन्छ र विगतमा यस्तै हुने गरेको छ । त्यसैले एमालेका लागि पञ्चदलीय राजनैतिक गठबन्धन निक्कै चुनौतीपूर्ण हुने स्पष्ट छ ।
३. सत्ता गठबन्धन र स्खलित वाम आन्दोलनः यो सत्ता गठबन्धनले वाम राजनीतिमा एउटा जटिल प्रश्न खडा गरिदिएको छ । वामपन्थी राजनीतिको भविस्यमाथि नै गम्भिर प्रश्न खडा गरिदिएको छ । मुलुकमा एउटा कम्युनिस्ट पार्टि सत्तामा हुने र अर्को कम्युनिष्ट पार्टी प्रतिपक्षमा हुने यस्तो घटना विरलै मात्र हुने गर्छ । तर, नेपालमा सत्ताका लागि वामपन्थी दलहरु विभाजित भएका छन् । यसले के कुरा स्पष्ट भएको छ भने दलहरुका लागि सत्ता बाहेक अरु सबै कुरा भ्रम हो । सत्ता प्राप्ति नै दलहरुको एक मात्र प्रमुख उद्देश्य हो । भनौं भने नारायणमान विजुक्छेको मजदुर किसान पार्टी अहिलेसम्म सत्तामा गएको पनि छैन जान खोजेको पनि छैन । यो एउटा अपवाद छ ।
अरु पार्टीहरु सत्ता वरिपरि पालैपालो घुमिरहेका छन् । एकपटक सत्ताको स्वाद चाखिसकेका दलहरु सत्ता बाहेक अन्य कुरा सोच्न पनि सक्दैनन् । जनताले पत्याएका नेपालका वाम नेताहरुको विपरीत बुद्धिका कारण नेपालको वाम आन्दोन माथि नै शंका गर्नुपर्ने भएको छ । सत्ता नै सबैथोक होइन भन्ने कुरा भारत पश्चिम बङगालमा ३२ वर्षसम्म एकछत्र राज गरेको भारतीय कम्युनिष्ट पार्टी भाकपा को हविगतले पनि दर्शाउँदछ । आज भारतमा भाकपाको नाम निसाना छैन । कहाँ गयो भाकपा ? भारतमा ज्योति वशुसँगै गयो भाकपा । नेपालमा अहिले सत्ता र प्रतिपक्षसम्म फैलिएर रहेको वामपन्थी दल भविष्यमा यसरी नै फैलिरहला भन्न सक्ने आधार छैन । वामपन्थी दलहरुको अस्वस्थ प्रतिस्पर्धा र विजातीय सत्ता गठबन्धन शुभ संकेत होइन, सुदूर भविष्यको कष्टकर नियतिको यथार्थ चित्रण हो । सत्तामा बसेर भत्ताको हिसाब किताब गर्न । भत्ता लिन र दिन मजै हुन्छ । यो मज्जा पिसावको क्षणिक न्यानो जस्तै हो ।
४. स्थानीय निर्वाचन र सत्ता गठबन्धनः स्थानीय तहको निर्वाचनमा पनि यो पञ्चदलीय सत्ता गठबन्धन कायमैं रहने भएको छ । संभवत पञ्चदलीय सत्ता गठबन्धन आगामी संसदीय निर्वाचनसम्म पनि कायम रहनेछ । नेपाली काँग्रेस बलियो नभएसम्म यो गठबन्धन कायम रहने देखिन्छ । साना दललाई बोकेर निर्वाचनमा जाँदा काँग्रेसलाई फाइदा भैगए पनि विस्तारै काँग्रेस जनमा घमण्ड पलाउँदै जानेछ र त्यसबेला माधब प्रचण्डलाई बोकेर हिँडिरहन काँग्रेसलाई आफ्नै अहङकारले मनाही गर्नेछ अनि बल्ल गठबन्धन भत्किनेछ ।
सितिमिति यो गठबन्धन भत्किनेवाला छैन । यस्तो नसोचे हुन्छ । गठबन्धनका नेता काँग्रेसलाई बढी हुन थालेपछि मात्र गठबन्धन भत्किन्छ । त्यसो हुनका लागि काँग्रेस मोटाउनु आवश्यक छ । स्थानीय निर्वाचनमा काँग्रेसलाई दुहुनु मुर्रा भैंसी हात लाग्यो भने काँग्रेस दुधदहीघिउ खाएर मोटाउनेछ । संसदीय निर्वाचनसम्म पुग्दा काँग्रेस कसैको कुरा नसुन्ने गरी बहिरो भइसकेको हुनेछ । त्यतिबेला प्रचण्ड र माधब नेपाल आँखा नदेख्ने अन्धा भइसकेका हुनेछन् । अन्यथा यो गठबन्धन रहिरहन्छ । र, यो स्पष्ट पनि छ कि गठबन्धन एमालेको समस्या हो ।
सबैलाई थाहा छ कि यो पञ्चदलीय सत्ता गठबन्धन सत्ताका लागि हो र बलियो जनाधार भएको पार्टी एमालेलाई सत्तामा जानबाट रोक्नका लागि मात्रै हो । किनभने , विगतमा वामपन्थी दलहरु एक हुन नसके पनि वामपन्थी दलहरुको मत विभाजन भए पनि अन्य दल र वामपन्थी दलको एउटा निश्चित दुरी थियो । वामपन्थी दलहरुले एकअर्काका बीचमा घातप्रतिघात गरेका थिएनन् । तर, यसपटक वामपन्थी दलहरुले मजासँग घातप्रतिघातको तिक्त राजनैतिक खेल खेल्नेछन् र आत्मसन्तुष्टि लिनेछन् । यसैका लागि वामपन्थी दलको दुई कित्ता तयार भएको छ । एकातिर एमाले एक्लै छ र अर्कोतिर काँग्रेसको नेतृत्वमा वामपन्थी दलहरु सरकारमा गएका छन् ।
आमूल राजनैतिक परिवर्तनको ठूलो मुद्दा बोकेर सशस्त्र क्रान्तिको हुङ्कारसहित १० वर्षसम्म युद्धमा होमिएको गौरवशाली पार्टी नेकपा माओवादी केन्द्र काँग्रेससँग सत्ताका लागि सहकार्य गर्दै अघिबढेको छ र अर्को माधब नेपालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी माओवादी काँग्रेससँग सहकार्य गर्दै सत्ताको मिठो स्वाद चुसीरहेको छ । सबैलाई थाहा छ माधब नेपाल ओलीसँग झगडा गरेर छुट्टिएका रिसाह नेता हुन् जसले आफ्नो सरकार आफैं ढाले । यसरी एउटै स्थानबाट उछिट्टिएर अलग भएका वामपन्थी दलहरु अहिले काँग्रेससँग काँधमा काँध मिलाएर सत्ता सहकार्य गरिरहेका छन् । यो दुनियाँलाई हैरान बनाउने कुरा हो र यो मजाको कुरा पनि हो ।
५. स्थानीय निर्वाचनको सम्भाव्य परिणामको आँकलनः यो निश्चित छ कि आउँदो स्थानीय तहको निर्वाचन एमालेका लागि निकै चुनौतीपूर्ण हुनेछ । विगतमा जितेका सबै स्थानीय तहहरु यसपटक एमालेले जित्न सक्दैन । एमालेले त्यति बढी स्थानमा जित्न सक्दैन । जितेका केही स्थान जोगाउन सके त्यही हो एमालेका लागि ठूलो कुरा । तर, राजनीतिमा आश्चर्यजनक घटनाहरु घट्न सक्छन् । नसोचिएको परिणाम आउँन सक्छ । कतै जान्छ । कतै आउँछ । आउँछ भनेको जान्छ । जान्छ भनेको आउँछ । गठबन्धनमा दरार आउँन सक्छ । तलमाथि पर्नसक्छ । घातप्रतिघातको खेल आफैंभित्र पनि हुनसक्छ ।
जहाँ जहाँ माओवादीको उपस्थिति छ त्यहाँ त्यहाँ निर्वाचन प्रभावित हुनसक्छ । माओवादी प्रभाव नभएका स्थानमा एमाले काँग्रेसका बीचमा सिधा प्रतिस्पर्धा हुने निश्चित छ । गठबन्धन महागठबन्धन जे भएपनि मुख्य प्रतिस्पर्धा हुने एमाले र काँग्रेसका बीचमा नै हो । हारजित हुने काँग्रेस एमालेकाबीचमा नै हो । काँग्रेसको दौराको फेर समातेर हिँडेका दलहरुलाई जिते पनि हारे पनि केही फरक पर्दैन किनभने यो निर्वाचनमा काँग्रेसले वामपन्थी दलहरुलाई एकआपसमा भिडाउनुका साथ साथै आफूसँग मिलाएको पनि छ ।
६. मुद्धा विहीन स्थानीय तहको निर्वाचनः यो निर्वाचनमा राजनैतिक दलहरुसँग जनतालाई आकर्षण गर्ने खालका राजनैतिक मुद्दाहरु छैनन् । सधैं जसो निर्वाचनका बेला जोडदारसँग उठ्ने गरेको राष्ट्रवादको नारा पनि यसपटक शिथिल हुनेछ । एमसीसीको मुद्धा पनि उठ्नेवाला छैन । अहिलेसम्म दलहरुले स्थानीय तहको विकासका लागि स्पष्ट दृष्टिकोण अघिसार्न पनि सकेका छैनन् । दलहरुमा अलमल छ । निर्वाचनमा उम्मेदवार छान्न सकस परेको छ । मुख्य विषयमा दलहरुको ध्यान जान सकेको छैन । दलहरुले आपसमा झगडा गर्नु र एकअर्कामा दोषारोपण गर्नु बाहेक अन्य कुनै काम गर्ने छैनन् । सत्तामा लिप्त हुनेछन् र सकेसम्म सत्ताको मिठो स्वाद चुसिरहनेछन् ।
७. निराश वाम मतदाताः नेताहरुको घात प्रतिघातको खेलसँग जनताको चासो छैन । वाम मतदाता निराश छन् नेताहरुको झगडा र कचिङगलबाट । वाम मतदातालाई निर्वाचन पछिको अवस्थाको चिन्ता छ । तर के गर्नु र मतदाताको चिन्ताले । मैंले हत्ते गरेर के गर्नु भनेको जस्तो । हुने कुरालाई स्वीकार गर्नै पर्ने । नियति व्यहोर्नै पर्ने । चुनौती स्वीकार गर्नैपर्ने ।
८. निष्कर्षः आँप पाकेपछि आफैं भूइँमा खस्छ भने झैं बेला आएपछि गठबन्धनको चुरीफुरी सबै सेलाएर जान्छ । यो केही दिनका लागि हो, यो केही महिनाका लागि हो, यो बढीमा केही वर्षका लागि हो जुगजुगसम्मका लागि होइन ।
तसर्थ वाम विचारधारामा विस्वास गर्नेहरुले सबै परिणामलाई स्वीकार गर्दै आफ्नो सिद्धान्त, निष्ठा र इमानदारितालाई बाचाइ राख्न सक्नुपर्छ । घात अन्तरघातका घाउहरु सफा गरेर पीडाहरुलाई घटाउनुपर्छ ।
आँखामा आँशु सुहाउँदैन हामीलाई । जुनसुकै परिस्थिति सँग जुध्न सक्नु पर्छ र जुध्न तयार रहनु पर्छ । राजनीति खेल हो खेलाडीले खेल हारिन्छ भनेर पनि खेल्नु पर्छ । जित्नका लागि खेल्नु पर्छ र अपत्यारिलो खेल पनि जितिन्छ ।
२०७९ बैशाख ८ गतेको सफल नेपाल साप्ताहिकमा प्रकाशित