मूल्यवृद्धि ७.२८ प्रतिशत पुग्यो : विपन्नको दैनिकी थप कष्टकर

मूल्यवृद्धिको पारो लगातार उकालो चढ्दै गएको छ भने विपन्नको दैनिकी झन कष्टकर हुने भएको छ।

नेपाल राष्ट्र ब्यांकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले गत चैतमा देशको उपभोक्ता मूल्यवृद्धि दर ७.२८ प्रतिशत पुगेको देखाएको छ। वार्षिक बिन्दुगत आधारमा नापिएको यो पछिल्ला वर्षहरूकै उच्च मूल्यवृद्धि दर हो।

उपभोक्ता मूल्यवृद्धि उच्च हुँदा न्यून आय हुने विपन्न समूहको खर्च बढ्ने भएकाले दैनिकी कष्टकर हुन्छ। गत वर्षको यही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ३.१ प्रतिशतमा सीमित थियो।

राष्ट्र ब्यांकका अनुसार, खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि गरीब घरपरिवारका लागि थप कष्टकर हुन्छ।

चैतमा अघिल्लो वर्षका तुलनामा घ्युतेलको मूल्य २८.३६ प्रतिशत, दूध र अण्डाको मूल्य ११.५६ प्रतिशत, दाल र गेडागुडीको मूल्य १०.५३ प्रतिशतले बढेको छ। तर, यो वर्षको औसत मूल्यवृद्धि दर भने ५.६२ प्रतिशत मात्रै रहेको केन्द्रीय ब्यांकले जनाएको छ। सबैभन्दा धेरै हिमाली क्षेत्रमा ८.२५ प्रतिशत र पहाडमा ७.७९ प्रतिशतले मूल्यवृद्धि भएको छ।

केन्द्रीय ब्यांकले अर्थतन्त्रको समस्या यथावत रहेको तथ्यांक सार्वजनिक गरेको छ। यो आर्थिक वर्षको पहिलो नौ महीना (चैतसम्म) मा देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति) रु. २ खर्ब ६८ अर्ब घाटामा रहेको देखिएको छ। चालु खाता घाटा रु. ५ खर्ब १३ अर्ब छ। यी दुवै अहिलेसम्मका उच्च घाटा हुन्।

विदेशी विनिमयको सञ्चितीमा भने सामान्य सुधार आएको छ। गत फागुनमा ९ अर्ब ५८ करोड डलर रहेको विदेशी विनिमय सञ्चिती चैतमा ९ अर्ब ६१ करोड डलर पुगेको छ। यो सञ्चितीले ६ महीना १८ दिनको वस्तु र सेवाको आयात गर्न पुग्छ।

यो वर्षको पहिलो नौ महीना (चैतसम्म) मा विदेशमा काम गर्न जाने नेपालीले ६ अर्ब ५ करोड डलर रेमिटेन्स पठाएका छन्। यो गत वर्षको यही अवधिका तुलनामा २.२ प्रतिशत थोरै हो।

यो अवधिमा नेपालले रु. १४ खर्ब ६७ अर्बको आयात गरेको छ भने रु। १ खर्ब ६१ अर्बको निर्यात गर्न सकेको छ। अर्थात्, व्यापार घाटा रु. १३ खर्ब ६ अर्ब भएको छ। -रासस


ताजा खबर